खनिजयुक्त पानीको सेवनले ढाडको समस्या कम हुन्छ

सामान्यतया गर्दनको पछाडि (घिच्रो) र नितम्बबीचको मध्यरेखामा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ । मेरुदण्डका हड्डी र मांसपेशीलाई असर गर्ने रोगले ढाड दुख्छ । ढाड दुखाइकै कारण अधिकांशले काममा ध्यान दिन सक्दैनन् । नेपालमा गलत किसिमको खानपान, रहनसहन र बसाइले ढाड दुख्नेहरूको सङ्ख्या धेरै छ । समयमै उपचार गरे ढाड दुखाइ निको पार्न सकिने डा. सरोज सुवाल बताउँछन् । हामीले खाने पानी शुद्ध भए तापनि आवश्यक खनिज (मिनरल) तङ्खव नहुँदा हड्डीमा समस्या देखिने उनको भनाइ छ । जनवादी गणतन्त्र चीनको हुवेई प्रान्तस्थित याङ्गत्से विश्वविद्यालयबाट अर्थोपेडिक्समा माष्टर इन सर्जरी (एमएस) गरेका डा. सुवाल मध्यपुर अस्पतालमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत छन् । चीनकै चियामुसी विश्वविद्यालयबाट एमबीबीएस गरेका डा. सुवालसँग ढाड दुख्ने समस्या र समाधानका उयायबारे पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंशः

ढाड दुख्ने समस्या के कारण हुन्छ ?
ढाड दुख्नुको मुख्य कारण गलत तरीकाले काम गर्नु वा बस्नु नै हो । ढाड वा नजीकको मांसपेशीमा असर परेर यस्तो समस्या शुरू हुन्छ । कुर्सीमा बसेर बढी समयसम्म काम गर्नेलाई ढाडको समस्या धेरै हुन्छ । एउटै ‘पोजिशनमा’ बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ । ढाडलाई अप्ठ्यारो गरेर राखिराख्दा पनि मांसपेशी थाकेर ढाड दुख्छ । नेपालमा लामो समयसम्म बाइक चलाउने र दिनभर कम्प्युटर चलाउनेको ढाड दुख्ने समस्या धेरै देखिएको छ । बढी तौल हुनु पनि ढाड दुख्नुको अर्को कारण हो । आसन ठीक भएन भने पनि ढाड दुख्छ । लामो यात्राको समयमा समेत यो समस्या आउँछ । एउटै आसनमा २० मिनेटभन्दा धेरै बेर बस्दा वा जुनसुकै काम गर्दा पनि ढाड दुख्छ । यस्तो दुखाइलाई ‘मेकानिकल पेन’ भनिन्छ ।

शरीरमा कुनै रोग देखियो भने पनि ढाड दुख्छ । रोगका कारण दुख्ने दुखाइलाई ‘प्याथोलोजिकल पेन’ भनिन्छ । मांसपेशी र हड्डीको रोग वा ट्युमर, मिर्गौलाको पत्थरीले पनि ढाड दुख्छ । ढाडको अधिकांश समस्या मांसपेशी कमजोर भएर हुन्छ । नसासम्बन्धी र हड्डी खिइने समस्याले समेत ढाड दुख्छ ।

ढाड दुख्नबाट बच्न के गर्नुपर्छ ?
काम गर्दा समयसमयमा पोजिशन परिवर्तन गरिराख्नुपर्छ । केरा, अण्डा, माछामासु जस्ता ढाड बलियो बनाउने तŒव भएको खाना खानुपर्छ । शारीरिक क्रियाकलाप र व्यायाम नियमित गर्नुपर्छ । अत्यधिक भार अनुपयुक्त तरीकाले उचाल्नु हुँदैन । नमिल्दो आसनमा बस्नु हुँदैन । शरीरमा कुनै रोगको सङ्केत देखिनेबित्तिकै उपचार थाल्नुपर्छ । मिर्गौलामा पानी जम्ने, मिर्गौलाको पत्थरी, मूत्राशय तथा मूत्रनलीको तल्लो भागमा सङ्क्रमण आदिद्वारा तल्लो ढाडमा दुखाइ हुन सक्छ । त्यसैले, परीक्षण गरेर कारण पहिल्याई उपचार गर्नुपर्छ ।

ढाड दुख्न नदिन कस्तो खाना खानुपर्छ ?
क्याल्सियम र भिटामिनयुक्त खाना खानुपर्छ । यसैगरी दैनिक घटीमा ३ लिटर पानीको सेवन गर्नुपर्छ । खानेपानीमा मिनरल हुनैपर्छ । पानीमा न्यूनतम मात्रामा जिङ्क, म्याग्नेसियम, फोस्फरस र क्याल्सियम हुनुपर्छ । हामीले खाने खानामा पनि यी तŒव भएमा हड्डी मजबूत हुन्छ र हाड दुख्ने समस्या मुश्किलले मात्र देखापर्छ ।

ढाड दुखाइ कति किसिमका हुन्छन् ?
ढाड दुखाइ खासगरी तीन किसिमका हुन्छन् । १) माथिल्लो ढाड दुखाइ (सर्भिकल) २) बीचको ढाड दुखाइ र ३) तल्लो ढाड दुखाइ (लम्बर) । उमेर बित्दै गएपछि विशेषगरी सर्भिकल र लम्बर पेन हुन्छ । बीचको ढाड दुखाइ भने अन्य रोगका कारण हुन्छ । टीबी (क्षयरोग) र दुर्घटनाका कारण बीचको ढाड दुख्छ । तल्लो ढाड दुख्नुको कारण गलत बसाइ हो । झुकेर र निहुरेर काम गर्दा, लामो यात्रा गर्दा, कच्ची सडकमा बाइक चलाउँदा तल्लो ढाड दुख्छ । महिलाहरूमा भने महिला अङ्गकै कारण पनि ढाड दुख्छ ।

महिलाहरूमा ढाड दुख्नुको कारण के हो त ?
नेपाली महिलाहरू एउटै पोजिशनमा निहुरेर लुगा धुन्छन् । यो गलत हो । टेबलमाथि बाटा राखेर धुने गरेमा निहुरिनु पर्दैन । महिलाहरूमा ढाड दुख्नुको कारण सङ्क्रमण पनि हो । पाठेघर र ट्युमरका कारण महिलालाई ढाड दुख्छ । पाठेघरको मुखको क्यान्सर, पाठेघरमा हुने सङ्क्रमण, महीनावारीमा हुने हर्मोन गडबढीले समेत यस्तो समस्या आउँछ । यद्यपि, महीनावारीमा ५–६ दिनसम्म ढाड दुख्नु सामान्य नै हो ।

ढाड दुख्नुका अन्य कारण के के हुन् त ?
पिसाबमा सङ्क्रमण भएर पनि ढाड दुख्छ । सङ्क्रमण हुँदा ज्वरो आउँछ । १ हप्ताभन्दा बढी ज्वरो आएमा, पिसाब पोलेमा ढाड दुख्न सक्छ । दुर्घटनामा परेर र नसा च्यापिएर समेत डाढ दुन्छ । खोक्दा, हाँछ्यु गर्दा ढाड दुख्छ भने हड्डीको डिस्क (कुर्कुरे) खुस्केको हुन सक्छ । उमेर बढ्दै जाँदा स्पाइनल स्टेनोसिसका हड्डी खिइएर नसाघर खुम्चिन्छ । त्यसको प्रभावले पनि ढाड दुख्छ ।

ढाड दुख्नुका लक्षण र उपचार के हो ?
ढाड दुखिरहनु, आलस्य हुनु, जीउ कमजोर हुनु, थकान हुनु, शरीरमा गाँठागुठी हुनु ढाड दुख्नुका लक्षण हुन् । दुखाइको उपचार दुखाइ के कति कारणले भएको हो, सोहीअनुसार गर्नुपर्दछ । ढाडको दुखाइको पहिचान रक्त परीक्षण, मूत्र परीक्षण, एक्सरे, सीटी स्क्यान, एमआरआई आदि विभिन्न तरीकाबाट गर्न सकिन्छ । यदि नसा च्यापिएको छ भने अलि बढी ध्यान दिनुपर्छ । नसा च्यापिएको छ भने अन्य समस्या पनि आउँछ । १२ सातामा पनि ठीक भएन भने सर्जरी नै गर्नुपर्ने हुन सक्छ । हड्डी खिइएर भएको हो भने हड्डी रगडिएर नसा निस्कने बाटो साँघुरो हुँदै जान्छ । नसा च्यापिएपछि नसाहरू खुम्चिन्छ, जसले गर्दा मांसपेशी कमजोर हुन्छ । मांसपेशी कमजोर भएपछि बिरामीलाई दुख्छ । पाठेघरमा समस्या भए÷नभएको निक्र्योल गर्नुपर्छ । पिसाबको परीक्षणसमेत गर्नुपर्छ । कसैलाई स्थायी रूपमा ढाड पनि दुख्छ । यस्तो बेलामा बेलाबखत फिजियोथेरापी गरिरहनुपर्छ । यसले मांसपेशीलाई बलियो बनाउँछ ।नसा च्यापिने समस्या कुरकुरे हड्डी फुटेर र हड्डी खिएर पनि हो । यो क्रोनिक खिइएर हुन्छ । यस्तो समस्या ६०–७० वर्ष कटेपछि मात्रै हुन्छ । तर, कुरकुरे हड्डी फुट्यो भने युवा उमेरमा पनि यो समस्या आउँछ । नसा च्यापियो भने खुट्टा झमझम हुन्छ ।

हड्डी दुखेमा बीएमडी (बोन मिनरल डेन्सिटी) परीक्षण गर्नुपर्छ । मध्यपुर अस्पतालमा २–३ हजार रुपैयाँमा यो परीक्षण हुन्छ । ६५ वर्षभन्दा माथिको ओस्टुपोरोसिस हुन्छ । यस बेला हड्डीको क्षमता खोक्रो भइसकेको हुन्छ । यस्तो बेला हड्डी जुनसुकै बेला पनि भाँचिन सक्छ । त्यसैले, हड्डीको परीक्षण समय समयमा गर्नुपर्छ ।

हड्डीको समस्यासँग धुम्रपानको केही सम्बन्ध छ कि ?
धूमपानले हड्डी धेरै कमजोर हुन्छ । धूमपानले हड्डीमा अक्टुब्लास्ट बन्न दिँदैन र हड्डी विकासमा ढिलाइ गरिदिन्छ । त्यसैले, हड्डी भाँचिएको बेला धूमपान गर्नु नै भएन । अरू बेला पनि गर्नु हुँदैन ।

हड्डीको परीक्षण कहिले कहिले गर्नुपर्छ ?
शरीरमा चोटपटक लाग्दा, शरीरमा कडा वा नरम खालका गिर्खा, गाँठो आएमा, हातखुट्टा लामो समयसम्म झमझम भइरहेमा हड्डी र नसाको परीक्षण गर्नुपर्छ । हातको काम गर्ने क्षमता कम भएमा र घाँटी दुखेमा पनि यस्तो परीक्षण गर्नुपर्छ । टाउकोको पछाडिपट्टिको भाग दुखेमा, रिँगटा लागेमा र लगातार ज्वरो आएमा हड्डी जँचाउनुपर्छ । यसैगरी क्षयरोग लागेका बिरामीले समय समयमा हड्डी परीक्षण गर्नुपर्छ । हातखुट्टा चलाउन समस्या भएमा, छालाको रङ परिवर्तन भएमा, शरीरको कुनै भागमा ट्युमर भएमा, हड्डीको प्रकृति फेरिएमा, जोर्नीको समस्या भएमा, बाथ र युरिक एसिड भएमा पनि बेला बेला हड्डी परीक्षण गर्नुपर्छ । 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution