भलाकुसारी र स्वास्थ्य

भलाकुसारी र स्वास्थ्य

शोरकुमार यादव सप्तकोशी न.पा.९ कमलपुरमा एक आधारभूत विद्यालयमा अध्यापनरत छन् । उनले शुरुमा २०६३/६४ सालमा रेस्फेकद्वारा सञ्चालित वालशिक्षामा पढाएका थिए । कमलपुरमा सञ्चालित रेस्फेकका  समूहहरूमा पनि उनको सक्रियता रहि आएको छ । उनी भलाकुसारीका नियमित पाठक हुन् । यसै सन्दर्भमा भलाकुसारीको स्वास्थ्यसँग के कस्तो सम्बन्ध छ, यसबाट के कस्ता फाइदाहरू भएका छन् भन्ने विषयमा गरिएको कुराकानी प्रस्तुत गरिएको छ :
 
हाल तपाइको गाउँटोलमा स्वास्थ्य तथा सरसफाइको अवस्था कस्तो छ ? 
कमलपुरको अवस्था धेरै सुध्रिएको महसुस मैले गरेको छु । स्वास्थ्य सरसफाईको वर्तमान अवस्था सन्तोषजनक छ । समय सँगसँगै मानिसमा धेरै चेतना अभिवृद्धि भएको छ । अलि अगाडीको अवस्था सम्झिने हो भने यो क्षेत्र धेरै पछाडी थियो । मानिसका घरमा चर्पी थिएन जथाभावी दिशापिसाव गर्ने बानीले विभिन्न सरुवा रोगले सताउँथ्यो । रेस्फेक तथा न.पा.को सक्रियतामा चर्पीको समस्या पूर्णरुपले समाधान भएको छ । सवै भन्दा महत्वपूर्ण कुरा व्यवहार परिवर्तन हो जुन शिक्षा र चेतना विना असम्भव सरह हो । हालको यो सफा एवम् स्वस्थ कमलपुर निर्माण गर्नमा स्वास्थ्य शिक्षाको महत्वपूर्ण भूमिका छ र त्यसमा केहि हदसम्म भलाकुसारीको पनि योगदान छ । हाम्रा लागि वास्तवमा यो एउटा राम्रो स्वास्थ्य शिक्षाको स्रोत हो ।
 
भलाकुसारी पढेर के कस्ता ज्ञान हासिल गर्नु भयो ? स्वास्थ्य क्षेत्रमा यसको उपयोगिता कतिको पाउनु हुन्छ ? कस्ता प्रकारका थप जानकारीहरू आगामी अंकमा छापियोस् भन्ने चाहनु हुन्छ ?
भलाकुसारी हाम्रो लागि साँचै एउटा स्वास्थ्य शिक्षाको स्रोत हो । ग्रामिण तथा अशिक्षित वर्गको वाहुल्यता भएको हाम्रो जस्तो ठाउँमा यसको धेरै आवश्यकता छ । मैले वालशिक्षा पढाउन पनि यसैको सहायताबाट वालवालिका तथा किशोर किशोरीलाई एचआइभी– एड्सका विषयमा ज्ञान दिएको थिएँ । समूहका महिलाहरू पनि यसमा छापिएका विभिन्न रोगहरूसम्बन्धी ज्ञानगुणका कुराहरू बसेर पढेको देख्दा वास्तवमा धेरै खुसी लाग्छ । भलाकुसारीबाट विशेष गरी महिला तथा वालवालिकाको स्वास्थ्यका विषयमा धेरै कुराहरू सिक्न पाइएको छ । सामान्यदेखि जटिल प्रकारका धेरै किसिमका रोगहरूका लक्षण, उपचार विधी, बच्ने उपायहरूलगायतका विषयमा पर्याप्त ज्ञान यस भलाकुसारीका अङ्कहरूबाट प्राप्त हँुदै आइरहेको छ ।
 
थप जानकारीको रुपमा मौसम परिवर्तनसँगै अपनाउनु पर्ने सावधानीका विषयमा तथा दीर्घ रोगहरू जुन हाल ठूलो समस्याको रुपमा देखिदै आइरहेका छन् ती विषयमा  थप जानकारीहरू प्रकाशित भए अझ राम्रो हुन्छ । भलाकुसारी र सामुदायिक स्वास्थ्यको ठूलो अन्तरसम्वन्ध रहेको उनको बुझाई भएकाले यसका आगामी अङ्कमा सामूदायिक स्वास्थ्यलाई लक्षित गरी लेख रचना प्रकाशित गर्दा राम्रो हुने थियोे ।
 
तपाईहरू स्वास्थ्य सेवा कहाबाट लिनु हुन्छ? स्वास्थ्य चौकीको सेवा प्रति तपाईको धारणा के छ ? तपाईको गाउँटोलको स्वास्थ्यमा अझ राम्रो सुधार ल्याउन के—के आवश्यक छव, जस्तो लाग्छ ?
हामी सामान्य उपचारका लागि कमलपुर स्वास्थ्य चौकी जान्छौ । यहाँ हुन सक्ने सम्पूर्ण उपचार सेवा हामी पाइरहेका छौ । कमलपुर स्वास्थ्य चौकीले दिनुपर्ने सेवा सुविधामा कुनै कन्जुस्याई गरेको छैन जस्तो लाग्छ । स्थानीय प्राय सबै त्यहि जाने गरेका छन् ।अलि विशेष तथा जटिल समस्या परेमा काठमाडौँ वा विराटनगर जानुपर्ने समस्या भने छँदै छ ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution