भलाकुसारी : केही स्मरण

भलाकुसारी : केही स्मरण

भलाकुसारीको १५० औँ अंकमा यी हरफहरू लेखिरहँदा यो पत्रिकासँग जोडिएका सुख दुखका थुप्रै स्मरणहरू ताजा भएर आउँछन् । २७ वर्षअघि अर्थात शुरुका दिनहरूमा भलाकुसारीको प्रकाशन त्यति बेलाको आवश्यकताको सम्वोधन गर्ने कष्टपूर्ण संघर्ष थियो । 

त्यसबेला अहिलेको जस्तो पढ्नका लागि हात हातै विद्युतीय समाचार उपलब्ध थिएन । स्वास्थ्यसँग सम्बन्धित पढ्ने सामग्रीहरू बिरलै मात्र उपलव्ध हुन्थ्यो । उतिबेला विज्ञहरूबाट लेख संकलन गर्नु, ती लेखहरूको प्राविधिक मर्म (medical sense) जोगाउँदै सरल भाषामा पुनर्लेखन गर्नु, त्यसलाई आवश्यकता अनुसार चित्रहरूबाट अभिव्यक्त गरी पूर्ण सामग्री तयार गर्नु आफैमा पटक्कै सजिलो थिएन । अत्यन्त मेहनत र सामुहिक कार्यबाट सामग्री तयार भइ सकेपछि छापाखानाका साथीहरूलाई विशेष अनुरोेध गरेर पत्रिका छाप्नु अर्को गाह्रो खुड्किलो थियो । प्रकाशन भइसकेपछि पत्रिका देशको कुनाकाप्चामा पुर्‍याउनु पर्ने अर्को दायित्व थपिन्थ्यो ।

धेरै पहाडी दुर्गम जिल्लाहरूमा यातायातको सुविधा थिएन । भलाकुसारी जिल्ला स्वास्थ्य कार्यालयसम्म जेनतेन पुर्‍याएपछि पनि लक्षित पाठकहरू, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरू र गैर सरकारी संस्थामा कार्यरत अन्य स्वास्थ्य तथा विकासकर्मीहरूसम्म पुग्न अरु केही हप्ताहरू पर्खनुपथ्र्यो । ती कठीन दिनहरूमा भलाकुसारीलाई दुर्गम भेगहरूमा पाठकहरूको हातसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने लेखकहरू, चित्रकारहरू, छापाखानाका साथीहरू, हुलाक सेवा, स्वास्थ्य सेवा विभाग, जिल्ला स्वास्थ्य कार्यालय, गैर सरकारी संस्थाहरू तथा अन्य व्यक्ति र संस्थाहरू प्रति हामी चिरकालसम्म आभारी हुनेछौं । 

समयको गति सँगसँगै आज यो कोशे ढुंगासम्म आइपुग्दा भलाकुसारी प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको पर्याय नै बनेको छ र यो प्रकाशन स्रोत केन्द्रको पहिचान भएको छ । यो २५ वर्षको अवधिमा भलाकुसारीको यात्रामा पटक पटक अप्ठेरा क्षणहरू आए तापनि भलाकुसारीको यात्रा भने रोकिएन । यो निरन्तर हिँडिरह्यो । 

भलाकुसारीको यो यात्राले आजसम्म निरन्तरता पाउनुको पछाडि एउटा तथ्य के गाँसिएको छ भने भलाकुसारी यो २७ वर्षमा कहिल्यै पनि कुनै आवधिक प्रोजेक्टसँग जोडिएन । यो प्रकाशन प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको कुनै पनि दातृ निकायको  आर्थिक सहयोगद्वारा संचालित कार्यक्रमसँग आश्रित भएन । भलाकुसारी सधैँभरी प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको उद्देश्य, प्रतिवद्धता र लगनशीलतासँग नै जोडिएको हुनाले यो संस्थासँगै जीवित रहन सकेको हो । 

शुरुका वर्षहरूमा कुनै स्वास्थ्य समस्यालाई प्राविधिक रुपबाट व्याख्या गरेर त्यसलाई स्वास्थ्य प्रविधिबाट समाधान गर्न प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने तहका स्वास्थ्यकर्मीहरूको ज्ञान र सीप अभिवृद्धि गर्नमा भलाकुसारी बढी केन्द्रित भएको थियो । 

समय बित्दै जाँदा भलाकुसारीले स्वास्थ्यका समस्या र त्यसको समाधानलाई समुदायको सामाजिक र आर्थिक स्थितिसँगको अन्तरसम्बन्धलाई पनि व्याख्या गर्न थालेपछि उक्त प्रकाशनप्रति आम उपभोक्ताहरूको चासो पनि बढ्दै गयो । यसरी कालान्तरमा भलाकुसारी स्वास्थ्यलाई नागरिकको नैसर्गिक हकको रुपमा स्थापित गर्न पैरवी गर्ने प्रकाशनको रुपमा पनि परिचित हुन पुग्यो । यही सन्दर्भलाई हेर्दा आज स्वास्थ्यसँग सम्बन्धित प्रकाशनहरूको संख्या जुन तहमा बृद्घि भए तापनि भलाकुसारीको सान्दर्भिकता झनै बढेको छ किनभने यो शताब्दीमा चुलिँदै गएको विश्व खुला बजारले आम गरीब जनताको स्वास्थ्य सरोकार र मुद्दालाई किनारा लगाउँदै गएपछि विश्वव्यापी रुपमा स्थापित भएको नागरिकको स्वास्थ्य हकको आवाजलाई अझै चर्कोसँग उठाउन आवश्यक भएको छ । सञ्चार माध्यम लगायत सबै मञ्चहरूबाट यो आवाजलाई उठाउनुपर्ने संघर्षमा भलाकुसारी एउटा बलियो सहयात्री बन्न सक्दछ । 

सन् १९७८ मा जारी गरिएको आल्मा आटाको घोषणा पत्रदेखि आजसम्म निरन्तर रुपमा स्वास्थ्यमा सामाजिक न्याय र समानताको लागि विश्वव्यापी स्तरमा आवाज उठीरहँदा पनि हामी स्वास्थ्य असमानताको फराकिलो खाडीमा नै छटपटाइ रहेका छौँ । 

आज भइरहेको पुँजीको असिमिति बृद्घि र त्यसको असमान वितरणले वर्तमान विश्वलाई मानव सभ्यताको विकासको इतिहासमै शायद सबैभन्दा विभेदकारी बनाएको छ । विश्व सम्पदा अत्यन्तै सिमित धनाढ्यहरूको हातमा खुम्चिन पुग्दा विश्वका आम गरीब जनताहरू अत्यावश्यक मानव सेवाहरूबाट वञ्चित भइरहेका छन् । स्वास्थ्य सेवा त्यही असमानताको एउटा अङ्ग बनेको छ । यो असमानता विश्वव्यापी रुपमा धनी र गरीब देशहरूमा मात्रै होइन एउटै देशभित्र पनि हुने र नहुने नागरिकहरूको बिचमा उस्तै छ । सतहबाट हेर्दा विश्वका सबै देशहरूमा स्वास्थ्यका सूचकांकहरूमा प्रगति भइरहको देखिन्छ । 

तर राष्ट्रिय स्तरमा भएको स्वास्थ्य सूचाङ्कको सरदर प्रगतिले यो असमानतालाई छोपेको मात्र हो । नेपालमा विगत केही दशकदेखि भएको स्वास्थ्य सूचकांकको प्रगतिलाई विश्लेषण गर्ने हो भने पनि यो तथ्य स्पष्ट हुन्छ । जस्तै नेपालमा बाल मृत्यु, शिशु मृत्यु र मातृ मृत्यु दरमा भएको उल्लेखनीय प्रगतिको विश्वव्यापी रुपमै सराहना गरिएको छ । यस प्रगतिमा हामीले खुसी त मान्नु पर्छ नै, तर यो औषत प्रगतिले छोपेको विभेद र असमानताप्रति भने हामी सचेत र संवेदनशील हुनैपर्दछ । यी सूचकांकहरूमा नेपालको भौगोलिक रुपमा, जातीय रुपमा, शहर गाउँ बिचमा र धनी तथा गरीबहरूको बिचमा जुन हदमा असमानता छ, त्यसबाट हामीलाई संकोच लाग्नुपर्छ । विद्यमान यो विभेद हामीलाई सह्य हुनुहुँदैन । स्वास्थ्यमा सामाजिक न्याय र समानताको आवाज उठाउने हाम्रो लागि यो अवस्था अस्वीकार्य हुनुपर्दछ । यसो भनिरहँदा यो बुझ्नु जरुरी छ कि यो अभिव्यक्ति प्रगतिको विरोधको होइन, मात्र विभेदको विरुद्घको आवाज हो ।

वर्तमान विश्वमा स्वास्थ्य विज्ञान र प्रविधिले आज धेरै रोगहरूलाई पराजित गरिसकेको छ । त्यसैले केही दशक अघिसम्म घातक भनिएका अधिकाशं रोगहरूले अब मानिसको ज्यान लिन सक्दैन । विज्ञान र प्रविधि हुँदाहुँदै पनि नागरिक जुन परिवेशमा जन्मिन्छ, हुर्किन्छ र जीवन यापन गर्दछ, जुन सामाजिक, आर्थिक तथा राजनैतिक परिवेश र प्रणालीले जनताको कुनै तप्कालाई विज्ञान र प्रविधिको उपलब्धीको पहुँचबाट वञ्चित गराउँछ, त्यही परिवेशले नै मानिसलाई रोगबाट मृत्युवरण गराउँछ । त्यसैले हाम्रो संघर्ष रोगको विरुद्व होइन, त्यो परिवेश र प्रणाली विरुद्व हो जसले असमानता र विभेदको सिर्जना गर्दछ र रोगलाई पराजित गर्न सक्ने विज्ञान र प्रविधिबाट वञ्चित गराउँदछ । 

भलाकुसारी आउँदा दिनहरूमा यही संघर्षको आवाजको वाहक बन्नसक्नु पर्दछ । यो भूमिका नै स्वास्थ्यलाई नागरिकको हकको रुपमा स्थापित गराउने वृहत उद्देश्य प्राप्तिका लागि भलाकुसारीको सार्थक र अर्थपूर्ण योगदान हुनेछ ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution