डाक्टर तथा स्वास्थ्यकर्मीलाई भ्याटमा दर्ता छुट

२०७६-०३-१४

सेवाग्राहीलाई प्रदान गरेको स्वास्थ्य परामर्श सेवामा स्वास्थ्यकर्मी वा चिकित्सकलाई मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने भएको छ । चालू आर्थिक वर्षको बजेट कार्यक्रममार्फत सरकारले स्वास्थ्यसेवा कर हटाए पनि चिकित्सक र स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनुपर्ने नियम लगाएको थियो ।

नेपाल चिकित्सक संघले अव्यावहारिक नियमका कारण बिरामीलाई मार परेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले भ्याटमा दर्ता हुनुपर्ने नियम हटाउन माग गर्दै आएको थियो । यो नियम हटाउन संघले थालेको अभियानमा निजी अस्पताल सञ्चालकहरुको साझा संस्थाको नेतृत्वले समेत साथ दिएको थियो ।
सोहीअनुसार नै आन्तरिक राजस्व विभागले परिपत्र जारी गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई भ्याटमा दर्ता छुट गर्ने गरी मातहतका कार्यालयलाई पत्राचार गरिसकेको जानकारी आएको संघका महासचिव डा. लोचन कार्कीले बताए ।

विभागले १५ पुसको पत्रमार्फत स्वास्थ्यसेवालाई भ्याटछुट हुने वस्तु तथा सेवामा समावेश गरेको हुँदा सरकारले तोकेको सम्बन्धित परिषद्मा दर्ता भएको चिकित्सक र स्वास्थ्यकर्मीलाई भ्याटमा दर्ता छुट दिने निर्णय गरेको जनाएको छ ।

आन्तरिक राजस्व विभागले यस्तो बेहोराको पत्र ठूला करदाता कार्यालय हरिहरभवन, मध्यमस्तरीय करदाता कार्यालय बबरमहल, सबै अन्तरिक राजस्व कार्यालयहरु र सबै करदाता कार्यालयमा पठाएको छ ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution