वयस्क पुरुषले रगतको पीएसए परीक्षण अनिवार्य गर्नुपर्छ

२०७६-०२-२४

 

 
वयस्क पुरुषले रगतको पीएसए परीक्षण अनिवार्य गर्नुपर्छ

डा. महेशबहादुर अधिकारी, नेपाल मेडिसिटी अस्पताल

४० वर्ष लागेपछि उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको रोग, दमलगायत रोगहरू देखा पर्न थाल्छन् । यसँगै ४५ वर्षतिर प्रोस्टेटको समस्या पनि देखिने सम्भावना बढी हुन्छ । परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएको रहेछ भने वंशाणुगत रोगको रूपमा देखिने सम्भावना झन् अधिक हुन्छ । यसर्थ, पुरुष वयस्क भएपछि प्रोस्ट्रेटको परीक्षण गर्नुपर्ने सुझाव डा. महेशबहादुर अधिकारीको छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस र एमएस गरेपछि सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलबाट फेलोशिप गरेका डा. अधिकारीले उमेर पुगेपछि रगतको पीएसए परीक्षण गनुपर्ने बताएका छन् । प्रस्तुत छ डा. अधिकारीसँग पूर्णभक्त दुवालले गरेकोे कुराकानीको सम्पादित अंश :

प्रोस्टेट क्यान्सर के हो ?
प्रोस्टेट एक ग्रन्थी हो । यो पिसाबनलीको चारैतिर फैलिएको हुन्छ । यसको मुख्य काम शुक्राणुलाई पोषण दिनु हो । सामान्यतया यो ग्रन्थीको वजन १८ ग्राम हुन्छ । कोषहरूको अनावश्यक विभाजन भई यसको आकार÷वजन बढेपछि क्यान्सरको खतरा रहन्छ । प्रोस्टेट ग्रन्थीको वजन ३० देखि ५० ग्राम पुग्दा प्रोस्टेट क्यान्सर हुन्छ ।

प्रोस्टेट क्यान्सर हुँदा के हुन्छ ?
विनापरिश्रम लगातार पिठ्युँ वा शरीरको कुनै पनि भाग दुखिरहनु प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ । लगातार शरीरको तौल घट्दै जानु पनि प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ । विना कुनै कारण छिटोछिटो शरीरको तौल घट्यो भने सम्झनुहोस्, त्यो क्यान्सरको संकेत हो ।

पाचन प्रक्रियाले सही ढंगले काम नगर्नु पनि प्रोस्टेट क्यान्सरको लक्षणमध्ये एक हो । प्रोस्टेट क्यान्सर हुँदा शरीरको रोग–प्रतिरोधक क्षमतामा पनि ह्रास आउँछ । यसले शरीरमा अन्य रोगको समेत खतरा बढाउँछ ।

प्रोस्टेटको समस्या कहिले देखापर्छ ?
पिसाब थैली र पिसाब नलीको बीचमा रहेको प्रोस्टेट ग्रन्थीले वीर्यलाई आवश्यक पर्ने तŒव उत्पादन गर्छ । सामान्यतया ४५ वर्षको उमेरपछि पुरुषलाई प्रोस्टेटको समस्या देखिन थाल्छ । यो उमेर समूहपछि प्रोस्टेटको आकार र वजन बढ्ने हुनाले यसबाट पिसाब र मिर्गौलासम्बन्धी समस्या आउन सक्छ । अन्य मुलुकमा ५५ देखि ६० वर्षको उमेरका पुरुषले अनिवार्य रूपमा रगतको पीएसए (प्रोस्टेटिक सेन्सेटिभ एन्टिजिन) परीक्षण गर्छन् । पीएसए लेभल ४ भन्दा बढी भयो भने क्यान्सर हो कि भनेर थप परीक्षण गर्नुपर्ने हुन्छ ।

यसको परीक्षण तथा उपचार कसरी गरिन्छ ?
शुरूमा वयस्क पुरुषको रगतमा पीएसए जाँच गरिन्छ । तर, पीएसए बढ्दैमा क्यान्सर भएको छ भन्ने चाहिँ हुँदैन । यो प्रोस्टेट क्यान्सर पत्ता लगाउन गरिने सामान्य स्क्रिनिङ मात्र हो । त्यस्तै, पिसाबमा संक्रमण छ कि छैन भनेर ल्याब परीक्षण गरिन्छ । ‘युरिन कल्चर’ परीक्षण पनि गर्नुपर्ने हुन सक्छ । किड्नी जाँचबाट चाहिँ प्रोस्टेटले किड्नीमा असर गरेको छ कि छैन भन्ने कुरा पत्ता लगाइन्छ । प्रोस्टेट क्यान्सर भएको शंका भएमा बायोप्सी गरिन्छ । त्यसबाट पनि क्यान्सर पत्ता नलागेमा ‘एमआरआई गाइडेड बायोप्सी’ गर्नुपर्ने हुन्छ । नेपालमा प्रोस्टेटको बायोप्सी गर्ने उचित प्रविधि मेडिसिटीसँग मात्र छ । शिक्षण अस्पताल, महाराजगञ्जले पनि खरीद प्रक्रिया अगाडि बढाएको छ । त्यसपछि क्यान्सरको अवस्था पत्ता लगाई उपचार गरिन्छ । शुरुआती चरणको क्यान्सर भएमा ‘रोबोटिक सर्जरी’ गर्न सकिन्छ र पूरै निको हुन्छ । प्रोस्टेट क्यान्सर अरू क्यान्सरजस्तो चाँडो फैलिएर गम्भीर असर पार्दैन । प्रोस्टेट क्यान्सर भए÷नभएको थाहा पाउन समय–समयमा क्यान्सर स्क्रिनिङ गरिरहँदा यसको जोखिमबाट बच्न सकिन्छ ।

यो रोगको समस्या नेपालमा कस्तो छ ?
प्रोस्टेट क्यान्सर पहिला धनीलाई लाग्ने रोग भनिन्थ्यो । अहिले रोगको निदान सहज रूपमा हुन थालेपछि सबैलाई उत्तिकै लाग्ने रोग भन्ने पुष्टि भइसकेको छ । पुरुषमा रोगप्रति चेतनाको विकास, चिकित्सकमा ज्ञान र अनुभवको वृद्धि र पीएसए जाँचको पहुँच इत्यादि धेरै कारणले बढ्दै आएको आँकडा छ । प्रोस्टेट क्यान्सर भनेर निदान भएपछि यो रोग ग्रन्थीभित्रै सीमित छ वा त्यहाँबाट निस्केर फैलिएको छ भन्ने थाहा पाउन विभिन्न रक्त परीक्षण, एक्स–रे, सिटिस्क्यान, अल्ट्रासोनोग्राफी, सम्पूर्ण अस्थिपञ्जरको विकिरण जाँच, एमआरआईजस्ता विभिन्न महŒवपूर्ण तथा जटिल आधुनिक परीक्षणबाट उपचार तथा रोग व्यवस्थापनको रेखा कोर्न अत्यन्त ठूलो सहयोग पुग्छ ।

प्रोस्टेट क्यान्सर प्रमाणित बिरामीको उपचार कसरी गरिन्छ ?
८० प्रतिशतभन्दा बढी बिरामीमा प्रोस्टेट क्यान्सरले घातक रूप लिँदैन र लामो समय लगाएर विकसित हुने भएकाले शरीरमा भएका अरू नै जटिल रोगबाट रोगीको मृत्यु हुने गर्छ ।

उपचार गर्ने कि चिकित्सकको सक्रिय तथा निरन्तर निगरानीमा बस्ने भनेर चिकित्सक र बिरामीबीच प्रष्ट बुझ्ने गरी गहिरो परामर्श हुनुपर्छ । उपचार गर्ने हो भने कहिलेसम्म ? किन ? कुन प्रकारको ? परामर्श र विचारविमर्शको आवश्यकता पर्छ । किनभने प्रायः प्रोस्टेट क्यान्सर लागेको व्यक्तिमा अरू क्यान्सरमा जस्तो ज्यानको खतरा हुँदैन । यो रोग लागेपछि पनि व्यक्ति १० वर्ष बाँच्न सक्छ । यद्यपि, विकसित मुलुकमा खर्च बढी हुने भए पनि रोबोटबाट प्रोस्टेट क्यान्सरको उपचार गर्ने गरिन्छ ।

नेपालमा प्रोस्टेट क्यान्सरबाट पीडित पुरुषको संख्या बढ्दै गएको छ । दीर्घायु, स्वास्थ्यप्रति बढेको जनचेतना, विशेषज्ञ चिकित्सकको वृद्धि, ‘पीएसए रक्त परीक्षण’ र आधुनिक उपकरणको उपलब्धताले रोग समयमै निदान हुन सक्ने भएकाले बिरामी संख्या बढेको हो ।

प्रोस्टेट क्यान्सर ग्रन्थी बाहिर फैलिन शुरू भइसकेको भए पूर्ण उपचार हुँदैन । रोगबाट उत्पन्न हुन सक्ने पीडा र अरू जटिल परिस्थितिसँग सामना गर्न भने उपचारले सघाउँछ ।

प्रोस्टेट क्यान्सरको लक्षण के हो ?
‘यो प्रोस्टेट क्यान्सरको मात्र लक्षण हो’ भन्न मिल्ने कुनै विशिष्ट लक्षण छैन । खासगरेर शुरूमा प्रोस्टेट क्यान्सर लक्षणहीन हुन्छ । प्रोस्टेट क्यान्सरको प्राकृतिक विकास १०–१५ वर्ष लगाएर हुने गर्छ । थुप्रै बिरामी चाल नपाएर शरीरमा भएका अरू रोगको कारण मृत्यु वरण गर्छन् ।

प्रायः ६० वर्ष पुगेपछि प्रोस्टेट क्यान्सर बढी देखिन्छ । त्यो उमेरमा थुप्रै पुरुष मधुमेह, उच्च रक्तचाप, मिर्गौला तथा कलेजो रोग, दम तथा फोक्सो रोग, आमाशय तथा आन्द्राको रोग आदिबाट पीडित हुने सम्भावना धेरै हुन्छ । धेरैजसो बिरामी ढाड दुख्यो भनेर उपचार गर्न आउँछन् । कति त हड्डीसम्म क्यान्सर फैलिसकेको अवस्थामा आउँछन् । ढाडको परीक्षण गर्दा प्रोस्ट्रेट क्यान्सर भएको भेटिने गरिएका छन् ।

प्रोस्टेट क्यान्सर वृद्धि भएर ठूलो भएपछि पनि प्रोस्टेट ग्रन्थीमै सीमित छ भने त्यसले उत्पत्तिका दृष्टिले अनिश्चित मूत्र अवरोधको लक्षण मात्र देखाउँछ । जस्तोः पिसाब फेर्न गएपछि तुरुन्त नहुने र कुर्नुपर्ने, पिसाबको धारा लुलो तथा मसिनो हुने, पिसाब फेरिसकेपछि अन्तमा थोपाथोपा चुहिने, पिसाब निख्रेको पूरा आनन्द नआउने, राति पिसाब फेर्न उठिराख्नुपर्ने, पिसाब पोल्ने, यौन इच्छामा कमी आउने इत्यादि ।

प्रोस्टेट क्यान्सर ग्रन्थीबाट बाहिर फैलिएको भए कुन अंगको कार्यमा बाधा पुगेको छ, त्यसबाट रोगको लक्षण थाहा हुन्छ । प्रोस्टेट क्यान्सर मूत्रवाहिनी नलीमा फैलिए मिर्गौला फुलेर त्यसको कार्यमा ह्रास आउन सक्छ । अस्थिपञ्जरमा प्रोस्टेट क्यान्सर फैलिँदा हड्डी दुख्ने, कमजोर भएर थोरै चोटपटकबाट भाँचिने गर्छ ।

लिम्फसम्बन्धी ग्रन्थी र अस्थिपञ्जर प्रोस्टेट क्यान्सर फैलिने प्रमुख ठाउँ हुन् । मूत्रवाहिनी नली, मूत्रथैली, कलेजो, फोक्सो, मस्तिष्क इत्यादि ठाउँमा रोग छरिन सक्छ । प्रोस्टेट क्यान्सरको उच्चतम विकासको अवस्थामा हड्डीको चरम पीडा, रक्तअल्पता, मृगौलाको अक्षमता, अरुचि, कुपोषण, कम्मरमुनिको पक्षाघात, दिसामा समस्याजस्ता लक्षण देखिन सक्छन् ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution