कोभिड १९ – बदलिँदै पश्चिमा सभ्यताको परिभाषा

२०७६-१२-३

अनिल थापा

क्यानडा । 

आज, अर्थात् सन् २०२० को मार्च १६ तारिख । कोभिड १९ का कारण विद्यालयहरु बन्द भएको अर्कोदिन सपरिवार घरमा बसेर चिया खाँदै थियौँ । एनसीसीएफ (NCCF) चौतारी नामक भाइवर समूहमा एम एस पाण्डेको म्यासेज आयो । प्रधानमन्त्री जस्टिन ट्रुडोको सम्बोधनपछि स्टोरहरुमा भीड लागेको सन्देश थियो ।

प्रधानमन्त्री ट्रुडोले आफ्ना नागरिक र स्थायी बसोवास गर्ने आप्रवाशी बाहेकलाई क्यानडा प्रवेशमा रोक लगाउने सम्बोधन गरेका थिए । त्यसपछि बल्ल मेरो होस् आयो । चिया खाइसकेर खाद्य सामग्रीको जोहो गर्न कोस्ट्कोतिर हानिएँ । सोमवार दिउँसोको समय अरु बेला भएको भए खासै भीड हुँदैनथ्यो । कोस्ट्को प्रवेश गर्दा पार्किङ् लटबाट अनुमान गर्न सकिन्थ्यो भित्रको भीड ।

 

स्वभाविक थियो । मानिसहरुमा त्रास छ । कसलाई कतिबेला कोरोना भाइरसले आक्रमण गर्छ ? कति समयसम्म यो त्रास रहन्छ ?अत्यावश्यक सामग्री अभावको संकेत प्रष्ट देखिइसकेको छ । चीनबाट शुरु भएको प्राणघातक यो भाइरस संसारभरि फैलिरहेको छ । सबै देश त्रासमा छन् । क्यानडाकी ‘फस्ट लेडी’मा यो भाइरसको संक्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री पनि ‘आइसोलेसन’मा बसेका छन् । आजका मितिसम्म विश्वभर साढे ६ हजारको ज्यान गइसकेको छ भने हजारौँ संक्रमित छन् र यो संख्या नाटकीयरुपमा बढिरहेको छ । जसकाकारण उत्पादन, वितरणमा असर परेको छ । विभिन्न देशले सीमा बन्द गरेका छन् र संक्रमणकाल घोषणा गरेका छन् । नवसामन्ती युगदेखि पूँजीवादको यो चरणसम्म आइपुग्दा अर्थतन्त्र उत्पादनमुखिभन्दा वितरणमुखि केन्द्रित भयो ।

 

विश्वव्यापीकरणका कारण एउटा देश अर्को देशमा आश्रित भएका कारण कुनै एक देशमा उत्पादन वा वितरणमा उतारचढाव हुनासाथ त्यसको असर धेरै देशमा पर्छ । अहिले त्यै अवस्था छ । उत्पादन र वितरणमा कमी आएपछि खासगरी पश्चिमा विकसित देशहरु संकटमा परेका छन् । यी देशहरुमा ट्वाइलेट पेपरका लागि हानाहान भएको सन्देश त्यसैगरी फैलिएको छ जसरी दोस्रो विश्वको प्रभावका कारण सोभियत संघमा पाउरोटीका लागि संघर्ष हुन्थ्यो । र ‘बाँच्नका लागि भएको’ यस्तो संघर्षप्रति विकसित देशको अहिलेको पुस्तामा नजरअन्दाज थियो ।

 

मध्यपूर्वका युद्धग्रस्त देशबाट ल्याइएका शरणार्थीलाई शरण दिने क्रममा शरणार्थीहरुले खाना तथा लत्ता कपडा, जुन यथेस्ट मात्रामा थियो, त्यसका लागि लुछाचुँडी गरेको दृश्य हेर्दै ‘असभ्य’ भनेर व्याख्या गर्नेहरु नै आज ट्वाइलेट पेपरका लागि हानथाप पर्दैछन् ।

 

सभ्य र असभ्यको परिभाषा सापेक्षित हुन्छ भन्ने कुरा यतिबेला प्रस्ट भएको छ । आदिमकालदेखिका आधारभूत मानवीय स्वभावहरुको व्याख्या निरपेक्ष हुन नसक्ने रहेछ ।

 

वैज्ञानिक चार्ल्स डार्विनले भने झैँ प्रकृतिमा बाँच्नको लागि संघर्ष चलिनै रहन्छ । ‘….सजीवहरूको सङ्ख्या अत्याधिक बढेर जान्छ र खान बस्नको अभाव सृजना भई बाँच्नको लागि रोग र वातावरणसँग निरन्तर संघर्ष गर्नुपर्छ । संघर्ष गर्न सक्ने जीव अर्को पुस्तामा जान सक्षम हुन्छन् भने संघर्ष गर्न नसक्ने लोप भएर जान्छन् । प्राकृतिक छनौट डार्बिनको सिद्धान्तको मुख्य कडी हो । संघर्षको क्रममा जीव कति बाँच्ने भन्ने कुरा प्रकृतिले छनौट गर्दछ ।’

 

मानिस सभ्य र उदार बन्ने अभाव नहुँदासम्म हो । जब बाँच्नको लागि संघर्ष चल्न थाल्छ पृथ्वीको जुनसुकै ध्रुवको मानिसको पनि प्रवृत्ति एउटै हुन्छ ।

 

सन् २०१६ को सेप्टेम्बर १३ मा पहिलो पटक क्यानडा ओर्लिएपछि त्यसको भोलिपल्ट बैंकमा खाताखोल्न गएको थिएँ । रोयल बैंक अफ क्यानडामा बैंकिङ् एडभाइजरका रुपमा कार्यरत मित्र प्रकाश बर्तौलाले बैंकिङ् सुरक्षा सम्बन्धि केही जानकारी दिनुभयो । ‘यहाँ पनि यस्तो असुरक्षा हुन्छ ?’ प्रकाशजी बोलिरहेका बेला मेरो मुखबाट अकस्मात् फुस्कियो । ‘अनिलजी दुनियाँमा रामराज्य त कहाँ छ र ?’ साँच्चै हामीलाई लागेको हुन्छ हाम्रोमा मात्रै हो खराब वा असुरक्षा ।

 

तर यो पनि सत्य हो कि विकसित देशहरुमा राज्य  जनमुखि छ । जनताले आधारभूत कुराका लागि खासै टाउको दुखाउनुपर्दैन । आधारभूत कुरामा टाउको दुखाउनु नपरेपछि मानिसमा एकप्रकारले ‘सभ्यपन’ देखिने होला ।

 

प्रसङ्ग थियो कोस्ट्कोको । प्राय ग्राहकले कार्ट गुडाउँदै किनमेल गर्छन् । एउटा छेउँबाट आउने र अर्को छेउँ जाने गर्छन् । कोही हतारमा देखियो भने वा अर्को तर्फबाट आएको कसैको पाइला उचालेजस्तै मात्र देख्यो भने पनि अर्कोले ‘आफ्ठर यू’ अर्थात् तिमी पहिले जाउ भन्दै बाटो छोडिदिन्छन् । अनि जोसँग पनि आँखा जुध्यो भने मुसुक्क हाँस्ने र उस्तै परे के छ खबर भनेर सोध्ने,हिँड्दा हिँड्दै ‘शुभदिन’ भन्ने यहाँको संस्कार नेपालबाट आउनासाथ सबैभन्दा मन परेको कुरा थियो ।

 

तर आज त्यस्तो भएन । सबैको अनुहारबाट मुस्कान हराएको थियो । कसैले कसैलाई बाटो छोड्दैनथ्यो । ठट्टा गर्दा क्यानडियनलाई उडाउने एउटा जोक छ – ‘क्यानडियनहरु मेसिनसँग ठोक्किए भने पनि मेसिनलाई सरी भनेर हिँड्छन् ।’ तर आज एकापसमा कार्ट ठोक्किँदा पनि ‘सरी’ भन्ने फुर्सद कमैलाई थियो । विल्कुल फरक वातावरण । संकटले ‘सभ्यता’को परिभाषा नै बदल्दिने रहेछ । र डार्बिनले भनेझैँ यो प्रकृतिमा हरेक जीवबीच बाँच्नको लागि संघर्ष चलिनै रहन्छ ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution