भान्साभित्रको औषधालय

भान्साभित्रको औषधालय

हाम्रो घरको भान्छामा सानातिना रोगहरूलाई निको पार्ने प्रशस्त औषधिहरू छन् । तर यसको बारेमा हामीमध्ये धेरैलाई राम्रो जानकारी छैन । त्यसैले सानातिना रोग लाग्नेबित्तिकै पनि चर्को मूल्य तिरेर हामी औषधिहरू नै किनी प्रयोग गर्छौं । स्वास्थ्य सम्बन्धी क्षेत्रमा काम गर्ने केही विज्ञहरूले पनि महँगो स्वास्थ्यसेवा र औषधिले जनस्वास्थ्यमा नकारात्मक असर पारेको महसुस गरेर सस्तो र सुलभरुपमा उपलब्ध हुने औषधिको खोजी गर्न थालेका छन् । हुन त परापूर्वकालदेखि हाम्रा बाजेबज्यैहरूले घरमा पाइने विभिन्न मरमसला, तरकारी, फलफूल आदिबाट विभिन्न रोगलाई निको पार्दै आइरहेका हुन् । आजका आधुनिक मानिसहरू बाजेबज्यैहरूले प्रयोग गर्दै आइरहेका भान्छाभित्रका औषधिहरूलाई फेरि सम्झिन थालेका छन् । अनुभवको आधारमा हाम्रा पुर्खाहरूले प्रयोग गर्ने कतिपय परम्परागत औषधिको आज प्रयोगशालामा वैज्ञानिक परीक्षण पनि भइसकेको छ । तिनैमध्ये हाम्रा भान्छाघरमा पाइने औषधि य गुण भएका केही महत्वपूर्ण वस्तुहरूका बारेमा यस लेखमा चर्चा गरिएको छ ।
 
लसुन र प्याज
लसुनमा कीटाणुहरूलाई मार्ने विशेष तत्व हुन्छ भन्ने कुरा अमेरिकी वैज्ञानिकहरूले आफ्नो अनुसन्धानबाट देखाएका छन् । लसुनमा शरीरभित्र रहेका कीटाणुलाई मार्ने तत्वका साथै शरीरमा बढी मात्रामा रहेको कोलेस्टेरोल (एक प्रकारको बोसो) लाई कम गर्ने तत्व पनि हुन्छ । शरीरमा कोलेस्टेरोलको मात्रा बढी हुँदा मुटुका विभिन्न रोग लाग्ने हुन्छ । शरीरमा कोलेस्टेरोलको मात्रा घटाउन लसुनको उपयोगिता सिद्ध भइसकेको छ । यसैले मुटुका रोगीहरूका निम्ति औषधि र विशेष प्रकारको भोजनको सल्लाह दिंदा डाक्टरहरूले दिनको चार पोटी जति लसुन खाने सल्लाह पनि दिन्छन् । यसैगरी उच्च रक्तचापका बिरामीलाई पनि नियमित औषधि सेवन गर्ने, दैनिक रुपमा शारीरिक व्यायाम गर्ने, मानसिक तनाव आदिबाट मुक्त रहने तथा भोजनमा परिवर्तन गर्नुका साथै भोजनमा लसुनको प्रयोग गर्ने सल्लाह दिइन्छ । लसुनमा एक विशेष प्रकारको तेल हुन्छ । जसले गर्दा नै लसुनबाट एक प्रकारको गन्ध आउने गर्छ । धेरै मानिस लसुनमा हुने उक्त गन्ध नै मन नपरेर लसुन खाँदैनन् । तर लसुनमा रहेको त्यही गन्धयुक्त तेलमा नै औषधि य गुण हुन्छ । लसुनमा रहेको तेलले बोसो घटाउन र उच्च रक्तचापलाई कम गर्नमा ठूलो मद्दत पु¥याउन सक्छ । 
 
आजकाल पश्चिमी समाजमा लसुनको प्रयोगमा जोड दिन थालिएको छ । लसुनको गन्ध धेरैलाई मन नपर्ने भएकोले लसुनबाट औषधि य तत्व निकालेर क्यापसुल बनाएर पनि बजारमा बेच्न थालिएको छ । छिमेकी मुलुक भारतमा गार्लिक पल्स भनेर लसुनलाई औषधि बनाएर बजारमा बेचिन्छ । यसमा लसुनको गन्ध नआउने भएकोले यसको प्रयोग धेरैले गर्छन् । हुन त यसरी प्रयोग गर्दा आर्थिक रुपले महँगो पर्ने मात्र होइन, प्राकृतिक गुणहरू नष्ट समेत हुन जान्छन् भन्ने तथ्य अनुसन्धानबाट देखिएको छ । लसुनमा भएको विशेष तेलले पेटमा रहेका कीटाणुहरूलाई पनि नष्ट पार्छ । त्यसैले दिसा लागेको बेलामा लसुनको प्रयोग गर्ने सल्लाह दिइन्छ । पेट खराब भएको बेलामा लसुन हालेको जाउलो बनाएर खाने चलन हाम्रो समाजमा अझै पनि भेटिन्छ । 
 
लसुनमा भएको तेलले कीटाणुहरूलाई मार्छ अनि शरीरमा रोगसँग लड्ने क्षमता पनि बढाउँछ, रोगसँग लड्ने क्षमता भनेको शरीरको प्रतिरोधात्मक शक्ति हो । यो प्रतिरोधात्मक शक्ति शरीरमा कम हुँदा हामीलाई रुघाखोकीलगायत विभिन्न स्वास्थ्य समस्याहरू लागिरहने हुन्छ । रुघाखोकी लागेको बेलामा लसुनको सूप बनाएर खाने चलन युरोपमा पनि छ । शरीरको बाहिरी अङ्गमा घाउ निको पार्नका लागि पनि लसुनको प्रयोग गरिन्छ । दोस्रो विश्वयुद्धताका रसियाली डाक्टरहरूले युद्धमा घाइते भएका सिपाहीहरूको घाउ निको पार्न लसुनको लेप प्रयोग गरेका थिए । त्यसबेला एन्टिबायोटिकको भर्खर मात्र आविष्कार भएको थियो र यसको प्रयोग आमरुपमा भइसकेको थिएन । रुसका लसुनको बारेमा एकजना डाक्टर भन्नुहुन्छ– “मेरो एकजना परिचित महिलाको फिलामा ठूलो पिलो आयो । त्यसमा पीप भरिएकाले उनको पूरै खुट्टा सुनिएको थियो । त्यसलाई ठीक पार्न मैले उनलाई एन्टिबायोटिक दिएँँ । तर दुर्भाग्यवश उनलाई त्यसले एलर्जी भयो । उनको पूरा जीउमा राताराता डाबर निस्किए । त्यसैले मैले आफ्नै विवेकले लसुनको रस निकालेर यसमा बेसारलाई मिसाई घाउमा लगाइदिएँ । केही दिनसम्म लगातार घाउमा लसुन र बेसार लगाएपछि उनको घाउ सुकेर गयो ।”
 
बेसार
लसुन र प्याजका अतिरिक्त हाम्रो भान्छामा सधैँ भइरहने बेसार पनि एक उपयोगी औषधि हो । बेसारले हाम्रो भोजनलाई आकर्षक बनाउनुका साथै केही विशेष तत्वहरू पनि प्रदान गर्छ । बेसारमा कीटाणुहरूलाई मार्ने शक्ति हुन्छ भन्ने तथ्य विभिन्न वैज्ञानिक अनुसन्धानहरूले सिद्ध गरिसकेका छन् । म सानी छँदा मेरी हजुरआमा र ठूलीआमा मेरो शरीरमा आउने घाउहरूलाई ठीक पार्न बेसारको लेप लगाइदिने गर्नुहुन्थ्यो । परिवारमा बालबालिकाको नाक–कान छेडेपछि त्यसमा बेसारमा लटपटाएको धागो लगाइदिनु हुन्थ्यो । हाम्रा बाजेबज्यैहरूले प्रयोग गर्ने बेसार चिनियाँ चिकित्सा पद्धतिमा पनि पर्याप्त मात्रामा प्रयोग गरिन्छ । बेसारमा रहेको सङ्व्रmमण हटाउने र घाउको जलन कम गर्ने विशेष तत्वले यसलाई औषधिको रुप दिएको हो । बेसारको यसै महत्वलाई बुझेर सौन्दर्य प्रसाधनमा पनि यसको प्रयोग प्रशस्त मात्रामा हुन्छ । अनुहार र शरीरको सौन्दर्यलाई बढाउन गाँउघरतिर बेसार र बेसनमा दही वा दूध मिलाएर अनुहार र शरीरलाई सफा गर्ने गरिन्छ । त्यसैगरी रुघाखोकी लागेको बेलामा बेसारलाई तातो पानीमा हालेर पिएमा यसले रुघाखोकीबाट हुने समस्याबाट बच्न मद्दत गर्छ ।
 
अदुवा
आयुर्वेदिक चिकित्सा पद्धतिमा अदुवालाई ठूलो महत्व दिइएको छ । आयुर्वेदमा अदुवालाई महाऔषधको नाम दिइएको छ । अदुवाको औषधि य गुणले गर्दा नै होला फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरू नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ । अठारौं शताब्दीतिर युरोपमा अदुवाले यौनशक्ति बढाउँछ भनेर विश्वास गरिन्थ्यो । अदुवाको प्रयोगले गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने र तागत दिने हुनाले यसमा यौनशक्ति बढाउने क्षमता पनि रहेको हुन्छ भनेर मानिएको हुनसक्छ । 
 
अदुवामा थोरै मात्रामा क्याल्सियम र केही लौहतत्व (आइरन) रहेको हुन्छ । तर हामी क्याल्सियम र लौहतत्व प्राप्त हुने गरी अदुवाको प्रयोग गर्दैनौँ । केवल हाम्रा तरकारी, मासु, अचार आदिलाई स्वादिलो बनाउन हामी थोरै मात्रामा अदुवाको प्रयोग गर्छौं । तर यति प्रयोगले पनि हाम्रो शरीरलाई धेरै फाइदा दिइररहेको हुन्छ । अदुवामा पनि लसुन र प्याजमा जस्तै एक प्रकारको तेल हुन्छ, तर त्यो तेल भने गन्धरहित हुन्छ । त्यसैले अदुवा चपाएर राख्दा पनि मुखबाट कुनै गन्ध आउँदैन । अदुवाको यही विशेषतालाई ध्यानमा राखेर आयुर्वेदिक चक्कीहरूमा यसको प्रयोग गरिन्छ । अदुवालाई ताजा र सुकाएर दुइटै रुपमा प्रयोग गर्न सकिन्छ । सुकाएको अदुवालाई सुठो भनिन्छ । यो लामो समयसम्म राख्दा पनि बिग्रिदैन । ताजा र सुठो अदुवा दुवैमा शरीरलाई गर्मी दिने गुण हुन्छ ।
 
जाडोमा अदुवाको काँढा बनाएर खाने चलन छ । रुघाखोकी लाग्दा नाक बन्द हुने गर्छ, त्यसैगरी घाँटी दुख्दा कुनै झोल पदार्थ निल्न गाह्रो हुन्छ । त्यस्तो बेलामा अदुवाको टुव्रmालाई सफा गरेर पोलेर मुखमा राखिराख्दा घाँटीबाट हुने दुखाइ धेरै नै कम हुन्छ । रुघाखोकी लागेको बेलामा अदुवाको रस निकालेर कागती र महसँग मिसाएर खानाले खोकीलाई कम गर्छ । कागती, मह र अदुवाको मिश्रण गरेर बनाइएको झोल पदार्थ स्वादिलो पनि हुने हुनाले बालबालिकाहरूले पनि खान रुचाउँछन् । अदुवाको सुठोलाई सुत्केरी महिलाहरूलाई खान दिइने मसलाहरूमा मिसाउने गरिन्छ । अदुवामा गर्मी दिने गुण भएकोले यसको प्रयोग भएको हुनसक्छ । वाकवाकी लाग्दा पनि अदुवाको प्रयोग गर्ने गरिन्छ । गर्भावस्थाको सुरुसुरुको अवस्थामा हुने वाकवाकीलाई कम गर्न अदुवाले ठूलो मद्दत गर्छ । एक टुव्रmा अदुवा मुखमा हालेर त्यसको रस निलिरहँदा वाकवाकी हुने समस्या धेरै कम हुन्छ ।
 
धेरै मानिसहरूलाई बस र प्लेन चढ्दा वाकवाकी लाग्ने गर्छ । यस्तो बेलामा धेरैले अदुवाको प्रयोग गर्ने गर्छन् । अमेरिकामा ३६ जना विद्यार्थीहरूमा एउटा प्रयोग गरिएको थियो । छत्तीसजनामध्ये केहीलाई आधुनिक औषधि र केहीलाई अदुवा खान दिइएको थियो । कसलाई के खान दिइएको थियो भन्ने कुरा विद्यार्थीहरूलाई थाहा थिएन । खान दिएको २० मिनेटपछि सबैजनालाई एउटा कुर्सीमा राखेर फनफनी घुमाइएको थियो । केही बेरपछि विद्यार्थीहरूलाई आफ्नो अनुभव भन्न लगाइएको थियो । विद्यार्थीहरूले कसैलाई बढी वाकवाक लागेको र कसैलाई केही कम मात्र वाकवाक लागेको आफ्नो अनुभव बताएका थिए । त्यसपछि अध्ययनकर्ताले आधुनिक औषधि र अदुवा खान दिएको विद्यार्थीहरूको नतिजा हेर्दा के पत्ता लाग्यो भने अदुवा खान दिइएकाहरूलाई आधुनिक औषधिको तुलनामा निकै नै कम वाकवाकी भएको रहेछ ।
 
अदुवाले खानेकुरालाई पचाउने काम पनि गर्छ । अपच भएको बेलामा अदुवाको ससाना टुव्रmालाई बिरेनूनसँग मिसाएर खानाले अपचको समस्या कम हुन्छ । अदुवामा रहेका केही तत्वहरूले शरीरमा बढी भएको कोलेस्टेरोल नामको बोसोलाई पनि घटाउन मद्दत गर्छन् र मुटुको रोगबाट बचाउँछन् । अदुवाको यस्तै महत्वलाई बुझेर हाल विदेशतिर कोकाकोला र पेप्सीकोलाजस्तै जिन्जरकोला भनेर अदुवाबाट निकालिएको रस बेचिन्छ ।
 
ज्वानो
भान्छाघरमा रहेको ज्वानो पनि सस्तो तथा गुणले भरिपूर्ण भएको वस्तु हो । ज्वानो आयुर्वेदका प्रवर्तक चरकका पालादेखि नै प्रयोग हुँदै आएको देखिन्छ । पूर्वीय समाजमा मात्र नभएर ग्रीक औषधि विज्ञानमा पनि ज्वानोको महत्वलाई दर्शाइएका लेखहरू पाइन्छन् । ज्वानोमा प्रोटिन र खनिज पदार्थ पाइन्छ । तर ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । ज्वानोमा रहेको यही विशेषताले गर्दा सुत्केरी महिलालाई ज्वानोको झोल खुवाउने चलन रहि आएको छ । सुत्केरी महिला र ज्वानोको झोल हाम्रो संस्कृतिको अभिन्न अङ्गजस्तै भएको छ । ज्वानोको झोल सुत्केरीका निम्ति मात्र होइन, वयस्क पुरुष, बालबालिका, वृद्धवृद्धा सबैका लागि एउटा उत्तम वस्तु हो ।
 
ज्वानोको प्रयोगले कुपोषणको सिकार भएका बालबालिका, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धाहरू, गर्भवती महिला सबैजनालाई यसले फाइदा पु¥याउँछ । आजकाल विज्ञापनहरूमा भन्ने गरेको सुनिन्छ, “घरको खानेकुराले बालबालिकाको शरीरलाई चाहिने क्याल्सियमको मात्रा पुग्दैन, त्यसैंले क्याल्सियमका चक्की दिने गर्नुहोस् ।” यी विज्ञापनले तथ्यरहित, झूठा र भ्रमपूर्ण सूचना प्रवाह गर्ने काम मात्र गरिरहेका छन् । किनकि घरमा पाइने ज्वानो सबैभन्दा बढी क्याल्सियम भएको वस्तु हो । सुत्केरी अवस्थामा ज्वानोको विशेष प्रयोग गर्नुको कारण ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ, साथै आमाको दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ । ज्वानोलाई झोलको रुपमा प्रयोग गर्नु बाहेक तरकारीहरूमा भुटनको रुपमा पनि प्रयोग गर्ने चलन छ । क्वाँटी वा गेडागुडी पकाएपछि ज्वानोले झान्ने चलनको पछाडि पनि वैज्ञानिक कारण रहेको छ ।
 
क्वाँटी वा गेडागुडी खानाले कसैकसैलाई पेटमा ग्यास (वायु) हुने गर्छ । गेडागुडी खाएपछि पेट डम्म फुलेको जस्तो हुने र पेट कल्याङकुलुङ गरेर कराउने हुन्छ । ज्वानोले वायु हुनबाट रोक्छ । त्यसैले ज्वानोलाई भुटनको रुपमा प्रयोग गर्ने गरिएको हो । घाँटी दुखेको बेलामा पानीमा ज्वानो राखेर उमाली त्यसमा थोरै नून मिसाई घाँटी कुल्ला गर्नाले घाँटी दुखेको फाइदा गर्छ । त्यसैगरी रुघाखोकी लागेको बेला ज्वानो, नून र ल्वाङलाई मुखमा हालेर बिस्तारै रस चुस्नाले खोकी लागेको पनि कम हुन्छ । त्यसरी नै नाक टम्म बन्द भएको बेला पानीमा ज्वानो राखेर उमालेको पानीले दिनमा दुई–तीन चोटी बाफ लिनाले नाक खुल्छ । 
 
मेथी
मेथी हाम्रो भान्छामा नभइ नहुने मसला हो । मेथीलाई भुटनको रुपमा विशेष प्रयोग गरिन्छ । भिजाएर टुसा उमारेको मेथीलाई तरकारी वा अचार बनाएर खानाले यो स्वादिष्ट मात्र होइन, अत्यन्त पौष्टिक पनि हुन्छ । टुसा उमारेको मेथीमा विभिन्न खनिज पदार्थहरूका साथै भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । त्यसैंले गर्दा सुत्केरी महिलाहरूलाई मेथीको खीर बनाएर खान दिने चलन छ । मेथीले पौष्टिकता दिनुका साथै आमाको स्तनमा दूधको मात्रा पनि बढाउँछ ।
 
मेथीमा भोजनलाई पचाउने गुण पनि हुन्छ । पेट दुखेको बेलामा लसुन र मेथीको जाउलो ख्वाउने चलन हाम्रा हजुरआमाहरूको पालादेखि नै थियो । त्यसैंगरी मेथीको धूलोमा दही मिसाएर पखाला लागेको तथा अपच भएको बेलामा दिने चलन पनि छ । मेथीको प्रयोग मधुमेहका रोगीहरूका लागि पनि उपयुक्त मानिएको छ । हुन त मेथीमा रहेको कुन तत्वले वास्तविक रुपमा मधुमेहका लागि फाइदा गर्छ भन्ने कुरामा अनुसन्धान हुँदैछ ।
 
कागती 
कागती सहज र सस्तो पाइने फल हो । कागतीमा केही मात्रामा क्याल्सियम हुन्छ । कागती क्याल्सियमको लागि भन्दा भिटामिन सीको लागि प्रयोग गरिन्छ । स्वास्थ्यका लागि भिटामिन सीको महत्वबारे पर्याप्त मात्रामा अनुसन्धान भएका छन् । वैज्ञानिकहरू शरीरलाई क्यान्सरजस्तो घातक रोगसँग लड्न भिटामिन सीको महत्वका बारेमा अध्ययन–अनुसन्धान गरिरहेका छन् । विशेषगरी जाडो मौसममा कागतीको प्रयोगले विभिन्न सङ्क्रमणबाट हामीलाई बचाउन सक्छ । रुघाखोकी लागेको बेलामा तातो पानी वा चियामा कागती र मह हालेर पिउने गरिन्छ । गर्भवती अवस्थामा वाकवाकी लाग्दा वा अन्य बेलामा वाकवाकी लाग्दा कागतीको प्रयोग गरिन्छ । लौहतत्व पाइने विभिन्न किसिमका भोजन, जस्तै, मासको दाल, गेडागुडी, सागहरू खाँदा कागतीको रस हालेर खाने हो भने यसले रक्तअल्पतालाई रोक्न सहयोग पुर्‍याउँछ । यही वैज्ञानिक तथ्यलाई ध्यानमा राखेर लौहतत्व भएका औषधिहरूमा भिटामिन सी पनि मिसाइएको हुन्छ । तर औषधिमा मिसाइएको भन्दा प्राकृतिक रुपले भोजनमा पाइने कागती शरीरका लागि बढी उपयुक्त हुन्छ ।
 
बिरामी परेर उठेपछि धेरै जनालाई भोजनमा रुचि घट्ने गर्छ । यस्तो बेलामा कागती सुकाएर राखेको चाना खुवाउने गरिन्छ । अत्याधिक गर्मीले गर्दा कसैंकसंैलाई रिँगटा लाग्ने, वाकवाकी हुने हुन्छ । त्यस्तो बेलामा कागतीको सर्बत प्रयोग गर्नाले धेरै फाइदा गर्छ । कागतीको रसमा रहेको विशेष तत्वले हैजाका कीटाणुलाई मार्छ भन्ने वैज्ञानिक सोच पनि छ । आजकाल कागतीको प्रयोग लुगा धुने साबुन, डिटरजेन्ट पाउडर तथा सौन्दर्य प्रसाधनको रुपमा पनि हुने गर्छ । जाडो मौसममा ग्लिसिरिनमा गुलाफजल र कागती मिसाएर छालामा लगाउनाले हातखुट्टा फुट्दैन, छाला नरम हुन्छ । 
 
तुलसी
तुलसीको बोट केही हिन्दू समुदायको घरआँगनमा पूजा गर्नका लागि रोपिएको हुन्छ । वैदिक समयदेखि नै तुलसीलाई विष्णुको अवतार मानेर पूजा गरिंदै आएको छ । तुलसी पूजाको लागि मात्र नभएर औषधिको रुपमा पनि हाम्रा घरमा प्रयोग गरिन्छ । तुलसीमा धेरै औषधिका गुणहरू छन् भनेर वैज्ञानिक अनुसन्धानहरूले पनि पुष्टि गरिसकेको छ । तुलसीको पत्तालाई पानीमा राखेर उमालेर पिउनाले त्यसले रुघाखोकी लागेको बेलामा टम्म बन्द भएको नाक पनि खुल्छ । बच्चाहरूलाई रुघाखोकी लाग्दा नाक बन्द भएर मुखले सास फेर्नुपर्ने हुन्छ । यस्तो बेलामा तुलसीका चार–पाँचवटा पत्तालाई पानीमा राखेर बेस्सरी उमाल्ने र त्यसमा मह मिसाएर बच्चालाई पिउन दिनुपर्छ । यसले उनीहरूको नाक खुल्न मद्दत गर्छ । क्यान्सरसम्बन्धी रोगका निम्ति पनि तुलसी उपयोगी हुनसक्छ कि भनेर अनुसन्धानहरू भइरहेका छन् ।
 
ल्वाङ 
ल्वाङको प्रयोग आवश्यकताअनुसार विभिन्न प्रकारले गरिन्छ । खाना खाइसकेपछि मुखको स्वाद फेर्नका निम्ति ल्वाङको प्रयोग गरिन्छ । ल्वाङलाई गरम मसलाको रुपमा पनि प्रयोग गरिन्छ । ल्वाङमा औषधीय गुण छ भन्ने बुझेर भन्दा पनि व्यावहारिक रुपमा यसको आवश्यकताले गर्दा हामी यसलाई विभिन्न रुपमा प्रयोग गर्ने गर्छौं । गर्भावस्थामा वाकवाकी लाग्दा, लामो दूरीको बसमा यात्रा गर्दा वा अत्याधिक गर्मी भएको बेला ल्वाङलाई पानीमा उमालेर बिस्तारै पिउनाले वा ल्वाङ मुखमा राखेर चुस्नाले वाकवाकी कम हुन्छ । ल्वाङको औषधिय गुणलाई बुझेर आयुर्वेदका विभिन्न औषधिहरूमा यसको प्रयोग गरिएको छ । खोकी लागेको बेलामा ल्वाङलाई भुटी, त्यसलाई पिसेर महमा मिसाई चाट्नाले साधारण र सङ्व्रmमणको कारणले भएका खोकीहरू निको हुन्छ् ।
 
दही र मोही 
मोहीको महत्वको विषयमा योग रत्नाकार नामक ग्रन्थमा लेखिएको एउटा श्लोकको आशय यस्तो छ– “यदि कैलाशमा मोही (छाछ, वा मठ्ठा) हुँदो हो त शिवजीको कण्ठ विष रोक्नुको कारणले निलो हुँदैनथ्यो । वैकुण्ठमा मोही हुँदो हो त विष्णुको शरीर कालो हुँदैनथ्यो होला । देवराज इन्द्र सौन्दयविहीन हँुदैनथे होलान् । गणेशजीको पेट त्यति ठूलो हुँदैनथ्यो होला ।” यस श्लोकमा व्यक्त विचारबाट के अर्थ लाग्छ भने शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन मोहीले ठूलो भूमिका खेल्छ । कुनै व्यक्ति स्वस्थ छ भने उसको सौन्दर्य त्यसैं नै बढ्छ । यसैंगरी आयुर्वेदको अर्को एउटा ग्रन्थमा लेखिएको छ–“मोहीको नियमित सेवन गर्ने व्यक्ति रोगी हुँदैन । जसरी स्वर्गमा देवताहरूका लागि अमृत छ, त्यसैगरी मनुष्यका लागि मोहीको प्रयोग सुखदायी हुन्छ ।”
 
दही र मोहीलाई पहाड तथा तराईका गाउँघरमा हिजो पनि भोजनका प्रमुख वस्तु मानिन्थ्यो भने आज पनि गाउँघरमा तिनको महत्व त्यति नै रहेको छ । पाहुनाहरूलाई सत्कार गर्दा दही खुवाउने चलन अझै पनि छँदैछ । दही–मोही स्वादको हिसाबले मात्र नभएर स्वस्थ रहन र विभिन्न किसिमका समस्यालाई समाधान गर्न पनि त्यत्तिकै उपयोगी मानिन्छन् । दहीमा पानी हालेर घारघुर पारी मथेर नौनी निकालेपछिको अवस्थालाई मोही भनिन्छ । तराईतिर मोहीलाई ‘छाछ’ु भनिन्छ । कतिपय ठाउँमा यसलाई ‘गोरसु’ पनि भन्छन् । आर्युवेदिक विज्ञानका साथै आधुनिक विज्ञानमा पनि दहीको महत्वको बारेमा स्पष्ट व्याख्या गरिएको छ ।
 
दूधबाट दही बन्दा एक विशेष प्रकारका कीटाणु पैदा हुन्छ, जसले हाम्रो स्वास्थ्यका लागि निकै महत्व राख्छ । बच्चाबच्ची, गर्भवती महिला र वृद्धवृद्धाहरूको हाडको लागि नभई नहुने क्याल्सियम दहीमा पाइन्छ । क्याल्सियमको महत्व हाडको लागि अति नै हुन्छ । विशेषगरी उमेर बढ्दै जाँदा हाडको घनत्व कम हुँदै जान्छ र अस्टियोपोरोसिस नामक रोग लाग्ने सम्भावना हुन्छ । विशेषगरी महिनावारी बन्द भएका महिलाहरूमा यो समस्या बढी हुन्छ । यस समस्याबाट बच्नको लागि क्याल्सियमको अति नै महत्व छ । क्याल्सियमयुक्त भोजनको प्रयोग यस रोगबाट बच्ने एउटा राम्रो उपाय हो । दही र मोहीमा हुने क्याल्सियमले कुपोषित बच्चा तथा बिरामी भएर तङ्ग्रिन सुरु गरेका बालबालिका सबैका लागि विशेष महत्व राख्छ । किनभने दही दूधभन्दा धेरै सजिलोसँग पच्छ । दूध खान मन नलाग्ने वा कतिपय अवस्थामा दूध नपच्ने वयस्क व्यक्ति र बच्चाहरूका लागि पनि दही एउटा उत्तम भोजन हो ।
 
दूधबाट दही बन्दा विशेष प्रकारका लाभदायक कीटाणुहरू उत्पन्न हुन्छन् । ती कीटाणुहरूले पेटमा रहेका हानिकारक किटाणुहरूलाई नष्ट गर्न मद्दत गर्छन् । कतिपय व्यक्तिहरूलाई एन्टिबायोटिकको प्रयोग गर्दा दिसा–पखाला लाग्ने गर्छ । यसबाट बच्न दहीको प्रयोग अत्यन्त लाभदायक हुन्छ । दही पखाला रोक्नका साथै कब्जियत खुलाउन पनि उपयोगी सिद्ध भएको छ । अनुसन्धानले दहीमा रहेका लाभदायक कीटाणुले क्यान्सर उत्पन्न गर्ने कीटाणुको सक्रियता घटाउँछ र यसले आन्द्रामा हुने क्यान्सरलाई कम गर्न पनि मद्दत गर्छ भन्ने कुरा पनि देखाएका छन् । मध्यएसियाली देशहरू कजाकिस्तान, उज्वेकिस्तान तथा युरोपेली देश बुल्गेरियाका बासिन्दाहरू दैनिक भोजनमा दही बढी प्रयोग गर्ने भएकाले स्वस्थ हुन्छ् भनेर अध्ययनहरूले देखाएको छ । 
सन् २००० को डिसेम्बरमा बङ्गलादेशको राजधानी ढाकामा स्वास्थ्यसम्बन्धी एउटा सम्मेलन भएको थियो । त्यस सम्मेलनमा विश्व प्रसिद्ध किताब डाक्टर नभएमाका लेखक डा. डेभिड बर्नरले बच्चालाई दिसा–पखाला लाग्दा दिइने अत्यन्त राम्रो औषधि दही र भात हो भनेर भन्नुभएको थियो । कब्जियत आजको आधुनिक समाजमा ठूलो समस्याको रुपमा देखापरेको छ । कब्जियतले शरीरका विभिन्न भागमा समस्याहरू निम्त्याउँछन् । कब्जियतको समस्याबाट बच्न बाल, वृद्ध सबैले मोही र दहीको प्रयोग गरेमा यो समस्या स्वतः समाधान हुन्छ । दही र केरा मिसाएर खाएमा कुपोषित व्यक्ति, गर्भवती महिला, दूध ख्वाउने महिलाहरू र लामो बिरामीबाट भर्खर उठेका व्यक्तिैलाई अत्यन्त फाइदा हुन्छ । 
 
नेवार समुदायमा भोज खाने बेलामा सम्पूर्ण भोजन सिद्धि सकेपछि अन्तमा दही र मूला दिने चलन छ । यस परम्परालाई निकै वैज्ञानिक मान्नुपर्ने हुन्छ । दहीलाई एउटा सम्पूर्ण भोजन पनि मानिन्छ । जसले शरीरलाई पुष्ट राख्छ, विभिन्न समस्याको समाधान पनि गर्छ । भारतका कतिपय ठाउँहरूमा छाला राम्रो बनाउन दही, बेसन र बेसार मिसाएर लःग्राम लौहतत्व हुन्छ । यसमा बोसो हुँदैन । आगो वा तातोल पोलेर भएको संक्रमण भएको बेलामा मह प्रयोग गर्दा एकदमै लाभदायी हुन्छ । महलाई पखाला लाग्दा चिनीको सट्टामा पनि प्रयोग गर्न सकिन्छ । घाँटी दुखेको बेलामा कागती र मह मनतातो पानीमा मिलाएर दिएमा दुख्न कम हुन्छ । महमा छालालाई सुन्दर पार्ने तत्व भएकोले सौन्दर्य प्रसाधनहरू बनाउने सामग्रीहरूमा पनि महलाई मिसाइएको हुन्छ । 
दालचिनी
दिसा लागेको बेला एक चम्चा दालचिनीको धूलो एक कप उमालेकोे पानीमा हाल्नुहोस् । त्यसलाई १५ मिनेट जति छोपेर राख्नुहोस् । त्यस झोललाई पिउनुहोस् । दिसा लाग्न बिस्तारै कम हुन्छ ।
 
पानी
पानी स्वास्थ्यको लागि सबैभन्दा उपयोगी तत्व हो । पानी रोगको कारण पनि हुने गर्छ भने धेरै रोगहरू लाग्नबाट पनि यसले हामीलाई बचाउँछ । पानीको उपयोगितालाई बुँदागत रुपमा हेरौंः
१) गर्मीमा लूूबाट बच्न पानीको अत्यधिक प्रयोग गर्नुपर्छ ।
२) रुघाखोकी लागेको बेलामा सकेसम्म बढी पानी पिउनुपर्छ । यस रोगको कारण भाइरस हुने भएकोले पानी बढी प्रयोग गरेमा पिसाबको माध्यमबाट भाइरस शरीरबाट निस्कन्छ र रुघाले चाँडै छोड्छ ।
३) मूत्रनलीको सङ्क्रमणबाट बच्न सकेसम्म महिलाहरूले कम्तीमा पनि दिनमा १०–१२ गिलास पानी पिउनुपर्छ । 
४) महिनावारी भएको बेलामा तल्लो पेट दुख्ने समस्या भएका महिलाहरूले तातोपानीमा खुट्टा केही बेर सेक्नाले पेट दुख्न केही कम हुन्छ ।
५) कब्जियतको एउटा सबैभन्दा उत्तम औषधि पानी हो । कब्जियतको समस्या हुने मानिसले दिनभरिमा १०–१५ गिलास पानीको प्रयोग गनुपर्छ । राती सुत्नेबेलामा मनतातो पानी पिउने गर्नुपर्छ । यसले कब्जियतलाई रोक्नुका साथै शरीरमा भएका विषालु तत्वहरू फ्याँक्न मद्दत गर्छ ।
६) लामो हिंडाइपछि थकाइ लागेको छ, टाउको दुखेको छ भने पानी पिउने गर्नुहोस् । साथै मनतातो पानीमा खुट्टा डुबाएर केही बेर राख्नाले पनि थकाइ कम हुनजान्छ ।
७) ज्वरो १०३ डिग्री काटेपछि पानीको पट्टी लगाउनुपर्छ । तराईतिर लू लागेर बेहोस भएको व्यक्तिलाई पानी छम्किनु पर्छ र बेहोसीबाट उठेपछि पानी पिउन दिनुपर्छ । 
८) आगोले पोलेको बेलामा प्राथमिक उपचारको रुपमा पानी अमूल्य औषधि हो । पोलिएको भागलाई सकेसम्म चिसो पानीमा भिजाएर राख्नाले दुखाइ कम हुनुका साथै छालामा हुने भित्री समस्या पनि कम हुन्छ र फोका पनि उठ्दैन ।
९) रुघाखोकी लागेको बेला नाक बन्द हुने जुन समस्या हुन्छ । यस्तो बेलामा तातो पानीको बाफ लिएमा बन्द भएको नाक खुल्छ । 
 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution