पित्तथैलीको पत्थरी

पित्तथैलीको पत्थरी

ग्याष्ट्रिक भयो र पेट दुख्यो भनेर अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई पित्तथैलीमा पत्थरी भएको पाइएको डा. सुजितकान्त मैनाली बताउँछन् । चीनको सिनस्याङ विश्वविद्यालयबाट एमबीबीएस र याञ्चे विश्वविद्यालयबाट जनरल सर्जरीमा एमएस गरेका डा. मैनाली मध्यपुर अस्पतालमा कार्यरत छन् । 

ग्याष्ट्रिककै जस्तो पेट दुख्ने भएकाले धेरैलाई पित्तथैलीमा पत्थरी भएकोबारे थाहा नहुने उनको भनाइ छ । उनका अनुसार विश्वको कुल जनसङ्ख्याको करीब १० प्रतिशत मानिसको पित्तथैलीमा पत्थरी देखिन्छ । नेपालमा यसको यकिन तथ्याङ्क नभए पनि कुल जनसङ्ख्याको ५ देखि १० प्रतिशतमा पित्तथैलीको पत्थरी भएको अनुमान छ । मध्यपुर अस्पतालमा मात्र दैनिक एकजनामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भइरहेको छ ।

यो रोग हरेक उमेर समूहमा देखिए पनि ३० वर्षदेखि ४० वर्षको उमेरमा तुलनात्मक रूपमा धेरै देखिने गरेको छ । पुरुषको तुलनामा महिलामा यो रोग बढी हुने ठम्याइ डा. मैनालीको छ । प्रस्तुत छ, पित्तथैलीको पत्थरी, लक्षण, उपचारलगायत विषयमा डा. मैनालीसँग  पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंशः

पित्तथैली के हो ?
पित्तथैली कलेजोबाट उत्पादन हुने पित्त भण्डारण हुने थलो हो । यो कलेजोसँग टाँसिएको हुन्छ । यसको मुख्य काम कलेजोमा बनेको पित्त जम्मा गर्नु र बाक्लो पार्नु हो । कलेजो र पित्तथैलीसम्म पित्त ल्याउने काम हेपाटिक नलीले गर्दछ । पित्त भनेको पाचनप्रणालीमा सहयोग पुर्‍याउने एक प्रकारको तरलपदार्थ हो । पित्तको उत्पादन कलेजोमा निरन्तर रूपमा भइरहेको हुन्छ । पित्तथैलीले सानो आन्द्रामा आएका चिल्लो पदार्थयुक्त खाना पचाउने तथा अम्लीय पदार्थ निष्क्रिय पार्ने उद्देश्यले पित्त पठाउँछ । पित्तमा लवण, कोलेष्टेरोल, राता रक्तकोष नासिएर बनेका कण पाइन्छन्, जसलाई बिलिरुबिन भनिन्छ ।

पित्तथैलीको पत्थरी के हो ?
पित्तथैलीमा ढुङ्गा (स्टोन) बन्नु नै पित्तथैलीको पत्थरी हो । यसलाई कोलेटिथियासिस पनि भनिन्छ । मोटोपना बढ्दा, मधुमेह हुँदा, धैरै तौल घटाउँदा, निरन्तर व्रत बस्दा, रक्तअल्पता हुँदा, गर्भनिरोधक चक्कीको बढी सेवन गर्दा र शरीरमा कोलेष्टेरोलको मात्रा बढ्दा पित्तथैलीमा पत्थरी हुन सक्छ ।

पित्तथैलीमा पत्थरी अन्य कारणले पनि हुन्छ कि ?
पछिल्ला अध्ययन तथा अनुसन्धानले यो रोग वंशाणुगत कारणले पनि हुन सक्ने देखाएको छ । पित्तथैलीको पत्थरी कुनै रोगविशेषको कारणले हुँदैन । ४० वर्ष नाघेका महिलाले गर्भ्निरोधक पिल्स खाँदा हर्मोनमा गडबडी भएर पत्थर हुन सक्छ । पित्तमा कोलेस्टेरोल र बिलिरुबिन हुन्छ । कोलेस्टेरोल बढी भएपछि पित्तथैलीमा थिग्रिँदै जान्छ र पत्थर बन्न थाल्छ । यस्तै, बिलिरुबिन बढी भयो भने पनि थिग्रिँदै गएर पत्थर हुन्छ । दुवै बढेको अवस्थामा मिश्रित पत्थर हुन्छ । सुत्केरीको बेलामा बढी चिल्लो खाने र शारीरिक व्यायाम नहुने कारण यो बेलामा महिलालाई पत्थरीको सम्भावना धेरै हुन्छ । व्रत बस्दा र शरीरको तौल एकैपटक घटाउँदा बिलिरुबिन र कोलेस्टेरोल पित्तथैलीमा थिग्रिएर पत्थरी हुन सक्छ ।

पित्तथैलीको पत्थरीको लक्षण के हो ?
पित्तथैलीको पत्थरीको लक्षण शुरूमा खासै देखिँदैन । ७०–८० प्रतिशतमा त यसको कुनै लक्षण नै हुँदैन । अन्य रोग परीक्षण गराउने क्रममा भिडियो एक्सरे गर्दा पत्थरी भएको देखिन्छ । यसबाहेक धेरै बिरामीमा ग्याष्ट्रिकको जस्तो लक्षण देखिन्छ । पेटको माथिल्लो भागमा दुख्छ, खाना खाइसकेपछि अप्ठ्यारो हुन्छ । थोरै खाए पनि पेट टम्म हुन्छ । खाना खाएलगत्तै दुख्न थाल्छ । पत्थरीका कारण हुने दुखाइ दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । यो दुखाइ कहिलेकाहीँ दाहिने पाखुरा वा ढाडतिर पनि सर्न सक्छ ।

चिल्लो खाएपछि बढी अप्ठ्यारो महसूस हुन्छ । यसबाहेक कतिपयलाई पित्तथैली पाक्ने र सुन्निने समस्याले अत्यधिक दुख्छ । कहिलेकाहीँ आन्द्रामा प्रचुर मात्रामा रहने इकोलाई, क्लेबसिल्ला, इण्टेरोब्याक्टर, ब्याक्टेरोइड्सको सङ्क्रमणले समस्या झन् जटिल बनाउँछ । पित्तथैलीको पत्थरीको समस्या धेरै वर्षसम्म लक्षणरहित हुन्छ, जुन जाँचपड्तालको क्रममा मात्र पत्ता लाग्दछ । पत्थरीको आकार ८ मिमीभन्दा ठूलो हुन थालेपछि भने लक्षण देखा पर्न थाल्छ ।

यस्तो हुँदा माथिल्लो पेट एकनासले दुखिरहन्छ र ज्वरो आउँछ । पछि पित्तथैलीमा भएको पत्थर नलीमा गएर अड्किन्छ, जसले गर्दा जण्डिस देखा पर्न थाल्छ । यसले प्यान्क्रियाज ग्रन्थीलाई पनि असर गरी प्यान्क्रियासाइटिस गराउँछ । यसले गर्दा प्यान्क्रियाज ग्रन्थी पाकेर ज्यान जाने खतरा हुन्छ ।

पित्तथैलीको पत्थरीको समस्याले माथिल्लो पेटको दायाँपट्टि (कलेजो रहने ठाउँमा) धेरै पीडा हुन्छ । यस्तो पीडा आधा घण्टादेखि केही घण्टासम्म बढ्दै जान्छ । यस्तो पीडा दायाँ कुमतिर सर्न पनि सक्दछ । चिल्लो खानेकुरा खाएलगत्तै, प्रायः राति वा मद्यपानपछि पनि दुख्छ । साथै, वाकवाकी लाग्न वा उल्टी आउन सक्छ । जाँच्ने क्रममा पित्तथैलीको समस्या भएका व्यक्तिको माथिल्लो पेटको दायाँपट्टि हल्का दबाब दिएर लामो सास तान्न लगाउने हो भने एक्कासि पीडा बढेर बिरामीले बीचैमा सास रोक्दछ ।

पित्तथैलीमा पत्थरी भएको कसरी थाहा पाउने त ?
पित्तथैलीमा पत्थरी भएको थाहा पाउन भिडियो एक्सरे गर्नुपर्छ । भिडियो एक्सरेबाट पत्ता लागेपछि आवश्यकताअनुसार अन्य परीक्षण गर्नुपर्ने हुन्छ ।

पित्तथैलीको पत्थरीको उपचार कसरी हुन्छ ?
पित्तथैलीमा पत्थर भए पनि केही असर गरेको छैन भने उपचार थालिहाल्नु पर्दैन । तर, यसले भविष्यमा खतरा ल्याउने र ज्यान नै लिन सक्ने भएमा शल्यक्रिया गरी पित्तथैली निकाल्नुपर्छ । औषधिबाट पूर्णरूपमा ठीक नहुने र पुनः बल्झिने हुनाले शल्यक्रिया गर्नु नै राम्रो हुन्छ ।

शल्यक्रिया गरी पत्थर मात्र निकाल्दा हुँदैन ?
पित्तथैलीमा पत्थरी हुँदा पत्थर मात्र निकालेर समाधान हुँदैन । त्यसैले, पित्तथैली नै निकाल्नुपर्ने हुन्छ । पित्तथैली भनेको पित्त जम्मा गर्ने भाँडो मात्र हो । पित्त बनाउने काम कलेजोले गर्ने र कलेजोबाटै नली हुँदै आन्द्रामा पित्त पुग्ने भएकाले पित्तथैली फाल्दा पनि खासै फरक पर्दैन ।

पित्तथैलीमा पत्थरी हुन नदिन के गर्नुपर्छ ?
पित्तथैलीको पत्थरीको रोकथाम गर्न चिल्लो कुरा कम खानुपर्छ । नियमित रूपमा शारीरिक व्यायाम, रेशायुक्त खानाको सेवन र प्रशस्त पानी पिउने गर्नुपर्छ । मासु, चिल्लो पदार्थ कम र सागसब्जी बढी खाने गर्नाले यो रोग लाग्नबाट धेरै हदसम्म बच्न सकिन्छ । यस्तै, लामो समय भोकै बस्नु हुँदैन । एकैचोटि धेरै खानुभन्दा धेरैपटक थोरै थोरै खानुपर्छ । जङ्क फूड, प्रशोधित खानेकुरा, फाष्ट फूड कम खानुपर्छ । हर्मोनल थेरापी (जस्तै– पिल्स खाने) गरेको छ भने विकल्प खोज्नुपर्छ । समय समयमा भिडियो स्क्रिन गर्नुपर्छ । साथै, पेट दुख्दा सहेर बस्ने वा पेनकिलर खाने गर्नुहुन्न । यस्तोमा ग्याष्ट्रिक भएको ठानेर सीधै औषधि सेवन गर्नुहुन्न । सामान्यभन्दा बढी पेट दुख्नेबित्तिकै भिडियो एक्सरे गर्दा पत्थरी भएरनभएको थाहा पाउन सकिन्छ । यसबाट उपचारमा समेत सहज हुन्छ ।

उपचार नगरी यत्तिकै छाड्दा के हुन्छ ?
उपचार नगरीकन त्यत्तिकै छाड्दा बारम्बार माथिल्लो पेट दुखिरहने हुन सक्छ । कहिलेकाहीँ पित्तथैली पाक्न सक्छ । प्यान्क्रियाज ग्रन्थीलाई पनि असर गर्न सक्छ । पित्तथैलीमा पत्थरी हुँदा पित्तथैलीको क्यान्सर हुने सम्झना पनि उत्तिकै हुन्छ । त्यसैले, समयमै उपचार गर्नु बुद्धिमानी हुन्छ ।

पित्तथैली निकालिसकेपछि केमा ध्यान दिनुपर्छ ? मद्यपानसँग यसको के सम्बन्ध छ ?
शारीरिक व्यायाम र खानपानमा विशेष ध्यान दिनुपर्छ । चिल्लो, पिरो कम खानुपर्छ । मद्यपानले कलेजो बिगार्ने भएकाले यसको सेवन नगर्ने वा समुचित ढङ्गले मात्र गर्नुपर्छ । 

No comments yet. Be the first one to comment.

लोकप्रिय

नयाँ अपडेट

अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?
नेपालमा पनि कालो ढुसीको सङ्क्रमण देखा पर्न थाल्यो
पूर्व स्वास्थ्यमन्त्री गगन थापा भन्छन् – सरकारी खर्चले विदेशमा उपचार गर्न पाइँदैन, जुन कानून विपरीत
दाँतको उपचार महङ्गो, रोकथाम सस्तो
आर्या केयर अस्पतालमा सुत्केरी बन्धक

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution