प्रजनन तथा यौन स्वास्थ्य र किशोरकिशोरी

प्रजनन तथा यौन स्वास्थ्य र किशोरकिशोरी

किशोरावस्था बाल्यकालबाट वयस्क अवस्थामा प्रवेश गर्ने उमेर हो । यस उमेरमा किशोर–किशारीहरू शारीरिक रूपले वयस्क देखिएता पनि मानसिक र व्यावहारिक रूपमा बाल्य अवस्थाका गुणहरू बाँकी नै हुन्छन् । 
 
किशोरावस्थामा किशोर–किशोरीहरूमा शारीरिक, मानसिक, भावनात्मक तथा व्यावहारिक थुपै्र परिवर्तनहरू आउँछन् । 
 
हलक्क बढनु, जुँगाको रेखी देखिनु, स्वर धोक्रो हुनु, छाती चौडा हुनु, स्वप्नदोष शुरू हुनु, हस्तमैथुन गर्न थाल्नु केटाहरूमा देखिने मुख्य परिवर्तनहरू हुन् । 
 
त्यसरी नै शरीरका साथसाथै स्तन पनि बढ्दै जानु, महीनावारी हुनु, स्वर सुरिलो हुनु केटीहरूमा देखिने परिवर्तनहरू हुन् । 
 
एक्लै बस्न मनलाग्नु, बढी रीस उठ्नु, साथीहरू बनाउनु, साथीहरूसँग धेरै उठबस गर्न मन पराउनु जस्ता भावनात्मक र व्यावहारिक परिवतर्नहरू यसै उमेरमा देखिन्छन् । किशोरावस्थामै यौवनको पनि शुरूआत हुन्छ । किशोर–किशोरीहरूका लागि यो अवस्था जीवनको अति संवेदनशील र तनावयुक्त हुने गर्दछ । 
 
यसैबेला केटा तथा केटीहरूमा यौन अंगको विकासक्रम शुरू हुने भएकाले विपरीत लिङ्गीप्रति आकर्षण बढ्न थाल्छ । उमेरले ल्याएका यस्ता यौनिक लक्षणहरूका बारेमा समयमा बुझ्न र बुझाउन सकिएन भने यसले पछि गएर किशोर–किशोरीमा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
 
किशोरावस्थामा यौन तथा प्रजननसँग जोडिएका विषयमा जिज्ञासाहरूको शुरूआत हुने हुनाले स्कूलको पाठ्यक्रममा यस विषयलाई पढाइन्छ । स्कूलको पाठ्यसामग्रीबाट सामान्य जानकारी किशोर–किशोरीहरूले पाइरहेका छन् । यसका साथै, अन्य स्रोतबाट पनि किशोर–किशोरीहरूलाई यस विषयमा सूचना उपलब्ध गराउने उद्देश्यले किशोर–किशोरीहरूको सशक्तीकरण र विकासमा काम गर्ने गैरसरकारी संस्थाहरूले विभिन्न खालका जानकारीमूलक सामग्रीहरू प्रकाशित गर्ने गरेका छन् ।
 
ललितपुरकी १४ वर्षीया रक्षा महर्जन कक्षा सातमा पढ्छिन् । स्कूल गएकी छोरी रातीसम्म घर नआएपछि रक्षाका आमाबुवा चिन्तामा परे । साथीहरूलाई सोधपुछ गर्दा सँगै पढ्ने केटा साथी मोहनसँग बसमा चढेकोसम्म जानकारी प्राप्त भयो । त्यसपछि रक्षाका बुवा र दाजु मोहनको घरमा पुगे । मोहन पनि स्कूलबाट घर नफर्र्किएको थाहा भयो ।  त्यसपछि सबैले यही अनुमान लगाए, रक्षा र मोहनसँगै घरबाट भागेका हुनसक्छन् । तुरन्त प्रहरीलाई सूचित गरियो । नयाँ बसपार्कमा दुवैलाई प्रहरीले भेट्टाएर परिवारको जिम्मा लगायो ।  सँगै पढ्ने १४ वर्षीय मोहन नकर्मी र रक्षा महर्जन विवाह गर्न भनेर घरबाट भागेका रहेछन् । यो घटना भएको केही समयपछि यस पुस्तककी लेखिकाले रक्षासँग भेटेर कुराकानी गरेकी थिइन् । 
 
यस विषयमा रक्षाको भनाई यस्तो थियो, “म मोहनसँग प्रेम गर्छु, मोहन पनि मसँग प्रेम गर्छ, हामीले विवाह गर्न र सँगै बस्न किन नहुने ?” मोहन र रक्षालार्ई कानूनले पनि १४ वर्षको उमेरमा विवाह गर्ने अनुमति दिँदैन भन्ने कुराको जानकारी थिएन । अहिले उनीहरू दुवै आआफ्नो घरमा बसेर स्कूल पढ्दैछन् ।
 
किशोरावस्थाको विषयमा कक्षा ६ देखि स्कूलका पाठ्यपुस्तकमा जानकारी दिइएको छ । स्कूलको पाठ्य पुस्तकमा लेखिएका कुरालाई परीक्षा पास गर्ने उद्देश्यले मात्र पढ्ने बानी परेका किशोर–किशोरीहरू किशोरावस्थामा हुने शारीरिक, मानसिक तथा भावनात्मक परिवर्तन र चाहनालाई बुझ्न र झेल्न जानिसकेका हुँदैनन् । जसरी रक्षा र मोहनले एकअर्काप्रति उत्पन्न भएको आकर्षणको कारणलाई बुझ्न नसकेर १४ वर्षको कलिलै उमेरमा विवाह गरेर सँगै बस्छौँ भनी घरबाट भाग्ने गल्ती गरे । रक्षा र मोहनले जस्तो गल्ती गरे प्रत्येक किशोर–किशोरीहरूले आफ्नो शरीरमा अनौठो अनुभव हुन थाल्यो वा कसैसँग प्रेम भएको जस्तो लाग्यो भने, आफूलाई यस्तो किन भएको होला भनेर अप्ठ्यारो नमानी, जोसँग कुरा गर्न सजिलो जस्तो लाग्छ, उनीसँग आफ्नो समस्या बताउनुपर्छ । यसैले हरेक किशोर–किशोरीहरूले आफ्नो उमेर समूहका विषयमा धेरै जानकारी राख्ने प्रयास गर्नुपर्छ । 
 
पूर्ण किशोरावस्थामा केटीहरू १६ वर्षदेखि प्रवेश गरिसकेका हुन्छन् भने केटाहरू १७ वर्षदेखि पूर्ण किशोरावस्थामा प्रवेश गर्छन् । यस उमेरमा शरीरको विकास छिटोछिटो हुन्छ । यो उमेरका केटाकेटीहरू आफ्नो शारीरिक बनोट, उचाई, कपाल, अनुहारको रंग (कालो÷गोरो) प्रति धेरै ध्यान दिने र चिन्ता गर्छन् ।
१. आफ्नो छुट्टै परिचय बनाउँछु भन्ने भावना पैदा हुनथाल्छ ।
२. विपरीत लिङ्गीका साथीसँग मेलजोल बढाउने चाहना बढ्छ ।
३. घर–परिवारसँग भन्दा एक्लै र एकान्तमा बस्न इच्छा लाग्छ । 
४. यस उमेरमा केटाकेटीहरूले आफू ठूलो भैसकेको अनुभव गर्दछन् । लामो समय विद्यालय र साथीहरूसँग बिताउने हुनाले उनीहरूमा साथीहरूको व्यवहार र गतिविधिको प्रभाव धेरै परिरहेको हुन्छ । घरमा स्वतन्त्रता खोज्न थाल्छन् । पढाईको दबाव पनि उनीहरूलाई धेरै हुन्छ । पढाई र स्वतन्त्रताको विषयमा अभिभावकहरूसँग झर्कने, रिसाउने र विवादहरू गर्न थाल्छन् । त्यसले बेलाबेलामा घरमा तनाव पनि हुनेगर्छ । 
५. १९ वर्षपछि केटा र केटी दुवैले शारीरिक, मानसिक तथा व्यावहारिक रूपले पूर्ण परिपक्वता प्राप्त गरिसकेका हुन्छन् । त्यसैले २० वर्षदेखि माथिका केटाकेटीलाई वयस्क मानिन्छ । वयस्क अवस्थाका युवायुवतीहरू सुरक्षित यौनजीवन, वैवाहिक जीवनमा प्रवेश गर्न र सुखमय दाम्पत्य जीवन बिताउन सक्षम हुन्छन् ।
 
एउटा घट्ना
बैतडीकी मीना भर्खर १९ वर्ष पुगेकी छन् । उनको बिहे भएको चार वर्ष भइसक्यो । पन्ध्र वर्षको उमेरमा विवाह भएकी मीनाले सोर्‍ह वर्षको उमेरमा छोरी पाइन् । सुत्केरी अवस्थामा उनको राम्रो स्याहार परिवारबाट हुन सकेन । उनले सुत्केरी चोखिएको भोलिपल्टदेखि घरको सबै काम गर्नु परेको थियो । भारी बोक्ने काम बढी गर्नु परेकाले उनको पाठेघर बाहिर निस्किएछ । तर उनले लाजले गर्दा यो कुरा आफ्नो लोग्नेलाई पनि भन्न सकिनन् । लोग्नेसँग यौन सम्पर्क हुँदा मीना सधैँ तनावमा हुन्थिन् । फेरि गर्भ रहन गयो भने के गर्ने भन्ने चिन्ताले पिरोलिई रहन्थिन् । यसरी सोच्दासोच्दै उनकी छोरी वर्षदिनकी मात्र पुगेकी थिइन्, उनी पुनः गर्भवती भइन् । उनी डराएर डाक्टरलाई देखाउन पुगिन् । डाक्टरले उनको शरीर तत्काल अर्को बच्चा जन्मदिन नसक्ने अवस्थामा रहेको जानकारी दिए ।
 
यसरी मीनाको समस्याले के देखाएको छ भने पहिलो बच्चालाई जन्म दिन नै उनको किशोर शरीर पूर्णरूपमा तयार भइसकेको थिएन । तर पनि उनले बच्चालाई जन्म दिनु पर्‍यो । बच्चा भइसकेपछि उनले सुत्केरीमा राम्रो स्याहार पाएकी र चाँडै नै भारी बोक्ने कार्य गर्न नपरेको भए शायद उनको पाठेघर बाहिर आउने थिएन । मीनामा आत्मविश्वास भएको भए उनले आफ्नो समस्या कम्तीमा लोग्नेलाई भन्नसक्ने थिइन् । उनले त्यो पनि गर्न सकिनन् र तनावपूर्ण अवस्थामा श्रीमान्को यौन आवश्यकतालाई कष्टपूर्वक झेलिरहिन् । मीनाको अवस्था भनेको प्रजनन तथा यौन स्वास्थ्य अस्वस्थ रहेको अवस्था हो ।
 
किशोर–किशोरीहरूले जान्नैपर्ने कुरा त यौन तथा प्रजनन स्वास्थ्यका बारेमा नै हो । 
 
अहिले संसारभरि नै किशोर–किशोरीहरूलाई यस विषयमा बुझाउन विभिन्न खालका कार्यक्रमहरू भइराखेका छन् । किनभने किशोर उमेरमा उनीहरूमा धेरै परिवर्तनहरू आइरहेका हुन्छन् । त्यसैले समयमै किशोर–किशोरीले आप्mनो शारीरिक परिवर्तन, महीनावारी,  प्रजनन प्रणाली, गर्भधारण तथा यौन रोगहरूको बारेमा थाहा पाउन् भनेर कक्षा आठदेखि नै विद्यालयको पाठ्यक्रममा यी विषयहरू राखिएका छन् । थोरै मात्र भए पनि पाठ्यक्रममा राखिएका यिनै संक्षिप्त जानकारीबाट किशोर–किशोरीहरूले यौनको वरिपरि रहेका विभिन्न विषयहरूमा केही जान्ने अवसर पाएका छन् । त्यसैले पनि उनीहरूलाई व्यावहारिक जीवनमा निकै सघाउ पुर्‍याएको छ ।
 
महीनावारीबारे ज्ञान
महीनावारीबारे बेलैमा राम्रो जानकारी नहुँदा थुप्रै किशोरीहरू सार्‍है चिन्तित बन्न पुग्छन् । उनीहरू ठान्छन्, महीनावारी अप्रिय र गम्भीर कुरा हो । यसरी महीनावारीप्रति उनीहरूमा नकारात्मक दृष्टिकोण विकास हुन्छ । उनीहरू महीनावारीबाट असहज अनुभव गर्न थाल्छन् र यसलाई कुनै रोगजस्तै ठान्न थाल्छन् । 
 
महीनावारीप्रति किशोरावस्थामा बनेको नकारात्मक दृष्टिकोण जीवनमा पछिसम्म पनि रहिरहन सक्छ । यसैले महीनावारीलाई सहज, स्वाभाविक वा प्राकृतिक प्रक्रियाको रूपमा लिनका लागि किशोरीहरूलाई यसबारे सही जानकारी हुनु आवश्यक छ । किशोरीहरूले महीनावारीबारे आवश्यक जानकारी लिने सबैभन्दा नजीकको भरपर्दो व्यक्ति आमा, दिदी, फुपू, काकी, हजुरआमाहरू हुन् । अहिले पनि गाउँघरका आमाहरू खुलेर आप्mना छोरीसँग महीनावारीका विषयमा कुरा गर्दैनन् । तर शहरका पढेलेखेका आमाहरू आप्mना छोरीलाई महीनावारीबारे जानकारी दिन थालेका छन् । 
 
महीनावारी हुँदा बार्ने चलन नेपालका सबै भेगमा पाइन्छ । विशेषगरी बाहुन, क्षत्री तथा दलित जातिमा यो चलन रहेको छ । धेरै किशोरीहरूले महीनावारी हुँदा बार्ने चलनलाई मन पराउँदैनन् । तर पुरानो परम्परालाई मान्दैनौँ भन्ने साहस पनि उनीहरूमा नरहेको विभिन्न अध्ययनको क्रममा किशोरीहरूले बताउने गरेका छन् ।मासिक रक्तस्राव एकदमै भारी मात्रामा भएको छैन भने महीनावारी भएकी महिलाले जुनसुकै गतिविधिमा पनि भाग लिन सक्छिन् र इच्छाएको कुरा खान सक्छिन् । महीनावारी हुनु एउटा एकदमै प्राकृतिक कुरा हो ।
 
तल्लो पेटमा पीडा
आशा महीनावारी हुने बेला नजीक आएपछि दिक्क मान्थिन्, किनकि उनलाई तल्लो पेटमा अत्यन्त पीडा हुन्थ्यो । उनको पीडा कम गर्न उनकी दिदीले उनलाई दुखाई कम गर्ने पेनकिलर दिन्थिन्, तर आशाको दुखाई अलिकति पनि कम हुँदैनथ्यो । एकदिन महीनावारी हुँदा पेटको दुखाई सहन नसकेर छटपटिएकी आशालाई देखेपछि उनकी दिदीले उनलाई एक स्त्रीरोग डाक्टरकहाँ लगिन् ।  केही पनि समस्या नदेखेपछि डाक्टरले आशालाई महीनावारी हुँदा दुखाई कम हुने दवाई लेखिदिए । डाक्टरले लेखेको दवाई खाएपछि आशाको पेटको दुखाई कम भयो । आजकाल आशा हरेक महीना महीनावारी हुँदा डाक्टरले लेखिदिएको उक्त दवाई नै खाने गर्छिन् । र, उनी आजकाल महीनावारी हुने समय आउँदा दिक्क मान्दिनन् ।
 
कतिपय महिलाहरूलाई भारी रक्तस्राव भएर रक्तअल्पता हुनसक्छ । रक्तअल्पता महीनावारीको अनियमिततासँग मात्र जोडिएको छैन, यसले अरू शारीरिक समस्याहरू समेत पैदा गर्छ । यसैले रक्तअल्पताको उपचार आवश्यक हुनजान्छ । रक्तअल्पता कम गर्न फलामको भाँडामा पकाएको खाना र हरिया सागसब्जी र फलफूल खानुपर्छ । साथै प्रोटिन पाइने दूध–दही, विभिन्न दाल, गेडागुडी प्रशस्त मात्रामा खानुपर्छ ।
 
बाजुराको मातडीमा एउटी किशोरी छाउपडिमा बसेकी तर उनको हातमा मोबाइल थियो । गजबको दृश्य १६ औ सताब्दीका छाउपडि र मोबाइलसँग । “यसरी छाउपडीमा बस्दा किशोरीहरूको प्रजनन स्वास्थ्यमा धेरै समस्या भएको त छ नै । तर प्रजनन स्वास्थ्यका अझ धेरै समस्याहरू त लुकेर बसेका छन् ।” बारम्बार गाउँ घरमा स्वास्थ्य कार्यकर्ताले भनेको सुनियो ।  एकातिर सरकारले बालविवाह रोक्न कोशिश गरिहेको नियम कानून बनेका पनि छन् । तर धेरै किशोर किशोरीहरू सानो उमेरमा विवाह गर्ने प्रचलन छ ।
 
“अझ मोबाइलले गर्दा हो कि क्या हो, भेटेघाट गर्ने, मायाप्रिति गर्ने र छिटै विवाह गर्न भागिहाल्ने चलन छ ।” “१३–१४ वर्षका स्कूलका केटाकेटीहरूले अहिले जुन प्रकारले यौन सम्पर्क राखिरहेका रहेछन् र त्यसको विषयमा कतै केही छलफल भएको छैन । यो मोबाइलले गर्दा त धेरै केटाकेटिहरू विग्रीएका छन् ।” सिन्धुपाल्चोकमा केही महिलाहरूले भनेको सुनें । 
 
पहिले पहिले केटीहरू पढ्दा चिठी लेख्न जानेर भाग्ने गर्थे भन्ने चलन थियो । अहिलेचाहीँ मोबाइलको प्रयोगले पढाई छोडेर भाग्ने चलन आएको छ भन्ने भ्रम मानिसहरूलाई परेको छ । पढाई र मोबाइलको उचित सदुपयोग गर्ने हो भने गाउँका किशोरीहरूको प्रजनन स्वास्थ्य त राम्रो पो पार्न सकिन्छ ।
 
किशोर किशोरीको परिवर्तन हुँदै गइरहेको शरीरसँगै, उनीहरूको परिवर्तित मनको बारेमा बुझ्न जरुरी छ । किशोरी किशोरीहरूको यही भावना र संवेदनालाई बुझेर परामर्श गर्न नसक्दा नै हामीहरू “मोबाइलले विग्रेका छन् किशोर किशारीहरू” भन्छौं । 
 
“अहिले त गर्मपतनको सुविधा उपलब्ध भएको हुनाले किशोरीहरूको गर्भपतन गर्ने त तराईमा पनि बढेको छ भन्ने सुनिन्छ ।” नवलपरासीमा जाँदा त्यहाँका अ.न.मी.ले भनिन् “एक १५ वर्षिय किशोरी सुरक्षित गर्भपतनको सुविधा लिन आएकी थिइन । यति सानो उमेरमा कसरी यौन सम्पर्क भएको ? यसले त स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ भनेर सम्झाएँ ।’ यसरी सम्झाउँदा ती किशोरीले यौन सम्पर्क गर्नु नगर्नु मेरो अधिकार हो । तपाईंलाई के चासो ? भनेर हप्काएको अनुभव अनमीको छ । 
 
नवलपरासीमा कार्यरत एक जना स्वास्थ्यकर्मीले भने “कति किशोरीहरूले नेपालमा गर्भपतन गराउँदा अरुले थाहा पाउलान् भनेर पारीपट्टि ठुटीबारीमा गएर गर्भपतन गराउँछन् । त्यहाँ  कति क्लिनिकमा त महिलाहरूको चित्कार पनि सुन्न सकिन्छ ।” 
 
प्रजनन स्वास्थ्यको बारेमा छलफल गर्ने कममा बाजुरा, सिन्धुपाल्चोक, अछाम जस्ता ठाउँमा पुग्दा र त्यहाँका शिक्षक, स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ताहरूसँग छलफल गर्दा के देखिन्छ भने प्रजनन स्वास्थ्य र यौन स्वास्थ्य भन्ने विषय केवल परिवार नियोजनको घेरभित्र मात्र सिमित रहेको छ । यौन स्वास्थ्यको बारेमा छलफल गर्दा केवल यौन सम्बन्धलाई मात्र ध्यानमा राखेर छलफल गरिन्छ ।  यौन स्वास्थ्य र प्रजनन स्वास्थ्यलाई सम्पूर्ण स्वास्थ्यसँग जोडेर हेर्ने काम हामीजस्ता धेरै स्वास्थ्यकर्मिहरूले गर्न सकेका छैनौ । 
 
यसैले गर्दा किशोर किशोरीहरूलाई यौन स्वास्थ्य, यौन सम्बन्ध आदिको गहिराई बुझाउन सकिएको छैन । किशोर किशोरीहरू अहिले एकछिनको प्रेममा लुटपुटिएर “गहिरो प्रेम भएको छ” भनेर विवाह गर्न तयार हुन्छन् । १५ वर्षकी किशोरी गर्भवती हुन्छिन् । अनि कि त उनी आमा बन्न विवश हुन्छिन । कि त गर्भपतन गराउन चाहन्छिन् । 
 
सामाजिक अपहेलनाको शिकार बन्ने त किशोरी र युवती नै हुन्छिन् । यसैले गर्दा कति किशोरीहरू आत्महत्या पनि गर्छन् ।  किशोरहरूको प्रेमको बुझाई केवल “यौन सम्बन्ध र शारीरिक सम्पर्क” वरिपरि मात्र घुमेको हुन्छ । यौनको जीवनमा शारीरिक र मानसिक स्वास्थ्यमा कति महत्व छ भन्ने कुरा पनि उनीहरूको बुझाईबाट पर छ । 
 
जो किशोर किशोरी स्कूल जान्छन । उनीहरू स्कूलका शिक्षक शिक्षिकाले प्रजनन स्वास्थ्यको बारेमा केही पनि पढाउँदैन । जब प्रजनन स्वास्थ्यको पाठ आउँछ “घरबाट आफैं पढेर आउनु र नबुझेको कुरा सोध्नु भनिन्छ । 
 
अहिलेको किशोर किशोरीलाई अधिकारको बारेमा मनग्यै जानकारी छ । तर त्योसँगै जिम्मेवारी के हो भन्ने कुरा थाहा पाउँदैनन् । यसवारेमा न विद्यालय सिकाइन्छ, न घरमा बुझाउने वातावरण बन्छ । किशोरावस्था शुरू भएपछि शरीरमा विशेष किसिमको स्राव (हर्मोन)हरू बन्न थाल्छन् । यिनकै कारण यौनसम्बन्धी भावनाहरू बढ्न जान्छन् । यौनसाथीको खोजी हुनथाल्छ । प्रेम गर्ने इच्छा पैदा हुन्छ । कतिपय अवस्थामा यस उमेरमा जागेको प्रेम स्थायी हुँदैन । उमेर बढ्दै गएपछि मनपर्ने कुराहरू पनि बदलिँदै जान्छन् । यस कुराको जानकारी हुनुलाई यौन चेतना भएको मानिन्छ ।
 
यौन के हो ? आफ्नो यौन झुकाव कस्तो छ ? कुन व्यक्तिले वा कस्तो कुराहरूले आफूलाई यौनिक अनुभूति दिन्छन् ? के कुरा आफूलाई मनपर्छ ? के कुरा मनपर्दैन ? यी सबै कुराहरू यौन चेतनाभित्र पर्छन् । कुनै व्यक्तिप्रति आफ्नो आकर्षण रहेको छ र त्यस आकर्षणभित्र यौन सम्बन्ध राख्ने इच्छा पनि छ भन्ने अनुभूति हुन्छ भने आफूसँग यौन चेतना रहेछ भनेर बुझ्नु पर्छ ।
 
यौन चेतना भनेको एउटा अत्यन्त सूक्ष्म, कोमल र संवेनशील विषय हो । किशोर–किशोरीको भावनात्मक विकास अति छिटोछिटो हुने भएकाले यी सबै अनुभूतिहरूका बीचको फरक उनीहरूलाई बुझ्न अप्ठ्यारो हुन्छ । कुन व्यक्तिले कस्तो रूपमा आफूलाई आकर्षित गरेको छ र त्यस आकर्षणबाट आफूलाई के कुराको चाहना छ भन्ने कुरालाई किशोर–किशोरीले ठम्याउन सक्नुपर्छ ।
 
यौन स्वास्थ्य भनेको के हो ? 
यौन स्वास्थ्यसम्बन्धी परिभाषाले के भन्छ भने यौन स्वास्थ्य भनेको शारीरिक र भावनात्मकरूपले व्यक्तिको स्वास्थ्य राम्रो रहनुको त्यस्तो अवस्थाको सूचक हो जुन अवस्थामा व्यक्ति आफ्नो यौन भावना र यौनकार्यबाट आनन्द र सुखको अनुभूति गर्छ । 
 
यौन स्वास्थ्यसम्बन्धी समस्याका विषयमा चर्चा गर्दा धेरैजसो यसलाई विवाहपछि लोग्ने र स्वास्नीको बीचमा यौनकार्य शुरू भएपछि आएका समस्यालाई लिने गरिएको पाइन्छ ।  यौन स्वास्थ्यसम्बन्धी समस्या विवाह हुनुअघि पनि हुन्छ । त्यसैले विवाह अघि र विवाहपछिको यौन स्वास्थ्यलाई छुट्याएर पनि हेर्न सकिन्छ । यसबाट कुरा बुझ्न सजिलो हुन्छ ।
 
यौन भावना र चाहनाको समाधान :
किशोरावस्थामा यौन भावना र चाहनाहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरालाई बुझिराखेको खण्डमा सबै खालका अप्ठ्यारा, विचलन र तनावहरूबाट आफूलाई जोगाउन सकिन्छ । यो कुरा सूचना र ज्ञानबाट नै आउँछ । तल केही जानकारीहरू दिइएका छन् ।
 
किशोर–किशोरी एकअर्काप्रति आकर्षित हुनु उनीहरूको स्वस्थ विकासक्रमको एक प्राकृतिक प्रक्रिया हो । यस उमेरमा यस्ता आकर्षणहरू भइरहन्छन् । यस्तो आकर्षणलाई प्रेम ठानेर त्यसमा मात्र एकहोरो भएर बस्नु हुँदैन । त्यसले पढाई वा काममा नराम्रो असर पार्छ । त्यस आकर्षणले आफूलाई निकै विचलित पारेको छ भने मिल्नेसाथी, जोसँग आफू आकर्षित भएको हो उसँग वा अभिभावकहरूसँग सल्लाह लिएर त्यसको समाधान खोज्नुपर्छ । 
 
शहर होस् वा गाउँ केटा–केटीहरू रमाइलोको लागि घुम्न जाने गरेको पाइन्छ । यस्तो बेलामा कहिलेकाहीँ खेलखेलमा नै उब्जिएको यौन चाहनाले यौन सम्पर्क राख्ने इच्छा आउने सम्भावना रहन्छ । तर महीनावारी भइसकेपछि किशोरीहरूमा यौन सम्पर्कपछि गर्भ रहने सम्भावना बढी रहन्छ । त्यसले किशोरीहरू यस्तो कुरामा विशेष सतर्क हुनु जरुरी छ । 
 
(डा. उप्रेती ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) की संस्थापक अध्यक्ष हुन् )

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution