नसर्ने रोग

नसर्ने रोग

नसर्ने रोगहरू धेरै समय रहिरहने र बिस्तारै बढदै जाने रोगहरू हुन् । नसर्ने रोगका प्रमुख रोगहरू मध्य मुटु रोग (कोरोनरि धमनी र मस्तिष्कघात), अर्बुद रोग, श्वास प्रश्वास सम्बन्धी रोग (दम खोकी), मधुमेह पर्दछन् । 
 
नसर्ने रोगहरू विशेष गरि अस्वस्थ जीवनशैली जस्तैः सुर्तीसेवन, मदिरासेवन, अस्वस्थकर खानपिन तथा शारीरिक क्रियाकलापको कमीले गर्दा लाग्ने गरिन्छ । यिनै व्यवहारका कारणले गर्दा मानिसमा मोटोपन, उच्चरक्तचाप, रगतमा चिनीको मात्रा बढ्ने, रगतमा कोलेस्टेरोलको स्तर बढ्ने हुन्छ । 
 
यी उल्लेखित कारक तत्वहरूलाई रोकथाम तथा नियन्त्रण गर्न सकियो भने नसर्ने रोगबाट लाग्ने रोग तथा मृत्युलाई कम गर्न सकिन्छ । तसर्थ नसर्ने रोगहरूसम्बन्धि महत्वपूर्ण जानकारी लिनुका साथै कसरी ब्यक्ति विशेषले यस प्रकारका रोगहरूबाट बच्न र यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने जानकारी लिनु आजको मुख्य खाँचो बनेको छ । दिगो विकास लक्ष्य (एसडीजी) को उद्देश्य सन् २०३० सम्ममा गरिबीको अन्त्य गर्नु हो । 
 
सबैका लागि मानवअधिकार प्राप्त गर्ने र सबै महिला तथा बालिकाका लागि लैङ्गिक समानता तथा सशक्तीकरण हासिल गर्नु तिनको उद्देश्य रहेको छ । यी लक्ष्यहरू एकीकृत तथा अविभाज्य छन् र तिनले दिगो विकासका तीन आयाम (आर्थिक, सामाजिक र वातावरणीय) लाई सन्तुलित गर्ने उद्देश्य रहेको छ । 
 
दिगो विकास लक्ष्यहरू १७ वटा छन् । यी १७ विकास लक्ष्यहरू मध्ये लक्ष्य ३ ले हरेक ब्यक्तिको स्वस्थ जीवन सुनिश्चित गर्ने तथा सबै उमेरका सबै मानिसको कल्याणको प्रवद्र्धन गर्ने भनिएको छ । यसमा पनि लक्ष्य ३ भित्र पर्ने ३.४ ले नसर्ने रोगबाट हुने मृत्युलाई कम गर्ने भनि लक्ष्य निर्धारण गरेको छ । त्यसकारण विभिन्न रोगहरूबाट बच्न सर्बसुलभ स्वास्थ्यसेवा, गुणस्तरीय स्वास्थ्यसेवामा पहुँच तथा सबैका लागि सुरक्षित, प्रभावकारी, गुणस्तरीय र उचितमूल्यमा अत्यावश्यक औषधी तथा खोपहरूमा पहुँच हासिल गर्ने आजको माग हो ।
 
हामीहरू नसर्ने रोगबाट किन बच्नु पर्छ ?
बर्षेनि ३ करोड ६० लाख मानिसको ज्यान लिने यस रोगलाई संसारभरीकै एक नम्बरको घातक रोगको रुपमा लिइन्छ । यसमा पनि ८० प्रतिशत मृत्यु न्यूनतम आय भएको देशमा गइरहेको तथ्यांकले देखाएको छ । हाम्रो देश नेपालमा पनि बर्षेनी ४२ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगकै कारण भइरहेको छ । हाम्रो जस्तो मुलुकमा यसरी नसर्ने रोगको भयाभयले एउटा नयाँ रुप लिइरहेको छ । सरुवा रोगबाट हुने मृत्यु तथा बिरामीको संख्या अझै न्यून गर्नु परिरहेको अवस्था छ । यस्तो अवस्थामा नसर्ने रोगबाट आएका चुनौतीहरू तथा यसले धेरै मानिसको स्वास्थ्यमा असर र ज्यानै लिने भएकोले यी रोगहरूबाट बच्न कति महत्वपूर्ण छ भन्ने कुरामा ध्यानाकर्षण गर्नु आवश्यक छ । नसर्ने रोगहरूले आफूलाई मात्र नभएर आफ्नो परिवारको सुख, समृद्घिमा नै ठूलो असर पु¥याउँछ । यो रोग लागि सकेपछि यसलाई नियन्त्रण गर्न सामाजिक तथा आर्थिक हिसाबले पनि धेरै कठिनाइ सहनु पर्छ । यसै कारणले गर्दा नसर्ने रोग लाग्नै नदिनु नै एउटा मानिसको समझदारी हुन्छ । 
 
नसर्ने रोगबाट बच्ने तरिका
निम्न कुराहरूमा ध्यान दिई नसर्ने रोगहरू लाग्नबाट रोकथाम गर्न सकिन्छ । 
  • जीवनशैलीमा सुधार ल्याएर
  • धुम्रपान त्यागेर ।
  • मदिरा सेवन त्यागेर या कम गरेर ।
  • सन्तुलित आहारको सेवन गरेर (चिल्लो, गुलियो कम गर्ने तथा हरियो सागपात तथा फलफूलहरूको मात्रा बढाउने ।)
  • आफ्नो शरीरको तौललाई नियन्त्रण गरेर । 
  • नियमित शारीरिक ब्यायाम गरेर (कम्तीमा हप्ताको पाँच दिन ३० मिनेटसम्म छिटो हिंडेर, दौडेर, तथा पौडी खेलेर) ।
  • मानसिक तनावलाई हटाएर ।
  • कुनै पनि खतरायुक्त लक्षणहरू देख्ने बितिक्कै डाक्टरसँग परीक्षणको लागि समयमै सल्लाह सुझाव लिएर ।
  • औषधि खानु पर्ने व्यक्तिहरूले दैनिक रुपले औषधि लिएर । जहाँ गएपनि आफूलाई चाहिने औषधिहरू लिई गएर ।
  • डाक्टरसँग आफूले नियमित रुपमा लिने औषधिको असरको बारेमा स्पष्ट भइ चाहेको बेला के गर्नु पर्ने कुराको सल्लाह लिएर । 
  • आफैले औषधी सेवन बन्द नगरेर ।
  • औषधी सेवनबाट कुनै किसिमको असर देखा परेमा डाक्टरको सल्लाह लिएर ।
सरकारले दिएको निःशुल्क सुबिधाबारे जानकारी
नसर्ने रोगहरू लागेका बिरामीहरूलाई नेपाल सरकारले विभिन्न किसिमको सेवा सुविधाहरू उपलब्ध गराउँदै आएको छ । 
(क) मृगौला रोगको डायलासिस गर्नुपर्ने विरामीहरूले तोकिएका सूचिकृत अस्पतालहरूबाट निःशुल्क डायलाइसिस सुविधा पाउने छन् । 
(ख) मुट रोग, क्यान्सर रोग, अल्जाइमर रोग, पार्किन्सस रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल एनिमिया रोगका विरामीका साथै मृगौला रोगको एक्युट रेनल फेलियर भएका विरामीहरूलाई रु १ लाखसम्मको औषधि उपचार सुविधा पाउने व्यवस्था सरकारले गरेको छ । 
 
यसका लागि आफ्नो जिल्लामा रहेको जिल्ला जन स्वास्थ्य कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ । यसका लागि सम्वन्धित अस्पताल वा चिकित्सकको सिफारिस र वडा कार्यालयको सिफारिस आवश्यक हुन्छ । 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution