स्पाइनल इन्जरी स्पाइनल के हो ?

स्पाइनल इन्जरी स्पाइनल के हो ?

टाउकोको पछाडिको भाग गर्दनदेखि तल मेरुदण्डको पुच्छरको हड्डीसम्मको भाग स्पाइनल हो । यसलाई मेरुदण्ड पनि भनिन्छ । मेरुदण्ड नसा, हड्डी, कुर्कुरे (डिस्क) र मांसपेशीले हाम्रो शरीरको स्पाइनल बनाउँछ । यदि स्पाइनल भएन भने सीधा उभिने, बस्ने र हातखुट्टा चलाउन सकिँदैन ।

मेरुदण्डका हड्डीका मांसपेशी (प्यारास्पाइनल मसल्स) र स्पाइनल कर्ड (मेरुदण्डको नसा)बाट निस्किएका नसाका हाँगा गर्दनदेखि तल कम्मरसम्म पुगेका हुन्छन् । गर्दनसम्म पुगेको नसाको हाँगाले हात चलाउने र कम्मर सम्म पुगेको हाँगाले गोडाहरू चलाउने काम गर्छ । समग्रमा यस किसिमको प्रक्रियालाई स्पाइनल भनिन्छ । मेरुदण्डको सबैभन्दा भित्र स्पाइनल कर्ड (नसा) हुन्छ । मेरुदण्डको नसाको वरिपरि पानी हुन्छ जसलाई सीएसएफ भनिन्छ । त्यसको वरिपरि कभर हुन्छ जसलाई ड्युरा भनिन्छ ।

स्पाइनलमा देखिने समस्या केके हुन् ?
स्पाइनलमा समस्या बच्चादेखि उमेर पुगेका मानिसहरूमा देखिन सक्छ । स्कोलियोसिस (ढाड बाङ्गिने) स्पाइनल क्यान्सर, नसा च्यापिने, स्पाइनल भाँचिने, डी जेनेरेटिभ (उमेरका परिवर्तनहरू) स्पाइनलका समस्याहरू हुन्छन् ।

स्पाइनलमा समस्या के कारणले आउँछ ?
दुर्घटना हुँदा मेरुदण्डको कुनै भागको हड्डीमा चोट लाग्यो भने स्पाइनलमा समस्या आउँछ । गर्दन (सर्विकल स्पाइनल)मा चोट लागेमा बिरामीको हातखुट्टा चल्दैन । तल्लो फेदको हड्डी भाँचिएको अवस्थामा हात चल्छ, तर खुट्टा प्यारालाइसिस हुने सम्भावना हुन्छ । मेरुदण्डको हड्डी भाँचिए पनि नसामा खासै समस्या नभएमा समस्याबाट पूरै मुक्त गर्न सकिन्छ ।

स्पाइनल सर्जरीका लागि के प्रविधिहरू छन् ?
मिनिमली इन्भेजिभ स्पाइनल सर्जरी सिष्टम (एमआईएसएस), स्पाइनल नेभिगेशन, सिटी गाइडेड इण्ट्रा अपरेटिभ नेभिगेशन र न्यूरो स्पाइनल न्यूरो मनिटरिङ सिष्टमहरू छन् । यी प्रविधिहरू विकसित मुलुकमा पनि हालैमात्र भित्रिएका प्रविधि हुन् । यी प्रविधिका कारण स्पाइनल सर्जरीमा धेरै नै सजिलो गरिदिएको छ । यसले गर्दा जोखीम पनि धेरै घटेको छ । केही गरी सर्जरीमा समस्या आउन लाग्यो भने मेशिनले जानकारी दिन्छ ।

यी प्रविधिहरूले स्पाइनलका बिरामीलाई के फाइदा पुर्‍याउँछ ?
स्पाइनल सर्जरी जटील भएका कारण हामी स्पाइनल सर्जनहरूले अपरेशनको कम्प्लिकेशन कसरी न्यून पार्ने भन्नेबारे पहल जहिले पनि गर्छौं । यी प्रविधिहरूले पनि सर्जरीमा हुने जोखीमलाई धेरै कम पार्छन् । यी प्रविधिका कारण बिरामीले सर्जरी गर्न अब डर मान्न नपर्ने भएको छ । अधिकांश स्पाइनल समस्या औषधि र फिजियोथेरापीले नै निको पार्न पनि सकिन्छ । जटील समस्याका बिरामीको न्यून मात्रामा चिरफार गरी शल्यक्रिया गर्न सकिने प्रविधि पनि आइसकेको छ ।

गरीब र न्यून वर्गका बिरामीका लागि के प्रावधान छ ?
स्पाइनलको समस्या भएका बिरामीले निजी स्वास्थ्य संस्थामा गएर उपचार गराउन ठूलो धनराशी खर्च गर्नुपर्छ । न्यून आर्थिक क्षमता भएकाहरूलाई यो सम्भव पनि हुँदैन । स्पाइनल इञ्जुरीको उपचारमा प्रयोग गर्नुपर्ने उपकरण र इम्प्लाण्ट्स महँगा छन् । स्पाइनल उपचारपछि आवश्यक पुनःस्थापना (रिह्याविलिटेशन) सेवा पनि महँगो छ ।

गरीब र सीमान्तकृत वर्गका लागि नेपाल सरकार र अस्पताल प्रशासनले धेरै कम मूल्य वा निःशुल्क सेवा दिने प्रावधान पनि छ । राज्यले स्पाइनल इञ्जुरीका बिरामीलाई १ लाख रुपैयाँ सहुलियत दिन शुरू गरेको छ ।

स्पाइनल सर्जरीलाई अझ सजिलो र सहज बनाउन के योजना छ ?
नेपालमा एउटा पूर्ण सेवा सुविधायुक्त स्पाइनल सेण्टर खोल्ने योजना छ । यो सेण्टर बिरामीको उपचारसँगसँगै स्पाइनल सर्जरीको विषय पढाउने एक अब्बल संस्था पनि हो । दक्षिण एशियामा हामीलाई स्पाइनल सर्जरीमा राम्रो काम गर्ने संस्था भनेर चिनाउने योजना रहेको छ ।

स्पाइनल इञ्जुरी भए के गर्नुपर्छ ?
स्पाइनल इञ्जुरी (ढाड भाँचिएको) बिरामीले तुरुन्त अस्पतालमा गएर उपचार गर्नुपर्छ । नसा च्यापिने, ढाड दुख्नेजस्ता समस्या भएमा विनाअप्रेशन पनि उपचार गर्न सकिन्छ । यदि बच्चाहरूमा ढाड बाङ्गिएको सङ्केत देखियो भने स्पाइनल सर्जनकोमा तुरुन्त लानुपर्छ । किनभने सानो उमेरमा उपचार गर्दा कम जोखीम हुन्छ । हामीले धूम्रपान नगर्ने, व्यायाम गर्ने र पोषणयुक्त खाना नियमित खाने गर्‍यौं भने स्पाइनलमा समस्या आउने सम्भावना न्यून हुन्छ ।

ढाड दुख्नबाट कसरी बच्न सकिन्छ त ?
लामो समयसम्म कुर्सीमा नबस्ने, निहुरेर धेरै काम नगर्ने, लुगा टेबलमाथि राखेर धोयौं भने ढाड दुख्नबाट बच्न सकिन्छ । यसैगरी सुत्ने ओछ्यान धेरै साह्रो हुनुहुँदैन । टिभी हेर्दा र पढ्दा पल्टिने गर्नु हुँदैन । 

No comments yet. Be the first one to comment.

लोकप्रिय

नयाँ अपडेट

अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?
नेपालमा पनि कालो ढुसीको सङ्क्रमण देखा पर्न थाल्यो
पूर्व स्वास्थ्यमन्त्री गगन थापा भन्छन् – सरकारी खर्चले विदेशमा उपचार गर्न पाइँदैन, जुन कानून विपरीत
दाँतको उपचार महङ्गो, रोकथाम सस्तो
आर्या केयर अस्पतालमा सुत्केरी बन्धक

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution