पेशागत स्वास्थ्य र सुरक्षा

पेशागत स्वास्थ्य र सुरक्षा

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा वार्षिक २ करोड ७० लाख मजदुर काम गर्दागर्दै कार्यस्थलमा नै दुर्घटनामा पर्छन् भने २ लाख जति दुर्घटनामा परी कार्यस्थलमा नै मर्छन् । यो तथ्याङ्क डरलाग्दो छ । त्यस कारणले सरोकारवालाले पेशागत स्वास्थ्य तथा सुरक्षामा ध्यान दिनु जरुरी छ ।

पेशागत स्वास्थ्य र सुरक्षाका विषयमा अधिकांश मजदूरलाई थाहा नहुँदा अनाहकमा ७५ प्रतिशत मजदूर दीर्घ रोगबाट पीडित छन् । रोजगारदाता र श्रमिक यो विषयप्रति संवेदनशील हुन नसक्दा अनजानमै कामदारहरू रोग बोक्न बाध्य भएका हुन् । बाँकी २५ प्रतिशतमा भने केही न केही प्रकारका रोग आफूले गरी आएको पेशाकै कारण उत्पन्न हुने गरेको छ ।

साधारणतया कार्यस्थलमा प्रशस्त उज्यालो नभएको कारण दुर्घटना हुन सक्छ, मेशिनर उपकरणमा छेकवार नहुँदा दुर्घटना हुन सक्छ, आगलागि भएर दुर्घटना हुन सक्छ, अनि विद्युतीय कारणले दुर्घटना हुन सक्छ भने कहिलेकाहीं मजदुरको दक्षता कम भएको कारण पनि दुर्घटना हुन सक्छ । त्यस्तैे कहिलेकाहीं मजदुरको निन्द्रामा कमी भएर र शारीरिक थकान र अस्वस्थता र रोगका कारण पनि दुर्घटना हुन सक्छ । 

विद्युतीय दुर्घटना पनि खतरनाक छ । साधारण घर, पसलमा ‘टु वायर सिस्टम’ ले विद्युतीकरण गरिएको हुन्छ भने ठूला–ठूला घर, पसल, उद्योगमा ‘फोर वायर सिस्टम’ ले विद्युतीकरण गरिएको हुन्छ । ‘टु वायर सिस्टम’ मा भोल्टेज २२० हुन्छ भने ‘फोर वायर सिस्टम’ मा ४४० हुन्छ । भोल्टेज जति धेरै भयो खतरा पनि त्यत्तिकै बढी हुन्छ ।

पेशागत स्वास्थ्य र सुरक्षाका लागि मेशिनमा छेकवार भएको र नभएको, विद्युतीय वायरिङको अवस्था ठीक भएको र नभएको, आगो निभाउने उपकरण ठीक र उचित स्थानमा राखेको र नराखेको र आवश्यक पर्दा सञ्चालन गर्न मिल्ने गरी ठीक अवस्थामा भएको र नभएको बारेमा समय समयमा परीक्षण गर्नुपर्छ । मेशिन चलाउँदा मजदुरले मेशिनको प्रकार अनुसारको सेफ्टी ग्याजेट प्रयोग गरेको हुनुपर्छ । जस्तो वेल्डिङ गर्दा मुख छोप्ने सिल्ड प्रयोग गर्नै पर्छ, ग्राईन्डिङ गर्दा आँखा छोप्न ‘सेफ्टी गगल (चश्मा)’ प्रयोग गर्नै पर्छ अनि कम्प्रेसर मेसिन सञ्चालन गर्दा कान छोप्न ‘ईअर मफ’ प्रयोग गर्नै पर्छ ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)ले गरेको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययन प्रतिवेदनअनुसार ७५ प्रतिशत दीर्घरोगीमध्ये ३२ प्रतिशतमा आँखाको समस्या, १३ प्रतिशतमा हाडको समस्या र १२ प्रतिशतमा पेटसम्बन्धी रोग छ । केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीका अनुसार नेपालमा पेशागत रोगबारे पर्याप्त जानकारी नभएकाले शारीरिक श्रमिक र बौद्धिक श्रमिक पनि उत्तिकै मात्रामा रोगी भएका छन् ।

उद्योग, कार्यालय, कलकारखाना, विद्यालयलगायत औपचारिक क्षेत्रमा काम गर्ने कामदार र कर्मचारीमा समेत रोगको स्थिति भयावह छ भने निर्माण, घरेलु कामदार, कृषिलगायत अनौपचारिक क्षेत्रमा रहेका असङ्गठित कामदारको पेशागत स्वास्थ्य झनै पीडादायी रहेको पाइएको छ ।

कामदारले सुरक्षासामग्रीको प्रयोग नै नगरी धूलो, धुवाँ र चर्को ध्वनिमा काम गर्ने गरेका छन् । औपचारिक क्षेत्रमा गहु्रँगो सामान उचाल्न लिफ्टरको प्रयोग भए पनि अनौपचारिक क्षेत्रमा बोझिलो सामान उपकरणको प्रयोग नै नगरी उचाल्ने गरिएको छ । उमेर र बल भएसम्म केही नहुने भएकाले कामदारले हेलचेक्र्याइँ गर्ने गरेको पाइएको छ ।

औपचारिक क्षेत्रमा काम गर्ने बौद्धिक पेशाकर्मीमध्ये १७ प्रतिशत एउटै शैलीमा दिनभरि काम गर्छन् भने ३३ प्रतिशत एउटै ठाउँमा बसेर काम गर्छन् । यसले गर्दा शरीरमा हाड र नसाको समस्या देखिने गर्दछ ।

श्रम ऐनमा गरिएको व्यवस्था
श्रम ऐन २०७४ ले रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि कार्यस्थलमा अपनाउनुपर्ने उपाय तथा व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । ऐनको परिच्छेद–१२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी व्यवस्था गरिएको छ । यसमा रोजगारदाताले सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाउनुपर्ने उल्लेख छ । रोजगारदाताले कार्यस्थलमा श्रमिक तथा अन्य व्यक्तिको सुरक्षा र स्वास्थ्यसम्बन्धी नीति बनाई कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । रोजगारदाताले कुनै उपकरण, वस्तु वा पदार्थबाट कार्यस्थलमा सम्बद्ध व्यक्तिको सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी उपयुक्त ढङ्गले सञ्चालन वा प्रयोग गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्नुपर्ने पनि ऐनमा व्यवस्था गरिएको छ । त्यस्तो उपकरण, वस्तु वा पदार्थको प्रयोगबाट सुरक्षा वा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने खतरा पत्ता लगाई खतरा हटाउन वा घटाउन आवश्यक अनुसन्धान, प्रयोग वा परीक्षण गर्नुपर्ने कुरा ऐनमा रहेको छ । कार्यस्थलमा सञ्चालन तथा प्रयोग हुने उपकरण, वस्तु वा पदार्थको सञ्चालन तथा प्रयोग गर्दा सुरक्षा र स्वास्थ्यको दृष्टिले अपनाउनुपर्ने आवश्यक कुराबारे पूर्ण रूपमा जानकारी गराउन दिग्दर्शन तयार गर्नुपर्ने दायित्व पनि रोजगारदाताको छ ।

श्रमिकको कर्तव्य
कार्यस्थलमा जानीजानी वा लापरवाहीपूर्वक आफ्नो वा अरू कसैको सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा खतरा पुग्न सक्ने कुनै पनि कार्य गर्नु हुँदैन ।

कार्यस्थलमा सञ्चालन तथा प्रयोग हुने उपकरण, वस्तु वा पदार्थको सञ्चालन तथा प्रयोग सुरक्षित तथा होशियारीपूर्वक सञ्चालन तथा प्रयोग गर्न तयार गरिएकोे दिग्दर्शन, सल्लाह तथा अन्य कुराको सम्बन्धमा जानकारी प्राप्त गर्नुपर्छ ।

कार्यस्थल, उपकरण, वस्तु वा पदार्थ सञ्चालन तथा प्रयोग गर्न तयार पारिएको दिग्दर्शन जानकारी तथा सल्लाहबमोजिम त्यस्तो कार्यस्थल, उपकरण वा पदार्थ सुरक्षित तथा होसियारीपूर्वक सञ्चालन तथा प्रयोग गर्नुपर्छ ।

रोजगारदाताले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा साधनको प्रयोग अनिवार्य गर्नुपर्छ । 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution