सन्तुलित भोजनः एक परिचय

सन्तुलित भोजनः एक परिचय

हामीले दैनिक उपभोग गर्ने भोजनमा विभिन्न किसिमका खाद्य पदार्थहरू समावेश भएका हुन्छन् । ती खाद्य पदार्थहरूबाट प्राप्त हुने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरमा नियमित रुपमा सञ्चालन हुने विभिन्न आन्तरिक र वाह्य क्रियाकलापमा सहयोग पुर्‍याइरहेको हुन्छ । हामीले उपभोग गर्ने भोजनबाट हामीलाई दैनिक शारिरीक र मानसिक परिश्रमका लागि शक्ति प्रदान गर्ने, शारिरीक वृद्धि विकासका लागि प्रोटिन र शरीरलाई सुरक्षा गर्न, रोगबाट बचाउन विभिन्न किसिमका भिटामिन र खनिज पदार्थहरू प्राप्त गर्दछौं । 
 
मानिसको उमेर, लिङ्ग, वर्ग, समूह, शारिरीक र मानसिक किसिम र मात्रामा फरक फरक हुन्छन् । तसर्थ मानिसको उमेर, समूह, लिङ्ग, शारिरीक परिश्रम र विशेष शारिरीक अवस्था अनुसार विभिन्न पौष्टिक तत्वहरूको आवश्यक मात्रा उपलव्ध हुने गरी विभिन्न खाद्य पदार्थहरूको परिमाण र मात्रा मिलाएर उपभोग गरिने भोजन नै सन्तुलित भोजन हो । हामी नेपालीको प्रमुख खाना नै दाल, भात, तरकारी, अचार हो । यस खानमा विभिन्न किसिमका खाद्य वस्तुहरू समावेश भएका हुन्छन । 
 
अन्नबाट शक्ति, गेडागुडी÷दालबाट प्रोटिन र तरकारी, अचार र फलफूलबाट विभिन्न किसिमका भिटामिन र खनिज पदार्थहरू प्राप्त हुन्छ । यसका साथै अण्डा, दुध, माछा, मासुहरूलाई पनि नियमित रुपमा सेवन गर्‍यौं भने हाम्रो शरीरका लागि चाहिने पौष्टिक तत्वहरू पूर्ण रुपमा प्राप्त गर्न सकिन्छ । 
 
सन्तुलित भोजनका लागि वर्गिकृत पाँच खाद्य समूहहरू :
खाद्य वस्तुको उपलब्धता, जनसमुदायको खाद्य उपभोग गर्ने बानी र दैनिक पौष्टिक तत्वहरूको आवश्यकताको आधारमा खाद्य वस्तुहरूलाई पाँच वर्गमा वर्गिकरण गर्न सकिन्छ । यसरी वर्गिकृत खाद्य समूहहरू प्रत्येकबाट उपभोग गर्न सकेमा सन्तुलित भोजनको आधार तयार हुन्छ । 
 
१) खाद्यान्न बालीबाट प्राप्त हुने खाद्यवस्तुहरूः
यस वर्गमा धान, मकै, गहुँ, जौ, फापर, कोदो जस्ता अन्नहरू पर्दछन् । यी खाद्यवस्तुहरूबाट हामीले दैनिक आवश्यक पर्ने शक्ति र प्रोटिनको आधा जति हिस्सा परिपूर्ति गर्दछन् । यसका साथै अन्नको बाहिरी तह क्षति हुन नदिई तयार गरिएका खाद्य वस्तु उपभोग गरिन्छ भने ती खाद्यवस्तुहरूबाट भिटामिन वि–१ थायमिन) र आइरन जस्ता महत्वपूर्ण पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । 
 
२) दाल तथा गेडागुडी जस्ता वनस्पति जन्य खाद्यवस्तुहरू :
यस वर्गमा रहर, मुसुर, मास, मुङ्गी, भटमास, सिमी, केराउ, बोडी, बकुला, चना, गहत, मस्याङ्ग, रहर आदि पर्दछन् । यी खाद्यवस्तुहरूबाट हामीले दैनिक आवश्यक पर्ने प्रोटिनका साथै आइरन र केही मात्रामा भिटामिन र खनिजतत्वहरू प्राप्त गर्न सक्दछ । 
 
३) हरिया, पहेंला तरकारी र फलफूलहरू :
यस समूहमा भिटामिन र खनिजयुक्त हरिया सागपात, पहेंला तरकारी र फलफूलहरू पर्दछन् । भिटामिन ए गाढा हरिया सागपात, पहेंला सागपात, पहेंला तरकारी र फलफूलमा पाइन्छ । जस्तैः लट्टे, वेथे, पालुङ्गो, मेथीको साग, मुलाको साग, कर्कलाको साग, काउलीको पात आदि पर्दछन् भने पहेंला तरकारीमा र फलफूलमा फर्सी, गाजर, गोलभेडा, आँप, मेवा आदि यस समूहमा पर्दछन् । त्यसैंगरी भिटामिन सि पाइने फलफूलमा सवभन्दा राम्रो अमला, अम्बा, कागती, सुन्तला जस्ता अन्य अमिला जातका फलफूलहरू पर्दछन् । 
 
अन्य फलफूल र तरकारीमा काउली, भण्टा, रामतोरिया, करेला, लौका, घिरौला, सिमी, प्याज आदि पनि भिटामिन र खनिजका राम्रा स्रोतहरू हुन् । 
 
जमिनमुनि फल्ने तरकारीमा आलु, पिंडालु, सखरखण्ड, तरुल, गिठा, भ्याकुरमा कार्बोहाइड्रेट प्रशस्त पाइने भएकाले यिनीहरू शक्तिका राम्रा स्रोतहरू हुन् । खाद्यान्नको अभाव भएको ठाउँमा यिनीहरू मुख्य खानको रुपमा प्रयोग गर्न सकिन्छ । 
 
४) प्राणीजन्य खाद्यबाट प्राप्त हुने खाद्यवस्तुहरू :
माछा, मासु, अण्डा, दहि, दुध र दुधबाट बनेका पदार्थहरू प्रोटिन र भिटामिन ए र खनिजपदार्थका राम्रा स्रोतहरू हुन् । मासुमा प्रोटिन र भिटामिन बी १२ प्रशस्त मात्रामा पाइन्छ । कलेजो र माछा भिटामिन ए र क्याल्सियमको राम्रो स्रोत हो । 
 
५) घ्यू, तेल तथा चिनी :
घ्यू, तेल शक्तिका उत्तम स्रोतहरू हुन् भने गुलिया वस्तुमा चिनी, सख्खर, मह तुरुन्त शक्ति प्रदान गर्ने राम्रा स्रोतहरू हुन् । यी खाद्य पदार्थहरूले हाम्रो शरीरलाई आवश्यक पर्ने शक्ति प्रदान गर्दछन् । यसका साथै घ्यू, तेल र तेलहन खाद्य पदार्थहरू जस्तै भटमास, बदाम, तिल, नरिवलबाट शरीरलाई आवश्यक पर्ने अत्यावश्यक फ्याट्टी एसिडहरू प्राप्त हुने गर्दछन् । 
 
असल खानपानका पाँच बुँदाहरू :
सन्तुलित भोजन प्राप्त गर्न असल खानपानका पाँच बुँदाहरूलाई पनि ध्यान दिनु अत्यावश्यक हुन्छ । 
१) अन्न र अन्नबाट बनेका खानेकुरा प्रशस्त मात्रामा खाऔं । 
२) दाल, गेडागुडी छाकै पिच्छे खाऔं ।
३) फलफूल र तरकारीहरू दिनपिच्छे खाऔं । 
४) माछा, मासु, अण्डा, नियमित रुपमा खाऔं । 
५) गुलियो, चिल्लो, पिरो ठिक्क मात्रामा खाऔं । 
 
माथि उल्लेखित पाँच खाद्य समूहहरूबाट असल खानपानका पाँच बुँदाहरूलाई समेटेर दैनिक भोजन सेवन गर्ने ग¥यौं भने हामीले सन्तुलित भोजन प्राप्त गरी कुपोषणबाट मुक्त हुन सकिन्छ ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution