डेंगु नियन्त्रण नहुनुका १० कारण

समाधानका उपाय

२०७६-०५-१८

 डेंगु ज्वरो नियन्त्रण नभएर मुख्यतयाः स्वास्थ्यमन्त्री, सचिव र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख चौतर्फी आलोचित छन् । गत वैशाख ३० देखि सुनसरीको धरानबाट देखिएको डेंगु ज्वरो घट्नुको सट्टा दिन प्रतिदिन बढिरहेको छ । हालसम्म देशभरका ४२ जिल्लाका ५ हजारभन्दा बढी मानिस डेंगु ज्वरोको संक्रमणमा छन् । यो सरकारी तथ्यांक भएपनि यसलाई अन्डर रिपोर्टिङ भन्न सकिन्छ । किनभने, केही मानिस निजी क्लिनिक र ल्याबमा डेंगु ज्वरो सेरोलोजी टेष्ट गरेकाले सो तथ्यांक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्राप्त गर्न सकेको छैन् । डेंगु प्रकोपले धेरै जनसंख्यालाई प्रभावित गरे पनि समय—समयमा सम्बन्धित सरोकारवाला निकाय एक्सनमा नउत्रदा डेंगु ज्वरो नियन्त्रणमा आउन नसकेको हो ।

डेंगु नियन्त्रण नहुनुका मुख्य कारण

१. मौसमी परिवर्तन सामान्यतयाः

डेंगु ज्वरो गराउने भेक्टर एडिस जातको पोथी लामखुट्टे वर्षायाम पछि (पोष्ट मनसुन) सक्रिय हुने भएपनि यस पटक बैशाख जेष्ठतिर नै फाट्टफुट्ट वर्षा सुरु भएकोले प्रि–मनसुनबाट नै डेंगु ज्वरोको प्रकोप अचानक वढेको होे । लामखुट्टेका अण्डा र लार्भा जब पानीको सम्पर्कमा पुग्छ, तब लामखुट्टेका रुपमा विकास हुने गर्दछन् ।

२. संघीय सरकारले समयमा सक्रियता नदेखाउनु  डेंगु ज्वरोको प्रकोप फैलनासाथ १ नं प्रदेश सरकार र स्थानीय सरकार विशेष गरी धरान, इटहरी उपमहानगरपालिका तथा विराटनगर महानगरपालिका लगायत नगर तथा गाउँपालिकाले प्राथमिकताको साथ गतिविधि संचालन गरेपनि संघीय सरकारले सो समयमा जति सक्रियता देखाउन सक्नुपथ्र्यो, त्यो देखाएको पाइएन् ।

३. तीन तहको सरकारबीच समन्वयको कमी डेंगु ज्वरोको प्रकोप फैलनासाथ स्थानीय सरकारले प्रदेश र संघसँग सहयोग याचना गरे पनि समन्वय र नेतृत्वको कमी देखियो । तीनै सरकारले एक अर्काको मुख ताक्दा ताक्दै डेंगु ज्वरोले ठूलो जनसंख्यालाई प्रभावित गरेको पाइयो । स्थानीय सरकारसँग बजेटको अभाव, प्रदेशले संघले गर्नुपर्छ र संघले सबै बजेट प्रदेश र स्थानीयमा पठाएको भन्दै दोषारोपण गर्दा गर्दै समय बित्यो ।

४. अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी नहुनु  यो अवधिमा संघ र प्रदेश तहका पदाधिकारी डेंगु ज्वरोको अनुगमन तथा सुपरिवेक्षण गर्न आएपनि मौखिक निर्देशन र जानकारी दिएर फर्कने गरेकाले डेंगु ज्वरो नियन्त्रणको काम त्यति प्रभावकारी हुन सकेन ।

५. बजेट अभाव इपिडिमियोलोजी तथा रोग नियन्त्रण शीर्षकका लागि संघ, प्रदेश र स्थानीय सरकारले पर्याप्त मात्रामा बजेट बिनियोजन नगर्नु पनि डेंगु ज्वरो नियन्त्रण नहुनको अर्को महत्वपूर्ण कारण हो । यस पटकको डेंगु महामारीले राम्रो पाठ सिकाएको छ । खासगरी स्वास्थ्य क्षेत्रलाई आवश्यक मात्रामा बजेट छुट्याउनुपर्नेतर्फ नीति÷निर्माताको ध्यानाकर्षण गराएको छ ।

 

६. समयमा स्वास्थ्यका कर्मचारी समायोजन नहुनु  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १४ चैत्र २०७५ मा नै समायोजनको काम सम्पन्न भएको घोषणा गरेपनि स्वास्थ्यतर्फका कर्मचारीले हालसम्म पनि कर्मचारी समायोजन गर्न नसक्नुको कारण तीनै तहमा कर्मचारीको अभाव भएकोले डेंगु नियन्त्रण गर्न प्रभावकारी ढंगवाट गतिविधि संचालन गर्न सकिएन् । जसका कारण पनि डेंगु ज्वरो नियन्त्रण बाहिर गएको हो ।

७. जनचेतनाको कमी हुनु  डेंगु ज्वरो गराउने लामखुट्टे दिउँसो सक्रिय हुने भएकोले विहान, दिउँसो र साँझमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । डेंगु ज्वरो नियन्त्रणको मुख्य उपाय नै संक्रमित लामखुट्टेको टोकाइबाट बच्नु हो । त्यस्तै, लामखुट्टेको संख्यालाई पनि नियन्त्रण गर्न सक्नु पर्दथ्यो । जस्तोः लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने कार्य । यी सबै कार्य संचालन गर्न समुदायको केही जनंख्यामा जनचेतनाको कमी देखियो भने केहीको बेवास्ता गरेको पाइयो ।

८. समुदायको सक्रिय सहभागिता नहुनु समुदायको केही मानिसमा डेंगु ज्वरोवाट बच्ने सबै उपायहरुबारे जानकारी हुँदाहुँदैं पनि सक्रियता नभएको कारण डेंगु दिन प्रतिदिन वृद्धि भइरहेको छ । डेंगु ज्वरोबारे वडास्तरमा जनचेतनात्मक कार्यक्रम संचालन गर्दा केही मानिसहरुले डेंगु ज्वरो जनप्रतिनिधि र स्वास्थ्यकर्मीको दायित्व मात्र सम्झे । घर वरीपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, इनडुवरमा पानी जम्मा हुन नदिन र विशेष गरी दिउँसो लामखुट्टेको टोकाइबाट वच्न सके मात्र पनि डेंगु ज्वरो नियन्त्रण हुने निश्चित प्राय छ । त्यस्तै, डेंगु ज्वरो गराउने लामखुट्टेको अण्डा र लार्भाको खोजी तथा नष्ट गर्ने अभियानमा समुदायको परिचालनमा कमी हुनु पनि डेंगु ज्वरो वढ्नुको कारण बन्यो ।

९.अन्धाधुन्ध नियन्त्रण प्रयास गर्नु  स्थानीय सरकार र जनप्रतिनिधिलाई डेंगु नियन्त्रण गर्न प्रभावित क्षेत्रका जनताले चर्को दबाब दिएपछि डेंगु नियन्त्रण गर्न कतिपय स्थानीय निकायले अन्धाधुन्ध र अनविज्ञ रुपमा नियन्त्रण प्रयास गरे । जनताको आँखामा छारो हान्ने प्रयास भएँ । परिणामतः नियन्त्रण हुन सकेन । जस्तोः लामखुट्टे नियन्त्रण गर्न फगिङ्ग ग¥यो । त्यस्तो केही पालिकाले त दमकलमा पानी र मट्टीतेलको अघुलनशील मिश्रण बनाएर छर्कने काम पनि गरे । जुन गतिविधिहरु लामखुट्टे नियन्त्रणका लागि प्रभावकारी होइन् । यस्ता कार्यलाई वातावरणलाई थप असर पु¥याउँछ ।

१०. विशेषज्ञको राय नलिनु  डेंगु ज्वरो नियन्त्रण गर्न लामखुट्टेको अण्डा, लार्भा र एडल्ट लामखट्टे नियन्त्रण नगरी असम्भव छ । तसर्थः डेंगु ज्वरोले प्रकेपको रुप लिनु पूर्व नै वा समयमा नै विशेषज्ञको रायअनुसार संघ, प्रदेश र स्थानीय तहले गतिविधिहरु संचालन गर्नु पर्दथ्यो । डेंगु ज्वरो नियन्त्रणका उपाय डेंगु ज्वरो नियन्त्रण गर्न नसकेपछि अहिले सरकारले सेना र प्रहरी परिचान गरेर भएपनि डेंगु ज्वरो नियन्त्रण गर्ने आश्वासन दिइरहेको छ । हुन त डेंगु ज्वरो नियन्त्रणको लागि लामखुट्टेको लार्भा अण्डा खोजी र नष्ट गर्ने कार्य ‘सर्च एण्ड डिस्ट्रोएड’ भन्ने फौजी शव्दावली नै हो । तर, समुदायको मानिस सक्रिय भएर अभियान कै रुपमा डेंगु ज्वरो नियन्त्रणमा नलागे सेना वा प्रहरीको सहयोगले मात्र डेंगु नियन्त्रण गर्छु भन्नु केवल सरकारले आफ्नो आत्मरक्षा गर्नु मात्र हो । साँच्चिकै सरकार डेंगु नियन्त्रणमा लागेको हो भने संघीय सरकारको नेतृत्वमा प्रभावित क्षेत्रमा स्थानीय घर, टोल, गाउँ र वडा हुँदै सिगो पालिकाका सबै सरकारी निकाय, गैसस, विद्यालय, सेना प्रहरी र सरोकारवाला संघ सस्था र व्यक्तिसँगको संयुक्त सहकार्यमा निरन्तर जनचेतनात्मक गतिविधिहरु र ‘सर्च एण्ड डिस्ट्रोएड’ कार्यलाई बालमैत्री वडा, पूर्ण खोपयुक्त पालिका वा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरेजस्तै अभियान कै रुपमा डेंगु ज्वरोमुक्त वडा र पालिका निर्माण अभियान संचालन गर्नुपर्ने आवश्यकता देखिन्छ । नत्रभने मौसमअघि देखिने डेंगु ज्वरोले अझै नेपालीहरुको विशेष चाड दशै तिहारसम्मै दुःख दिने निश्चित प्रायः छ ।
 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution