खुला क्षेत्र र स्वास्थ्य

खुला क्षेत्र र स्वास्थ्य

खुला क्षेत्र भन्नाले यस्तो जमिन हो । यसको प्रयोग सर्वसाधारणले विश्राम वा सामाजिक मनोरञ्जनात्मक कार्यको लागि प्रयोग गरिन्छ । बजार, उद्यान, खेल मैदानहरू पनि खुल्ला क्षेत्रमा नै पर्छ । यतिमात्र नभएर यस क्षेत्रमा खोलानाला, ताल जस्ता जल प्रणालीहरू पनि पर्दछन् । 

अहिलेको बढ्दो शहरीकरण तथा जनसंख्या वृद्धिले गर्दा खुला तथा हरित क्षेत्रहरूको अतिक्रमण भइरहेको छ । प्राकृतिक जल प्रणालीका अनुसार जमिन सतह मुनिको पानीको सतहलाई सन्तुलित राख्ने महत्वपूर्ण माध्यम भनेको वर्षाको पानी तथा यो पानी सोस्ने खुला क्षेत्रको मिश्रण हो । खुला क्षेत्रकोे क्षेत्रफल घटेमा यसले प्रत्यक्ष रुपमा हाम्रो जल प्रणालीलाई असर पु¥याउँछ । जलस्रोत जगेर्ना गर्नको लागि खुला तथा हरित क्षेत्रको संरक्षण गर्नु महत्वपूर्ण छ ।

नेपालको सन्दर्भमा खुला क्षेत्रको महत्व परापूर्वकालको शहर तथा गाउँको बनावटले नै छर्लङ्ग पार्दछ । समुदायको मानिसहरूले आफ्नो घर वरिपरि खुला स्थान सुनिश्चित गरेका हुन्थे । गाउँमा पनि चौतारा बनाएका हुन्थे । काठमाडौंको पुराना संरचना हेर्ने हो भने पनि हामी खुला क्षेत्रहरू प्रशस्तै भेट्न सक्छौं । काठमाडौंमा धेरै बहाल चोकहरू छन् । पूर्वजहरूले खुला स्थानको महत्व बुझेकाले नै त्यसको स्थान हरेक क्षेत्र निर्माणको अभिन्न अंगको रुपमा राखेका थिए । खुला स्थानको महत्व केवल सम्पदाको लागि मात्र सीमित छैन । यसले सामाजिक, आर्थिक, वातावरण तथा स्वास्थ्यलाई पनि फाइदा पु¥याइरहेको हुन्छ । जनसंख्याको बढ्दो चापसँगै खुला क्षेत्रको अतिक्रमण पनि बढ्दै गइरहेको छ । खुला क्षेत्रले अहिले शहरी संरचना स्थान नपाएबाट यसले भविष्यमा वातावरणलाई ठूलो असर गर्न सक्दछ । 

खुला क्षेत्रको महत्व
विकासको क्रममा गरिएको परिवर्तनले पर्यावरण प्रणालीमा धेरै असर पारिरहेको हुन्छ । अहिलेको सन्दर्भलाई ध्यानमा राख्ने हो भने खुला क्षेत्र एक स्वस्थ हावा लिन मिल्ने उपयुक्त स्थान हो । अनियमित शहरी संरचना तथा प्रदुषणले गर्दा शहरको वातावरण अस्वस्थ बन्दै गइरहेको छ । यस्तो अवस्थामा भैरहेको खुला स्थानको संरक्षण गर्नु र नयाँ खुला स्थानको संरचना गर्नु अति आवश्यक छ । खुला क्षेत्रले सामाजिक क्रियाकलाप गर्ने अवसर पनि प्रदान गर्छ । अहिलेको व्यस्त जीवन शैलीमा मानिसहरूको स्वास्थ्य पनि खस्कँदै गइरहेको छ । शहरी क्षेत्रमा नसर्ने रोगहरू पनि बढ्दै गइरहेको छ । पहिलेको जस्तो छरछिमेकी तथा साथीभाईहरूसँग भेटघाट गर्ने अथवा समय विताउने जस्ता क्रियाकलापहरू पनि घट्दै गइरहेको छ । यस्तो अवस्थामा खुला क्षेत्रले थकित मानिसलाई एकअर्कोेसँग भेटघाट गर्ने, वृद्धवृद्धालाई टहल्ने मौका प्रदान गर्दछ । साथै साना बालबालिकाहरूलाई खुला वातावरणमा खेल्ने मौका पनि दिन्छ । 

अहिले उपयुक्त र सुरक्षित स्थान नभएका कारण बालबालिकाहरू घरैमा टि.भि, मोबाइल र गेम खेलेर बस्न बाध्य छन् । यसले गर्दा बालबालिकाहरूको सर्वांगिण विकास हुन सकेको छैन । विभिन्न अध्ययनले बालबालिकाहरूको मानसिक र शारीरिक विकासका लागि खुल्ला ठाउँमा खेल्नु र कुद्नु पर्ने आवश्यकता देखाएको छ । 

स्वस्थ जीवनका लागि हरेक व्यक्तिले शारीरिक व्यायाम गर्नु पर्ने आवश्यकता पनि विभिन्न अध्ययनले बोध गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक व्यक्तिले कम्तिमा हप्ताको पाँच दिन तीस मिनेटसम्म स्वास फुल्ने गरी हिंड्ने अथवा अरु कुनै व्यायाम गर्नु पर्छ । यसले मानिसलाई मानसिक तथा शारीरिक रुपमा स्वस्थ राख्न मद्दत गर्छ । यसका लागि उपयुक्त स्थान हुनु अपरिहार्य छ । खुला क्षेत्रले मानिसलाई व्यायाम गर्ने तथा एक अर्कासँग कुराकानी गर्ने अवसर पनि प्रदान गर्दछ । 

स्वस्थ्य शहरको परिकल्पना गर्ने हो भने त्यसमा खुला क्षेत्र हुनु अति आवश्यक छ । खुला तथा हरित क्षेत्रले वातावरण प्रदुषण घटाउन पनि मद्दत गर्दछ । स्वास्थ्य र वातावणको खुला क्षेत्रले कुनै ठाउँको आर्थिक विकास गर्ने पनि उत्तिकै मद्दत गर्दछ । दुर्गम गाउँका बासिन्दाहरूले खुला क्षेत्रमा हरेक हप्ता अथवा महिना हाटबजार लगाउने गर्छन जसले उनीहरूलाई आर्थिक रुपमा केही हदसम्मा सहयोग पु¥याइ रहेको छ । यो सँगै नेपालमा भएका विभिन्न मनोरञ्जनात्मक र पुरातात्विक महत्व भएका खुला क्षेत्रले पर्यटन व्यवसायलाई उत्तिकै मद्दत गरिरहेको छ । खुला क्षेत्रको फाइदा धेरै छन् तर नेपाल जस्तो देश, जुन भुकम्प आउने सम्भावना बढि भएको स्थानमा गनिन्छ त्यहाँको लागि खुला क्षेत्र आवश्यक मात्र नभइ अनिवार्य छ । खुला क्षेत्रले यस्तो दैविक प्रकोपका समयमा मानिसको सहाराको रुपमा खडा भइरहेको छ ।

विकसित मुलकहरू अहिले खुला क्षेत्रको मामिलामा धेरै अगाडी पुगिसकेका छन् । उनीहरूको हरेक शहर तथा गाउँको संरचना तथा नीतिमा खुला स्थानको विशेष स्थान रहेको छ । शहरलाई स्वस्थ र सफा राख्नका लागि उनीहरूले खुला क्षेत्रको महत्व राम्ररी वुझेका छन् ।

खुलाक्षेत्रले हाम्रो सरकारी नीतिमा स्थान पाउनु जरुरी छ । अहिले भएका खुला क्षेत्रको संरक्षण गर्नु तथा नयाँ खुला क्षेत्रको विकास गर्नु सरकार र जनताको प्राथमिकतामा पर्नु आवश्यक छ ।  

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution