कोरोना भाइरसविरुद्धको खोप

पहिलो पटक अमेरिकाले मानवमा परिक्षण गर्दै

२०७६-१२-३
कोरोना भाइरसविरुद्धको खोप

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोप सोमबारदेखि मानवमा परिक्षण हुँदैछ।

अमेरिकामा उत्पादन भएको खोपको ‘क्लिनिकल ट्रायल’ अन्तर्गत सोमबार स्वतःस्फूर्त रुपमा परिक्षण डोज लिनका लागि तयार भएका व्यक्तिमा हुन लागेको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् ।

कुनै पनि सम्भावित खोपले पूर्ण स्वीकृति पाउनका लागि एक वर्षदेखि डेढ वर्ष लाग्ने स्वास्थ्य अधिकारीले बताएका छन् । खोपको परिक्षणका लागि ४५ जना वयश्क स्वतःस्फूर्त रुपमा तयार भएका छन् । परिक्षणका लागि प्रदान गरिने खोपबाट व्यक्तिमा कुनै संक्रमण हुने सम्भावना नरहेको जानकारी दिइएको छ। अमेरिकाको नेशनल इन्स्टिच्यूट्स अफ हेल्थले परिक्षणको व्यवस्था मिलाएको समाचार संस्था एपीले उल्लेख गरेको छ।

बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्यूटिक्स र नेशनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रुपमा खोप उत्पादन गरेका हुन्।

खोपको ‘साइड इफेक्ट’ कस्तो हुन्छ? भन्ने हेर्नका लागि प्रारम्भिक परिक्षण गर्न लागिएको र यसले बिस्तारित स्तरमा परिक्षणका लागि मार्ग प्रशस्त गर्ने बताइएको छ । खोपमा कोरोना भाइरसको कुनै पनि अंश नरहेको जनाइएको छ ।

परिक्षण गर्न लागिएको खोपमा भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउन सहयोग गर्ने अनुसन्धानकर्ताले बताएका छन्। भाइरस नियन्त्रणका लागि परिक्षण गर्न लागिएको खोपलाई एमआरएनए–१२७३ नाम दिइएको छ ।

एजेन्सीकाे सहयाेगमा

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution