भलाकुसारीको इतिहाससँग यो संस्थाको स्थापनाको इतिहास जोडिएको छ । यो संस्थाको स्थापना कालमा नेपालमा निरंकुश र निर्दलीय पञ्चायती व्यवस्था थियो । तीन दशक लामो पञ्चायती व्यवस्थामा सरकारले संघसंस्था खोल्ने अधिकारबाट जनतालाई विमुख पारेको थियो । राजाको गुणगान गाउने र हाम्रो राजा हाम्रो देश हाम्रो भाषा हाम्रो भेषको नारा दिइ एउटै भाषालाई मात्र प्रमुखता दिने र सूचनाको हकलाई कुण्ठित पार्ने गरिन्थ्यो ।
यस्तो परिस्थितिका माझ सन् १९८८ मा नेपाल, भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका हामी जस्ता स्वास्थ्य र विकासकर्मीहरूको सानो वैठक काठमाडौंमा सम्पन्न भयो । त्यो वैठकले नेपाली जनताको स्वास्थ्य अधिकारलाई प्रत्याभूति गर्ने हो भने जनस्वास्थ्यसम्वन्धि सूचना सम्प्रेषण गर्न जरुरी ठान्यो । उहाँहरूकै सुझावअनुसार यो संस्थालाई घरेलु उद्योगको रुपमा दर्ता गरियो र यो संस्थाको प्रथम प्रयासस्वरुप भलाकुसारी पत्रिकाको प्रकाशन भयो । यो पत्रिकालाई सवैले पढ्न सकुन भने उद्देश्यले भित्तामा टाँस्ने भित्तेपत्रिकाको रुपमा प्रकाशित भयो । शुरुमा यसका दुई प्रमुख उद्देश्य थिए ।
१) जनतालाई स्वास्थ्यसम्बन्धी सूचना सरल भाषामा दिने
२) गाउँमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवासम्बन्धी थप प्राविधिक ज्ञान दिने ।
यसरी यसको पहिलो प्रकाशन पछि देशको विभिन्न परिस्थितिवस इच्छित वा लक्षित सवै समुदायवीच पुर्याउन नसकिएता पनि सीमित क्षेत्रको हाम्रो वितरणबाट यसको उपादेयतालाई अझ पुष्टि गर्यो । यसबाट उत्साहित भइ हामीले प्रत्येक २ महिनामा स्वास्थ्यसम्वन्धी पत्रिकाको रुपमा यसलाई प्रकाशित गर्यौं ।
यसैंवीच २०४६ सालको जनआन्दोलन सफल भयो र नेपाल पञ्चायती व्यवस्थाबाट संवैधानिक राजा रहने गरी बहुदलीय राजनैतिक व्यवस्थामा पदार्पण ग¥यो । यसबाट संघसंस्था खोल्ने, पत्रपत्रिका निकाल्नेका साथै सवैलाई राजनैतिक स्वतन्त्रता प्राप्त भयो । यस नयाँ राजनैतिक परिवेशले यो भलाकुसारी पत्रिकालाई अझ व्यापक बनाउन मद्दत ग¥यो । यसैंले हामीले देशका सम्पूर्ण स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा यो पत्रिका पुगोस् र ग्रामीण क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्यकर्मीहरूसँग दोहोरो संवाद गर्न सकियोस् भन्ने उद्देश्यले हाम्रो पत्रिकालाई व्यापक रुपमा वितरण ग¥यांै । वितरणका लागि हामीले जिल्ला जनस्वास्थ्य कार्यालयलाई माध्यम बनाएका थियौं । नेपालमा विद्यमान हुलाकको व्यवस्था र हुलाक टिकट वढी लाग्ने हुँदा हामीले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत पठाउने निर्णय गरेका थियौं । २ –३ वर्षपछि हामी अनुगमनमा जाँदा पत्रिका सम्वन्धित ठाउँमा नपुगेको अनुभुति ग¥यौं । अनुगमनबाट आश्चर्यजनकरुपमा हाम्रो पत्रिका जिल्ला जनस्वास्थ्य कार्यालयको गोदाममा धुलो चाटिरहेको पायौं र जिल्ला जनस्वास्थ्य कार्यालयबाट त्यो पत्रिका अरुलाई र स्वास्थ्य चौकीहरूमा पठाएको पाएनौं ।
त्यसैंले हामीले हाम्रै कार्यालयबाट उपलव्ध गराउन सकेसम्म सवैजसो उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पठाउने निधो गर्यौं र सकेसम्म सवै ठाउँमा यो पत्रिका पुर्याउने कोशिस अहिलेसम्म जारी छ ।
भलाकुसारीको पहिलो अंक प्रकाशित गर्दाको समय भन्दा केही समय अगाडीसम्म कोही कसैलाई स्वत्रन्त्र रुपमा पत्रपत्रिकाहरू प्रकाशित गरेर जनचेतना जगाउने कुरामा तत्कालीन श्री ५ को सरकारले नेपाली जनतालाई छुट दिएको थिएन । त्यसकारण भलाकुसारी पत्रिका प्रकाशित गरेर देशको विभिन्न ठाउँहरूमा स्वास्थ्यसम्बन्धि जनचेतना जगाउनको लागि प्रचार प्रसार गर्ने काम समेत नेपालको पहिलो जनआन्दोलन २०४६ पश्चात प्रजातन्त्रको बहाली भएपछि मात्र सम्भव भयो । त्यतिवेला हाम्रो आर्थिक तथा अन्य विविध कारणहरूले गर्दा भलाकुसारीको पहिलो अंक ३०० प्रति भित्ते पत्रिकाको रुपमा प्रकाशित गरेर जिल्ला जनस्वास्थ्य कार्यालयहरू र अन्य यस्तै ग्रामीण स्वास्थ्य प्रदायक संस्थाहरूमा मात्र पठाउन सक्यौं ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले यो पत्रिका कुनै राजनीतिक विषय वस्तुहरूले ओतप्रोत नभई विशुद्ध जनस्वास्थ्य सेवाको विषहरूमा लेखिएको पत्रिका हो । पत्रिकामा रुख मुनि चौतारोमा बसेर ग्रामिण समुदायका मानिसहरूले स्वास्थ्य समस्याको बारेमा भलाकुसारी अर्थात कुराकानी गरिरहेको साँकेतिक चित्र (लोगोका रुपमा) छ । शुरुका अंकहरूमा हामीले भलाकुसारीलाई ज्यादै अनौपचारिक र बोलचालको भाषामा निकाल्ने भनेर जोड दियौं । तर पछि कुरा बुझ्दै जाँदा हाम्रा प्रस्तुती भाषा केही क्षेत्रमा बोलिने बोलचालको भाषामा मात्र सीमित रहेछ । खासगरी हामी काठमाण्डौ र त्यो भन्दा पूर्वका कर्मचारीहरू भएकाले भलाकुसारीमा प्रस्तुत उखान टुक्का र उदाहरणहरू भरमार रुपमा प्रयोग गरियो । त्यस पछि हामीले भलाकुसारीको भाषालाई सरल र सकभर छोटो वाक्यमा मात्र लेख्ने प्रयत्न ग¥यौ । भलाकुसारीमा शव्दहरू शुद्ध हुन् र अनर्थ नलाग्ने खालका होउन् भनेर ध्यान दिइएको छ ।
यो पत्रिकाले आज करिव ३ दशक पार गर्दैछ । यी ३ दशकमा विभिन्न आर्थिक र प्राविधिक कठिनाइका वावजुद पनि हामीले यसलाई निरन्तरता दिने कोशिस ग¥यौं र हालसम्म यो प्रयास जारी छ ।
यस ३ दशकको प्रयासले हामीलाई केही सिकाइको अनुभव प्राप्त भएको छ ।
१) यो पत्रिकाको भाषा सामान्य जनताले बोल्ने भाषमै रहेको हुँदा सवैले बुझ्न सकेको छ ।
२) यसमा प्रकाशित हुने रचना त्यो क्षेत्रको त्यो मौसममा हुने रोगहरूका बारे लेखिने हुँदा यसलाई सवैको स्वीकार्य पत्रिका बनाउन सफल भएको छ ।
३) यो पत्रिकामा प्रकाशित हुने लेख नेपालकै परिवेश जस्तैः गरिवी, सामाजिक व्यवहार, लैङ्गिक विविधतालाई पनि ध्यान दिइ लेखिने हुँदा पनि पाठकले यो पत्रिकालाई अपनत्व लिन सकेको छ ।
शुरुका दशकमा यो पत्रिकाले वढी सरुवा रोगका बारेमा जनचेतना जगाउने खालका रचनाहरू छापिए भने अवको दशकमा मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरूको भयावहलाई ध्यान दिइ त्यसैंमा वढी केन्द्रीत रहन पुगेको छ ।
आज यो पत्रिका समाजको सवभन्दा तल्लो वर्ग र सीमान्तकृत समुदायको स्वस्थ भइ बाँच्न पाउने अधिकारको प्रत्याभुतिको लागि हाम्रो आन्दोलनको एउटा प्रमुख साधनको रुपमा स्थापित गर्न सकेको छ ।
अन्त्यमा यस पत्रिकाका लागि स्वास्थ्य सम्वन्धि विभिन्न लेख लेखि सहयोग गर्नु हुने स्वास्थ्य तथा विकासकर्मी साथीहरू, पाठकवर्ग, बराबर सल्लाह सुझाव दिनु हुने स्वास्थ्य चौकीका कर्मचारी साथीहरू, स्वास्थ्य मन्त्रालय तथा अन्य सवैप्रति आभार व्यक्त गर्दै जनताको स्वास्थ्य अधिकारको प्रत्याभूतिको यात्रामा अझ सशक्त भइ लाग्नु हुन सवैलाई आह्वान गर्दछु । धन्यवाद