कब्जियत हटाउने केही उपाय

कब्जियत हुनु, पेट खराव हुनु, पेटमा ग्याँस बन्नु, पेट सफा नहुनु खास गरी आजको शहरी जीवनमा आम समस्या भइसकेको छ । कब्जियत खासगरी दुई किसिमको हुन्छ –स्थायी र अस्थायी । स्थायी कब्जियतबाट मुक्ति पाउन निकै कठिन हुन्छ र यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । 

अस्थायी कब्जियत चाहिँ केही परहेज गर्दा हटाउन सकिन्छ । अनियमित खानपान, शारीरिक श्रमको कमी, भोजन नपच्नु, औषधीहरूको ज्यादा सेवन पानी कम पिउनु आदि कब्जियतका पमुख कारणहरू हुन् । कब्जियतबाट मुक्ति पाउनको लागि खाना राम्रोसँग चपाएर खानुपर्छ । रेसादार खाद्यवस्तु खानामा समावेश हुनुपर्छ । चोकरयुक्त आँटाको रोटी खानु, प्रशस्त पानी पिउनु, समयमा मल त्याग गर्नु कब्जियतबाट बच्ने केही उपायहरू हुन् । फाइबर तत्व भएका भोजनहरू पनि कब्जियत हटाउन लाभदायक छन् । किनभने फाइबर कार्बोहाइड्रेड समूहको भोजन हो र यसलाई पचाउन सकिन्न । यसबाट कुनै पोषक तत्व पनि प्राप्त हुँदैन । तर शरीरको आन्तरिक कार्य ठीकसँग गर्नका लागि जरुरी हुन्छ । चोकयुक्त आँटा, चिउरा, फलफूल, तरकारी, गेडागुडी, नफलेको चामल आदिमा फाइबर हुन्छ । 

जतिखेर पायो त्यतिखेर खाना खानु राम्रो होइन, ठीक समयमा खाना खानुपर्छ । साँझको खाना थोरै र सुपाच्य हुनु जरुरी छ । साँझको खानापछि केही समय हिँड्नु लाभदायक हुन्छ । 

कब्जियत हुने समस्या र बचावट 
हामीले खाएको खानाबाट शरीरले पोषण तत्व लिएर नचाहिने वस्तु १२–१४ घण्टाभित्र नित्यक्रिया गर्दा मलको रुपमा बाहिर निस्कन्छ । तर केही व्यक्तिलाई दिनदिनै दिसा हुँदैन । कति जनालाई त २–३ दिनसम्म पनि दिसा नहुने हुन्छ । यसले गर्दा अनेक किसिमका समस्या देखा पर्छन् । 

भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, टाउको दुख्ने, वान्ता र वाकवाक हुने, दिसा साह्रो भएर हर्षा हुने आदि समस्या कब्जियतले ल्याउँछ । कब्जियत सहरीकरणले ल्याएको समस्या हो । हाम्रो खानामा रेसादार पदार्थको सट्टा रेसा नभएको पदार्थ जस्तो–मैदा, बिस्कुट, चाउचाउ, केक आदि पदार्थहरूको बढी प्रयोगले गर्दा कब्जियत हुन्छ । साथै हिँडडुलको कमीले गर्दा पनि कब्जियत हुने र तौल बढ्ने हुन्छ । साथै झोल पदार्थको नाममा आजकल कफि, कोककोला, फ्यान्टाजस्ता पदार्थहरू पिइन्छ । यस्ता वस्तुहरू कब्जियतको लागि जिम्मेवार छन् । 

गाजरजस्ता रेसादार 
कब्जियतको समस्या हुनेहरूले बोक्रासहितको गाजर, काँक्रो, मूलाजस्ता फलफूल तथा तरकरीहरू सेवन गर्नुपर्छ । साथै चना, भटमासजस्ता गेडागुडी अर्थात् क्वाँटीको सेवन गर्नुपर्छ । त्यसैगरी आँटा, नफलेको चामल, मकै, कोदो, बोक्रा सहितको आलु, फापर र कोदोमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइने हुनाले यस्ता पदार्थको सेवन गरेमा कब्जियत हुनबाट बच्न सकिन्छ । 

पदार्थ भएका खानेकुरा हटाएर चिजबल, चाउचाउ, बिस्कुट आदि पदार्थ बढ्दै छन् । कब्जियतको लागि दैनिक भोजन र खाजाबाट पनि यस्ता पदार्थहरू हटाएर विभिन्न किसिमका तरकारी, विशेषगरी बोक्रासहितका तरकारीहरूजस्तो–गाजर, काँक्रो, मूला र त्यस्तै प्रकारले चना, भटमास, क्वाँटी आदि पदार्थको प्रयोग गर्नुपर्छ । त्यसैगरी आँटा, नफलेको चामल, मकै, कोदो, बोक्रासहितको आलु, फापर र कोदोमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । 

व्यायाम मुटुको लागि मात्र होइन, शरीरको आन्द्राको चालको लागि पनि चाहिन्छ । व्यायामले शरीरको खानाको चाल पनि राम्रोसँग हुन मद्दत गर्छ । अन्य शारीरिक व्यायाम गर्न सकिँदैन भने हिँडाइ त जसले,जहाँ पनि गर्न सक्छ । यसको लागि पैसा खर्च गर्नु पर्दैन हरेक दिन २०–२५ मिनटको छिटोछिटो हिँडाइ एउटा राम्रो व्यायाम हो । यसले शरीरको तौल ठीक राख्नुको साथै कब्जियत हटाउन पनि मद्दत गर्छ । गर्भ रहेको बेलामा केही महिलालाई कब्जियत हुन्छ । यो बेलामा शरीरभित्र पैदा हुने हर्मोनहरूको कारणले यस्तो हुन सक्छ । गर्भवती महिलाले विभिन्न कामका साथै नथाक्ने गरी २०–३० मिनेटको हिँडाइ गर्नु राम्रो हुन्छ । साथै भोजनमा रेसादार पदार्थ, हरियो तरकारी, मौसमी फलफूल पनि रेसादार पदार्थ पाइने भोजन मकै, गहुँ आदि ।

बोक्रासहितको गेडागुडी – भटमास, दाल, अन्य–फापर, कोदो, चामल, बन्दा, गाजर र अन्य विभिन्न हरिया तरकारी प्रयोग गर्नुपर्छ । गर्भवती महिलाले पर्याप्त मात्रामा पानी र झोल पदार्थ जस्तै–तरकारीको रस, दालको रस, मोही, दूध आदि प्रयोग गर्नुपर्छ । 

विभिन्न कारणवस कतिपय व्यक्तिहरू विहान उठ्नेबित्तिकै नित्य क्रिया गर्दैनन् । कामको चाप, हतार, ढीलो उठ्ने बानी आदिले गर्दा अफिस वा काममा दौडन्छन् । दिसा लाग्दा लाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन् । यस्तो बानीले गर्दा पछि कब्जियत हुन जान्छ । विहान उठ्नेबित्तिकै दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ । 

बालबालिकाहरूलाई पनि विहान उठ्नेबित्तिकै दिसा गर्न जाने बानी बसाल्न लगाउनु पर्छ । यदि घरमा दिसा गर्न गएनन् भने स्कुलमा डरले शिक्षकलाई भन्न नसकि उनीहरू च्यापेर बस्छन् । यसले गर्दा कब्जियतको समस्या हुन्छ । जसको कारण जीवनभरको लागि स्वास्थ्य समस्या आउन सक्छ । 

खानेकुरा र व्यायामको अभाव मात्र होइन, लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ । चिन्ता र तनाव हटाउन ध्यान, योग, हिँडाइ र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । मानसिक चिन्ता हटाउन आनन्दपूर्वकको हिँडाइ, दौडाइ र हँसाइ पनि एउटा राम्रो माध्यम हो । पेट मिचिमिची हाँस्दा आन्द्राहरूलाई मसाज हुन्छ भनिन्छ । 

केही औषधीहरूले पनि कब्जियत गराउन सक्छ । यस्तो बेलामा प्रायः औषधी दिने डाक्टरले त्यसको बारेमा भन्छन् र सकेसम्म बढी पानी पिउने र हरियो सागपात खाने सल्लाह दिन्छन् । कब्जियत गराउन सक्ने केही औषधी एन्टामिडजसस, एलमेनियम, क्यासियम, निन्द्रा लाग्ने औषधी, मानसिक रोगका लागि प्रयोग गरिने औषधी आदि हुन् । 

दिसा बस्दा दिसा आएन भने कतिपय व्यक्तिहरू बल निकालेर कन्छन् । यसले गर्दा गुदद्धारमा दवाव पर्न जान्छ र मलद्धारमा घाउ हुने हुन्छ । त्यसैले कन्नु सट्टा दैनिक जीवनको भोजन, व्यायाम आदिबाट नै कब्जियतबाट मुक्ति पाउनु उचित हुन्छ । कब्जियत हुनेले राती सुत्दा मनतातो पानी पिउनु राम्रो हुन्छ । 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution