स्वास्थ्य बीमा

स्वास्थ्य बीमा

स्वास्थ्य वीमा कसरी 
वार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेर सर्वसाधारणले प्रति परिवार ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न पाउने छन् ।  ५ जनासम्मको परिवारले २५ सय तिरेर परिवार बीमा गर्नुपर्ने छ र थप सदस्यले ४ सय २५ तिर्नुपर्ने छ ।  यो बीमा लागू भएपछि पनि सरकारले २५ शैय्यासम्मको अस्पतालबाट उपलब्ध हुने निःशुल्क स्वास्थ्य सेवा र ७० ओटासम्म औषधि निःशुल्क नै प्राप्त हुने छ ।

सन् १८८३ मा जर्मनीले र सन् १९९१ मा बेलायतले राष्ट्रिय स्वास्थ्य बीमा ऐनद्वारा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको थियो । स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य बीमा नीति २०७१ स्वीकृत भइसकेको  र स्वास्थ्य बीमा ऐन पारित भइसकेको छ । 

हरेक नागरिकको स्वास्थ्य बीमा
अब हरेक नागरिक ‘स्वास्थ्य बीमा’ मा आबद्ध हुनुपर्ने भएको छ । ऐन लागू भएपछि पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको परिवार र औपचारिक क्षेत्रमा कार्यरत व्यक्ति अनिवार्य रूपमा बीमामा आबद्ध हुनुपर्नेछ । ऐनले विपन्न र विशेष वर्गको प्रिमियम राज्यले व्यहोर्ने गरी चरणबद्ध रूपमा सम्पूर्ण नेपालीको स्वास्थ्य बीमा गर्ने ग्यारेन्टी गरेको छ । विपन्नको प्रिमियम सरकारले व्यहोर्नेछ । अहिले स्वास्थ्यमा हुने खर्चको ६० प्रतिशत व्यक्तिले आफ्नो पकेटबाट गरिरहेको छ ।

प्राप्त सुविधाहरू
पारित विधेयक अनुसार खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवाहरूमा बीमा लागू हुनेछ । त्यसैगरि बहिरङ्ग, भर्ना उपचार, आकस्मिक उपचार, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवाको लागि पनि बीमा लागू हुनेछ । हवाई एम्बुलेन्सबाहेकको एम्बुलेन्स सेवा र नेपाल सरकारले निशुल्क तोकेका अन्य सेवाहरूमा समेत बीमाले कभर गर्नेछ । योग, पोषण, बानी–व्यहोरा सुधार, मनोसामाजिक परामर्श, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व सेवा निःशुल्क हुनेछ । बीमाको पूर्ण कार्यान्वयन नहुँदासम्म सरकारले विभिन्न रोगका उपचारमा दिँदै आएको निःशुल्क सेवा कायम राख्ने र बीमा आबद्ध भए पनि भने आधारभूत सेवा मात्रै निःशुल्क हुनेछ । बीमा लागू भएपछि बिमितले तोकिएको स्वास्थ्य संस्थामा लिएको सेवाका आधारमा अस्पतालले नै भुक्तानी दाबी गर्नेछ । तोकिएको मूल्यभन्दा बढी रकमका चस्मा, श्रवणयन्त्रलगायत स्वास्थ्यसम्बन्धी सहायक यन्त्र, प्लास्टिक सर्जरी, कृत्रिम गर्भाधान सेवा निःशुल्क हुने छैन ।

सुविधा पाइने स्थानहरू
बिमितहरूले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित अस्पताल, स्वास्थ्य प्रतिष्ठान, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिक तथा सामुदायिक स्वास्थ्य एकाइबाट प्राप्त गर्नेछन् ।  निजीस्तरबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक तथा क्लिनिकसँग पनि सम्झौता गरेर सेवा प्रवाह गरिनेछ । सामुदायिक र सबै प्रकारका अस्पताल, नर्सिङ होमलगायत जुनसुकै स्वास्थ्य एकाइबाट समेत सेवा लिँदा बीमाले समेट्छ ।

सुविधा कसरी लिने ?
राष्ट्रिय स्वास्थ्य बीमा कार्यान्वयन भएपछि बिमितले बीमाको कार्ड लिएर नजिकको स्वास्थ्य संस्थाबाट प्राथमिक उपचार प्राप्त गर्नेछन् । गम्भीर समस्या भए प्राथमिक स्वास्थ्य संस्थाबाट बीमा बोर्डले तोकेको व्यवस्थाअनुसार रिफर भएर माथिल्लो तहको संस्थामा उपचार गर्ने व्यवस्था हुनेछ ।

सेवा नदिने बिमकलाई सजाय
बिमितलाई सेवा प्रदान नगरेमा, सेवा प्रदान गर्न ढिलासुस्ती गरेमा वा निर्धा्रित सेवा स्तरभन्दा न्यून गुणस्तरको सेवा दिएमा बीमा सेवा प्रदायक कम्पनीलाई १५ हजारदेखि २५ हजारसम्म जरिवाना गरी सो जरिवाना बराबरको रकम बिमितलाई क्षतिपूर्तिस्वरुप भराइ दिनेछ । बिमितले त्यस्तो सेवा प्रदायकउपर सो कार्य भएको मितिले ९० दिनभित्र उजुरी दिन सक्नेछ । बोर्ड वा बोर्डद्धारा निर्धारित निकायमा उजुरी दिनुपर्नेछ । कुनै बिमितले झुटो आरोप लगाएको ठहरिएमा बोर्डले बिमितलाई निजबाट भएको नोक्सानीको बिगो बराबरको रकम जरिवाना गर्न सक्नेछ । त्यस्तै, ऐनविपरीत काम गर्ने सेवा प्रदायकलाई पाँच लाख रुपैयाँसम्म जरिवाना लाग्नेछ । सहभागी हुने परिवारले सदस्य बसेको स्थानको वा पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र वा अस्पताल उल्लेख गर्नुपर्ने र उपचार पनि सोही स्थानमा गर्नुपर्ने व्यवस्था गरेको छ । ती निकायले उपचार गर्न नसकेमा मात्र अन्यत्र जान पाइन्छ ।  यदि अन्यत्र उपचार गरेमा ५० प्रतिशत आफैले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । यो स्वास्थ्य बीमा कार्यक्रमले प्रतिपरिवार ५० हजार रुपैयाँसम्मको उपचार सेवा, रोग निदान सेवा र तोकिएका औषधि पाउने गर्छ । १ वर्षमा कुनै एक व्यक्तिलाई सबै रकम आवश्यक भएमा सबै खर्च गर्न पाउने तर परिवारका अन्य सदस्यले जोखीम लिनुपर्ने प्रावधान छ । 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution