भलाकुसारीलाई फर्केर हेर्दा

भलाकुसारीलाई फर्केर हेर्दा

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले स्थापनाकालदेखि नै समुदायको हितका लागि प्रकाशनलाई महत्व दिंदै आएको छ । सन् १९८८ देखि स्वास्थ्यलगायत विविध विषयहरूमा रेस्फेकले सूचना, शिक्षा तथा सञ्चारका विविध सामग्रीहरू प्रकाशन गर्दै आएको छ । यसैंको सिलसिलामा भलाकुसारी द्वैमासिक र महिला स्वास्थ्य त्रैमासिक प्रकाशन हुँदै आएको हो । 
 
भलाकुसारी तथा महिला स्वास्थ्य पत्रिका, पुस्तकहरू, पोस्टर, पाम्ल्पेटहरू, स्टिकर, हाते पुस्तक, प्रतिवेदनहरू प्रकाशन गर्ने क्रम जारी नै रहेको छ । 
 
यी विभिन्न सामग्रीहरू विभिन्न माध्यमद्वारा उप–स्वास्थ्य चौकी, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, महिला विकास विभाग, स्कुलहरू, गैर–सरकारी संघसस्थाहरू तथा स्वास्थ्य र सामाजिक कार्यकर्ताहरूलाई वितरण गर्दै आएको छ ।
 
क. भलाकुसारी 
रेस्फेकले सन १९९० मार्च २८ अर्थात विसं २०४६ चैत्र १५ देखि नै भलाकुसारी प्रकाशन गर्दै आएको छ । यस संस्थाले विशेष गरी ग्रामीण स्तरमा जनतासँग प्रत्यक्ष रुपमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका तथा गर्ने स्वास्थ्य कार्यकर्ताहरूलाई प्रत्यक्ष सहयोग पुग्ने किसिमको भलाकुसारी नामक जनस्वास्थ्य सम्बन्धि प्रकाशनलाई निरन्तरता दिएको हो । यस पत्रिकामा रोगहरू लाग्ने कारणहरू, रोगहरूको लक्षण, रोगहरूको पहिचान तथा औषधि उपचार बारेमा र स्वास्थ्य सम्बन्धि भए गरेका अनुसन्धानहरूको कुराहरूलाई समेटिएको हुन्छ । 
 
ख. महिला स्वास्थ्य 
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले सन् १९९५ को सेप्टेम्बर १८ अर्थात विसं २०५२ असोज २ गतेदेखि त्रैमासिक रुपमा महिला स्वास्थ्य पत्रिका प्रकाशन गर्दै आएको छ  । यस पत्रिकामा महिलाहरूको स्वास्थ्यमा लाग्ने रोगहरू, त्यसको पहिचान, उपचार गर्ने विधिहरू, लिङ्गभेदबाट उत्पन्न हुने रोगहरू, महिलामाथि हुने शोषण, महिला अधिकार आदि विषयवस्तुहरूलाई समेटिएको हुन्छ ।
 
भलाकुसारीको इतिहाससँग यो संस्थाको स्थापनाको इतिहास जोडेको छ । यो संस्थाको स्थापना कालमा नेपालमा निरंकुश र निर्दलीय पञ्चायती व्यवस्था थियो । तीन दशक लामो पञ्चायती व्यवस्थामा सरकारले संघसंस्था खोल्ने अधिकारबाट जनतालाई विमुख पारेको थियो । राजाको गुणगान गाउने र हाम्रो राजा हाम्रो देश हाम्रो भाषा हाम्रो भेषको नारा दिइ एउटै भाषालाई मात्र प्रमुखता दिने र सूचनाको हकलाई कुण्ठित पार्ने गरिन्थ्यो ।
 
यस्तो परिस्थितिका माझ सन् १९८८ मा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका हामी जस्ता स्वास्थ्य र विकासकर्मीहरूको सानो वैठक काठमाडौंमा सम्पन्न भयो । त्यो वैठकले नेपाली जनताको स्वास्थ्य अधिकारलाई प्रत्याभूति गर्ने हो भने जनस्वास्थ्यसम्बन्धी सूचना सम्प्रेषण गर्न जरुरी ठान्यो । उहाँहरूकै सुझावअनुसार यो संस्थालाई घरेलु उद्योगको रुपमा दर्ता गरियो र यो संस्थाको प्रथम प्रयासस्वरुप भलाकुसारी पत्रिकाको प्रकाशन भयो । यो पत्रिकालाई सवैले पढ्न सकुन भने उद्देश्यले भित्तामा टाँस्ने भित्तेपत्रिकाको रुपमा प्रकाशित भयो । शुरुमा यसका दुई प्रमुख उद्देश्य थिए । 
१) जनतालाई स्वास्थ्यसम्बन्धी सूचना सरल भाषामा दिने
२) गाउँमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवासम्बन्धी थप प्राविधिक ज्ञान दिने ।
 
यसरी यसको पहिलो प्रकाशन पछि देशको विभिन्न परिस्थितिवस इच्छित वा लक्षित सवै समुदायवीच पुर्‍याउन नसकिएता पनि सीमित क्षेत्रको हाम्रो वितरणबाट यसको उपादेयतालाई अझ पुष्टि ग¥यो । यसबाट उत्साहित भइ प्रत्येक २ महिनामा स्वास्थ्यसम्वन्धी पत्रिकाको रुपमा यसलाई प्रकाशित गर्न थालियो । 
 
भलाकुसारीले ग्रामीण स्तरमा कार्यरत स्वास्थ्य कार्यकर्ता, स्वयं सेवक र ग्रामीण जनतालाई स्वास्थ्यमा सजग र सचेत पार्ने उद्देश्य लियो । स्वास्थ्यसम्बन्धी सवालहरूमा चौतारीमा बसेर छलफल गर्ने, आफ्नो तथा आफ्ना बालबालिका र परिवारको स्वास्थ्यको बारेमा जानकारी लिनेदिने वानीको विकास गराउने उद्देश्य पनि यस पत्रिकाले लिएको थियो। 
 
त्यसपछि पत्रिका प्रकाशन गरेर जन–स्वास्थ्य कार्यालयहरू, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, जिल्ला शिक्षा कार्यालय तथा स्कुलहरूमा वितरण गरियो।
 
यसैंवीच २०४६ सालको जनआन्दोलन सफल भयो र नेपाल पञ्चायती व्यवस्थाबाट संवैधानिक राजा रहने गरी बहुदलीय राजनैतिक व्यवस्थामा पदार्पण गर्‍यो । यसबाट संघसंस्था खोल्ने, पत्रपत्रिका निकाल्नेका साथै सवैलाई राजनैतिक स्वतन्त्रता प्राप्त भयो । नयाँ राजनैतिक परिवेशले यो भलाकुसारी पत्रिकालाई अझ व्यापक बनाउन मद्दत ग¥यो । राजनैतिक र सामाजिक स्वतन्त्रताको उपयोग गर्दै देशका सम्पूर्ण स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा यो पत्रिका पुगोस् र ग्रामीण क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरूसँग दोहोरो संवाद गर्न सकियोस् भन्ने उद्देश्यले पत्रिकालाई व्यापक रुपमा वितरण गर्न थालियो । वितरणका लागि हामीले जिल्ला जनस्वास्थ्य कार्यालयलाई माध्यम बनाइएको थियो । २ –३ वर्षपछि अनुगमन गरिंदा पत्रिका सम्वन्धित ठाउँमा नपुगेको अनुभुति गरियो र रेस्फेकबाट नै उपलव्ध गराउने निधो गरियो । 
 
भलाकुसारीको पहिलो अंक प्रकाशित गर्दाको समय भन्दा केही समय अगाडीसम्म कोही कसैलाई स्वत्रन्त्र रुपमा पत्रपत्रिकाहरू प्रकाशित गरेर जनचेतना जगाउने कुरामा तत्कालीन श्री ५को सरकारले नेपाली जनतालाई छुट दिएको थिएन । त्यसकारण भलाकुसारी पत्रिका प्रकाशित गरेर देशको विभिन्न ठाउँहरूमा स्वास्थ्यसम्बन्धि जनचेतना जगाउनको लागि प्रचार प्रसार गर्ने काम समेत नेपालको पहिलो जनयुद्ध २०४६ पश्चात प्रजातन्त्रको बहाली भएपछि मात्र सम्भव भयो । त्यतिवेला आर्थिक तथा अन्य विविध कारणहरूले गर्दा भलाकुसारीको पहिलो अंक ३०० प्रति भित्ते पत्रिकाको रुपमा प्रकाशित गरेर जिल्ला जनस्वास्थ्य कार्यलयहरू र अन्य यस्तै ग्रामिण स्वास्थ्य प्रदायक संस्थाहरूमा मात्र पठाइएको थियो । ।प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले यो पत्रिका कुनै राजनीतिक विषय वस्तुहरूले ओतप्रोत नभई विशुद्ध जनस्वास्थ्य सेवाको विषहरूमा लेखिएको पत्रिका हो । पत्रिकामा रुख मुनि चौतारोमा बसेर ग्रामिण समुदायका मानिसहरूले स्वास्थ्य समस्याको बारेमा भलाकुसारी अर्थात कुराकानी गरिरहेको साँकेतिक विवरण रहेको छ । 
 
भलाकुसारी पत्रिकामा छापिएका विषयवस्तुहरू व्यवहारीक र दैनिक रुपमा जनस्वास्थ्यमा पर्ने समस्याहरू र यसको समाधानको विषयवस्तुहरूलाई नै समेट्दै आएको हुनाले गाउँगाउँबाट माग वढ्न थाल्यो । भलाकुसारी प्रकाशनको दोस्रो वर्ष नलाग्दै ३००० प्रति छाप्नु पर्ने भयो । त्यसवेला ३००० प्रति प्रकाशित गरेर वितरण गर्न पर्याप्त आर्थिक स्रोत थिएन । 
 
राजनैतिक परिवर्तनसँगै विस्तारै विस्तारै विभिन्न सामाजिक संघ सस्थाहरूको स्थापना हुन थाल्यो । विदेशी दातृ संस्थाहरूले पनि विभिन्न परियोजनाको नाममा ति सामाजिक संघ सस्थाहरूलाई आर्थिक सहयोग गर्न थाले । 
 
वि.सं. २०५० र २०५१ तिर नेपाल भरि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरूको स्थापना गर्ने लहर आयो । यी संस्थाहरूले विभिन्न परियोजनाहरू बनाई देशको विभिन्न भागहरूमा कार्यक्रमहरू गर्न थाले । यति वेलासम्म भलाकुसारी पत्रिका जम्मा जम्मी १३०० वटा ठेगानाहरू (देशको ७५ वटै जिल्लाहरू) मा पठाउनु पर्ने भैसकेको थियो । अव क्रमश रुपले ती नवस्थापित संघसस्थाहरूको कार्यक्रमलाई पनि भलाकुसारीको निकै आवश्यक हुन थाल्यो । जसको कारण सन् १९९४र ९५ तिर हामीले भलाकुसारी पत्रिका १०,००० प्रति भन्दा माथि कै संख्यामा प्रकाशित गर्नु पर्ने अवस्था आयो । कतिपटक पुनः प्रकाशित पनि गरियो । यसैंकारणले कुनै कुनै संस्थालाई पुनः छापेर वितरण गर्ने अनुमति पनि दिइयो । 
 
यस पत्रिकाको प्रकाशनलाई नियमितता दिनको लागि केही राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ–सस्थाहरूलाई अनुरोध गरेअनुसार प्रति अंक करीव ४००० प्रति विक्रि हुन थाल्यो । 
 
१२ वर्षे जनयुद्धकालमा विभिन्न बाधाअवरोधका कारण ग्रामिण स्तरमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसस्थाहरूले आफ्नो कार्यक्रम स्थगित गर्नु परेका कारण भलाकुसारी पत्रिकालाई सहयोग गर्न असमर्थ हुनथाले । यसले गर्दा पुनः आर्थिक समस्या आइपर्‍यो । 
 
त्यसपछि १०००० प्रतिको सट्टा ७००० प्रति प्रकाशन गरेर नियमित रुपमा वितरण गर्न थालियो । 
 
अहिलेसम्म पनि स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, महिला विकास कार्यालयहरू, जनस्वास्थ्य कार्यालयहरू, स्कुलहरू तथा विभिन्न क्लवहरू र अन्य गरि ३००० वटा ठाउँहरूमा निःशुल्क वितरण गरिंदै आएको छ । 
 
प्रकाशनका दौरान सामग्रीको अभाव, लेख्ने व्यक्तिहरू तथा विशेषज्ञको अभाव, भाषाको प्रस्तुतीकरण समस्या, डिजाइनर र वितरणमा समेत कठिनाईहरू पर्दै गए ।
 
शुरु– शुरुमा हामीलाई लेखन सामग्रीहरू जुटाउन त्यती समस्या रहेन । एक–दुई वर्षपछि भने मुख्य–मुख्य विषयवस्तु सकिए पछि गाह्रो हुन थाल्यो । 
 
शुरुका अंकहरूमा भलाकुसारीलाई ज्यादै अनौपचारिक र बोलचालको भाषामा निकाल्ने भनेर जोड दिइयो । तर पछि कुरा बुझ्दै जाँदा हाम्रा प्रस्तुती भाषा केही क्षेत्रमा बोलिने बोलचालको भाषामा मात्र सीमित रहेछ भन्ने भेउ लागेपछि भाषालाई सर्वमान्य हने गरी सामान्य र सरल बनाइयो । त्यस पछि भलाकुसारीको भाषालाई सरल र सकभर छोटो वाक्यमा मात्र लेख्ने प्रयत्न गरियो । भलाकुसारीमा शव्दहरू शुद्ध हुन् र अनर्थ नलाग्ने खालका होउन् भनेर ध्यान दिइएको छ । 
 
यो पत्रिकाले आज करिव ३ दशक पार गर्दैछ । यी ३ दशकमा विभिन्न आर्थिक र प्राविधिक कठिनाइका वावजुद पनि हामीले यसलाई निरन्तरता दिने कोशिस ग¥यौं र हालसम्म यो प्रयास जारी रहेको छ । 
 
आज यो पत्रिका समाजको सवभन्दा तल्लो वर्ग र सीमान्तकृत समुदायको स्वस्थ भइ बाँच्न पाउने अधिकारको प्रत्याभुतिको लागि हाम्रो आन्दोलनको एउटा प्रमुख साधनको रुपमा स्थापित भएको छ । 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution