स्वास्थ्य अभियन्ता डा. सेन्डरप्रति श्रद्धाञ्जली सभा

२०७६-०५-२०


काठमाडौं, १८ भाद्र
जनताको स्वास्थ्य अभियानका संस्थापक तथा अभियन्ता डा. डेविद सेन्डरको निधनप्रति बुधबार जनताको स्वास्थ्य अभियान नेपाल र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले श्रद्धाञ्जली सभा राखेको छ । डा.सेन्डरका गत शुक्रवार बेलायतमा हृदयाघात भइ ७४ वर्षको उमेरमा मृत्यु भएको थियो । श्रद्धाञ्जली कार्यक्रममा स्वास्थ्य अधिकारकर्मीहरुले जनताको स्वास्थ्य अधिकारका लागि एकताबद्ध भइ व्यापारमुखी स्वास्थ्यको विरोध गरी नीतिगत सुधार ल्याउन सकेमा मात्र साँचो अर्थमा उनको आत्माले चीर शान्ति हुने विचार व्यक्त गरे ।
विगत ६ वर्षदेखि उनी जनताको स्वास्थ्य अभियानका उपाध्यक्ष हुन् । उनले दक्षिण अफ्रिकी जनताको स्वास्थ्य सुधारका लागि महत्वपूर्ण योगदान गरेका छन् । उनले लेखेको स्वास्थ्यका लागि संघर्ष (स्ट्रगल फर हेल्थ), अफ्रिका एन्ड ग्लोबल हेल्थलगायत जनस्वास्थ्यका क्षेत्रमा बहुचर्चित पुस्तक हुन् । 
श्रद्धाञ्जली कार्यक्रममा जनताको स्वास्थ्य अभियान नेपालका प्राडा शरदराज वन्तले जनताको स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय कार्य गरेर डा.डेविडले कमाएको ख्याती र प्रतिष्ठाको चर्चा गरे । अहिले पनि जनताको स्वास्थ्य अधिकारका लागि उत्तिकै काम गर्नुपर्ने स्थिति रहेको र थप चुनौतिपूर्ण बन्दै गएको धारणा उनले राखे । 
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले स्वास्थ्य सँधै नै जनताको पक्षमा हुनुपर्ने विचार प्रकट गर्दै यसका लागि नीतिगत सुधारको आवश्यकता रहेको चर्चा गरे । डा.सेन्डर नेपालको स्वास्थ्य अधिकारमा प्रत्यक्ष –अप्रत्यक्ष रुपमा सहभागी रहँदै आएको पनि मुल्मीले स्मरण गरे।
डा.महेश मास्केले जनताको स्वास्थ्यका लागि ग्लोबल एक्सन पोलिसी, नेसनल हेल्थ पोलिसीका बारेमा चर्चा गर्नुपर्ने बताए । 
कार्यक्रममा डा.अर्जुन कार्की, डा.केदार बराल, डा.सचिन घिमिरे, डा.सरिता श्रेष्ठलगायतले जनताको स्वास्थ्य अधिकारसम्वन्धी गतिविधीलाई लिपिवद्ध गर्दै लानुपर्ने धारणा राखे । 

 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution