कोलेस्टेरोल

हाल कोलेस्टेरोल अर्थात् नराम्रो खालको बोसोको बारेमा धेरै सुन्न र पढ्न पाइन्छ । रगतमा कोलेस्टेरोल बढेपछि मुटुको धेरै समस्या हुन्छ । कोलेस्टेरोल भनेको एक प्रकारको चिल्लो पदार्थ हो, जुन शरीरमा बगिरहन्छ । जब यो बढी हुन्छ हाम्रो नसा र विशेष गरी मुटुको धमनीमा टाँसिन्छ । अनि मानिसलाई सास फेर्न गाह्रो हुने, मुटु दुख्ने हुन्छ । तर कोलेस्टेरोल भन्दैमा मात्रै सबै नराम्रो नै चाहिँ हुँदैन । कोलेस्टेरोलले शरीरका विभिन्न प्रकृयाहरूलाई सुचारुरुपले चलाउन मद्दत पनि गर्छ । 

विभिन्न किसिमका कोलेस्टेरोलको नाम र प्रकार छुट्याउन अभिव्यक्तिलाई गाह्रो पर्छ । तर त्यसका केही तथ्यहरूले यसको बनोटबारे तपाईंलाई केही कुरा स्पष्ट गर्न मद्दत गर्छ । खानेकुरामा पाइने कोलेस्टेरोल एक प्रकारको हुन्छ । यो विशेषगरी मासंहारी भोजनबाट प्राप्त हुन्छ, जस्तै ः एउटा अण्डामा २७५ मिलिग्राम कोलेस्टेरोल हुन्छ तर स्याउमा शुन्य हुन्छ । अमेरिकन मुटुरोग संस्थाले शरीरमा ३०० मि.लि. सम्म कोलेस्टेरोल भए ठीक हुन्छ । भनेर तथ्याङ्क निकालेको छ । 

सिरम कोलेस्टेरोलचाहिँ रगतमा नापिने कोलेस्टेरोल हो । डाक्टरले कोलेस्टेरोल जाँच गर्नुस् भन्दा यसको जाँच गरिन्छ । यो जाँच गर्दा २०० भन्दा कम भए राम्रो हुन्छ । राम्रो खालको कोलेस्टेरोल पनि हुन्छ जसलाई एचडिएल भनिन्छ । यो कोलेस्टेरोल बढी भएको राम्रो हुन्छ । 

शरीरमा अर्को एक डिएल कोलेस्टेरोल हुन्छ, जुन रगतमा जति कम भयो उति राम्रो हुन्छ । शरीरमा सिरम कोलेस्टेरोल कम हुनु मुटुको रोगबाट बच्ने उपायहरूमध्ये एक हो । यसका लागि निम्न उपाय अपनाउन सकिन्छ । 

तौल घटाउनु :  शरीरको तौल जति बढी भयो शरीरले त्यति नै बढी कोलेस्टेरोल पैदा गर्छ निदरल्याण्डमा २० वर्षसम्म गरिएको अध्ययनबाट पत्तालगाइएअनुसार शरीरमा सिरम कोलेस्टेरोल बढ्नुको एउटा प्रमुख कारण शरीरको तौल बढी हुनु हो । प्रत्येक एक किलोग्राम तौलमा शरीरको कोलेस्टेरोल झण्डै २ प्वाइन्टले बढ्छ । तौल घटाउन सजिलो त छैन । खानेकुरामा विशेषगरी हरियो तरकारी र फलफूलको बढी प्रयोग तर चिल्लो पदार्थ र मासुको कम प्रयोग गरियो भने तौल घट्ने सम्भावना बढ्न जान्छ । 

कोलेस्टेरोल घटाउने उपाय
विभिन्न मौसममा पाइने विभिन्न किसिमका फलफूल र काँचै खान सकिने हरिया तरकारीहरू मुटुको लागि मात्र होइन सम्पूर्ण स्वास्थ्यको लागि राम्रो हुन्छ ।

चिल्लो पदार्थ कम गर्नु : चिल्लो पदार्थ चाहे तेल, घिउ वा मखन वा मासुको बोसो नै किन नहोस्, यी सबैको प्रयोग सकेसम्म कम गर्नुपर्छ । तारेको र बेस्सरी घिउ–तेलमा लदबद गरी पकाइएको तरकारी वा मासुले जिब्रोको लागि स्वाद दिए पनि स्वास्थ्यलाई चाहिँ लाभ दिँदैन । मासुको प्रयोग गर्नुपरेमा पनि बोसो नभएको मासुको प्रयोग गर्नु उचित हुन्छ । त्यसैगरी घिउमा बनाइएका मिठाइ र अन्य पदार्थ सकेसम्म कम प्रयोग गर्नुपर्छ । 

गेडागुडीको प्रयोगः पौष्टिक र सस्तो गेडागुडीमा शरीरलाई चाहिने पौष्टिक तत्व पर्याप्त मात्रामा हुन्छ । यसमा रेसादार पदार्थ र फाइबर हुन्छ । रेसादार पदार्थहरूको प्रयोगले शरीरमा रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ ।  रगतको सिरममा कोलस्टेरोल बढी भएका व्यक्तिलाई ३ हप्तासम्म दिनभरिमा डेढ कप गेडागुडी दिँदा उसको कोलेस्टेरोल २० प्रतिशतले कम हुन्छ । गेडागुडी भनेर दाल, भटमास, क्वाँटी, राजमा, मटर, सिमी, केराउ आदि विभिन्न पदार्थहरू हुनाले यसलाई फेरी–फेरी खान सकिन्छ ।

फलफूल र हरिया तरकारी : विभिन्न मौसममा पाइने विभिन्न किसिमका फलफूल र काँचै खान सकिने हरिया तरकारीहरू मुटुको लागि मात्र होइन सम्पूर्ण स्वास्थ्यको लागि राम्रो हुन्छ । नासपाती, अम्बा, अनार, अंगुर कुनै पनि फलफूल वा काँचै खान सकिने काँक्रो, गाजर, मूलाको प्रयोगले तौल घटाउन मद्दत गर्छ । गाजरको प्रयोगले कोलस्टेरोल घटाउन निकै मद्दत गर्छ । यसमा पेकिटन नामक पदार्थ रहेको हुन्छ । दिनमा दुईवटा गाजरको प्रयोगले धेरैजसो व्यक्तिहरूको बढेको कोलेस्टोरल १०–२० प्रतिशतसम्म कम गर्न सकिन्छ । 

व्यायाम : व्यायामको फाइदाको बारेमा जताततै बोलिन्छ र लेखिन्छ । व्यायामले शारीरिक साथै मानसिक स्वास्थ्यमा पनि ठूलो भूमिका खेल्ने र वृद्धावस्थामा हुने समस्याबाट बचाउँछ । दैनिक व्यायाम चाहे हिँडाइ होस्, चाहे दौडले शरीरको तौल र कोलेस्टेरोल घटाउन मद्दत गर्छ । व्यायामले रगतबाट बोसो हटाउन मद्दत गर्छ । यदि बोसो रगतमा धेरैबेर बस्न पाएन भने यो धमनीमा टाँसिने सम्भावना पनि कम हुन्छ । 
        
भोजन बदलिने : मासु दिनदिनै र हरेक छाकमा खाने व्यक्तिहरूले त्यसको मात्रा र दिन कम गर्न र बोसो नभएको मात्र खाने सल्लाह दिइन्छ । कोलेस्टोरोल बढी भएका व्यक्तिहरूलाई सकेसम्म मासु त्यागेर तरकारी र फलफूलमा बढी जोड दिन सल्लाह दिइन्छ । एकैचोटिमा यो गर्न असम्भव लागे पनि राम्रो पार्न र अनेक शारीरिक समस्याबाट मुक्ति पाउन विस्तारै भोजनमा परिवर्तन गर्न सकिन्छ र गर्नुपर्छ । 

लसुनको प्रयोगः विभिन्न अध्ययनहरूले सिद्ध गरिसकेका छन् कि रगतमा रहेको बोसो घटाउन लसुनले महत्वपूर्ण भूमिका खेल्छ । तर लसुन गन्हाउने कारणले धेरै व्यक्तिहरू त्यसको प्रयोग गर्न चाहँदैनन् । लसुन गन्हाउने भएर धेरै व्यक्तिहरूले प्रयोग नगरेकोले यसको गन्धबाट मुक्त छन् । रगतमा कोलेस्टेरोल बढी भएका व्यक्तिहरूलाई दिनको एक दुई पोटी लसुन खाएमा ६ महिनामा ४४ प्वाइन्टले घट्ने अध्ययनले देखाएको छ । 

कफि र चुरोट : कफिको बढी प्रयोग र चुरोट सेवनले कोलेस्टेरोल बढाउनमा मद्दत गर्छ भन्ने कुरा विभिन्न वैज्ञानिक अनुसन्धानले सिद्ध गरेको छ ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution