जीवनशैली र मोटोपनाले मधुमेह हुन्छ

२०७६-०२-६

 

 
जीवनशैली र मोटोपनाले मधुमेह हुन्छ

आहारविहार, रहनसहन आदिका कारण संसारभरि हरेक उमेर समूहका मानिसलाई मधुमेह रोग लाग्ने गरेको छ । हर्माेनको गडबडी, औषधिका कारण र प्यान्क्रियाज ग्रन्थीमा संक्रमण हुँदा पनि मधुमेह हुनसक्छ । वास्तवमा मधुमेह हत्तपत्त निको नहुने रोग भएकाले प्रत्येक नागरिकले ३–३ महीनामा रक्त परीक्षण गराउनुपर्ने भनाइ डा. प्रियादर्शनी योञ्जनको छ । प्रस्तुत छ, डा. योञ्जनसँग मधुमेह रोगबारे केन्द्रित रहेर  पूर्णभक्त दुवालले गरेको कुराकानी :

मधुमेह भनेको के हो ?
मधुमेह (डायबिटिज) भनेको एक प्रकारको दीर्घ रोग हो । यो रोग लागेको व्यक्तिको रगतमा चिनीको मात्रा चाहिनेभन्दा बढी हुन्छ । यसको उपचार लामो समयसम्म भएन भने यसबाट जटिलता आउने डर हुन्छ । अहिले संसारभर ४२ करोड मानिसलाई मधुमेह रोग भएको अनुमान छ । यही अवस्था रहेमा सन् २०३० सम्ममा ६० करोड मानिस यसको संक्रमणमा फस्ने भविष्यवाणी गरिएको छ । नेपालको सन्दर्भमा इन्टरनेशनल डायबिटिज फेडरेशनले करीब ४ प्रतिशत जनसंख्या मधुमेहको संक्रमणमा रहेको अनुमान गरेको छ ।

कस्ता मधुमेही बढी देखिएका छन् ?
हाल नेपालमा ९० प्रतिशतदेखि ९५ प्रतिशतसम्म दोस्रो प्रकारको मधुमेहका रोगी भएको तथ्यांकले देखाएको छ । यस्तोमा प्यान्क्रियाजले इन्सुलिन बनाउँछ । तर, त्यो शरीरका लागि अपर्याप्त हुन्छ । यसैगरी इन्सुलिनको कार्यक्षमतामा ह्रास आउँछ ।

हर्माेनको गडबडी, औषधिका कारण र प्यान्क्रियाज ग्रन्थीमा संक्रमण हुँदा पनि मधुमेह हुनसक्छ । मधुमेहको पहिलो प्रकार अर्थात् टाइप वानमा शरीरले इन्सुलिन उत्पादन गर्न सक्दैन । यस्तो टाइपको मधुमेहका बिरामीलाई छिनछिनमा पिसाब लाग्ने, प्यास बढी लाग्ने, भोक धेरै लाग्ने, शरीरको तौलमा अचानक कमी हुने र अधिक थकान महसूस हुन्छ । वंशाणुगत कारणले हुने यो टाइपको मधुमेहका बिरामी नेपालमा कमै छन् ।

मधुमेह कति प्रकारको हुन्छ ?
मधुमेह मुख्यतः चार प्रकारको हुन्छ । तर, हामीकहाँ बढी मात्रामा देखिने प्रकार दुई मधुमेह हो । मधुमेहका बिरामीमध्ये करीब ९० प्रतिशतमा प्रकार दुई अर्थात् ‘टाइप–२’ मधुमेह देखिएको हुन्छ । टाइप–१ मधुमेह भनेको १० प्रतिशतभन्दा कमलाई देखिने हो । यस्तै गर्भवती अवस्थामा पनि मधुमेह देखिन सक्छ । यसलाई ‘जेस्टेशनल डायबिटिज’ भन्दछौं । अरू प्रकारको मधुमेह पनि हुन्छ, जुन अरू रोग र हर्मोनल गडबडीका कारण हुन्छ । अथवा प्यान्क्रियाज ग्रन्थीमा समस्या भएर वा अरू किसिमको समस्याले गर्दा पनि हुन्छ ।

टाइप–२ मधुमेहको लक्षण कस्तो हुन्छ ?
यो रोगमा बिरामी प्रायः मोटा हुन्छन् । ४० वर्षभन्दा बढी उमेरकालाई यो बढी हुन्छ । यो प्रकारको मधुमेहमा इन्सुलिन रेसिस्टेन्ट (इन्सुलिनले काम गर्ने शक्ति घट्ने अवस्था) हुने हुँदा खाने चक्की वा इन्सुलिन पनि आवश्यकता पर्न सक्छ । टाइप टु डायबिटिज प्रायः वशांणुगत, अव्यवस्थित जीवनशैली र मोटोपनाले हुन्छ । यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेह रोगीमध्ये धेरै यही प्रकारको मधुमेहका रोगी छन् । टाइप टु डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ ।

मधुमेहका अन्य लक्षणहरू केके हुन् ?
करीब ५० प्रतिशत मधुमेह रोग लक्षणविना नै देखा पर्दछ । त्यो परीक्षण गर्दा एक्कासी देखा पर्दछ । बाँकी ५० प्रतिशतमा देखिने लक्षण भनेको सुगर बढी भएर पिसाब बढी लाग्ने, तिर्खा लाग्ने, तौल घट्दै जाने, घाउ निको हुन समय लाग्ने, खुट्टा झमझमाउने पोल्ने, बढी मात्रामा थकाइ लाग्ने र चक्कर लाग्नेलगायत हुन्छ ।

मधुमेह लाग्न नदिन कसरी सतर्कता अपनाउने ? 
पहिलो जोखिम तत्व (रिस्क फ्याक्टर) भनेको हामीभित्रको जीन हो । यदि परिवारमा बुबाआमालाई वा बाजेबज्यैमा मधुमेह छ भने आफू र सन्तानलाई हुने सम्भावना ५० प्रतिशत बढी हुन्छ । दोस्रो भनेको तौल अर्थात् मोटोपना । यदि तपाईंको तौल बढी छ भने शारीरिक सक्रियता अर्थात् व्यायाम कम छ भने पनि मधुमेह हुने खतरा बढेर जान्छ । त्यस्तै उच्च रक्तचाप, कोलेस्टोरलको समस्या छ भने पनि मधुमेहको सम्भावना बढी हुन्छ । यस्तै धूमपान सेवनकर्तामा पनि मधुमेह हुने सम्भावना बढेर जान्छ ।

मधुमेहले गर्दा अन्य अंगमा पनि दीर्घकालीन असर पुग्छ ?
यदि चिनीको मात्रा रगतमा धेरै समयसम्म नियन्त्रण नभएमा आँखा देख्न कम हुने, मुटुसम्बन्धी समस्या उत्पन्न हुने, मिर्गौला कमजोर हुने, चोटपटक चाँडो निको नहुने र स्नायुसम्बन्धी समस्या भई हातखुट्टा झमझमाउने हुन सक्छ ।

मधुमेहका बिरामीले केके खानु हुँदैन ?
मधुमेहका बिरामीले गुलियो पदार्थ खानु हुँदैन । चिनी, मिठाई, जाम, केक र चिसो पेयपदार्थहरू खानु हुँदैन । चिल्लोयुक्त र बोसोयुक्त खाना कम खानुपर्छ । बोसो भएको मासु वा तारेका खानेकुराहरू जस्तै पुरी, पकौडा, समोसा, पुलाउ, आलुचिप्स आदि खानु हुँदैन । रातो मासु अर्थात् चौपायाको मासु खानु हुँदैन । आलुबाट बनेका खाद्यपदार्थ, तरुल, पिँडालु, सखरखण्डजस्ता वस्तु खानु हुँदैन । त्यस्तै मादक पदार्थ रक्सी, बियर पनि खानु हुँदैन ।

केके खानुुहुन्छ ?
भात, मकै, चिउरा, गहुँ, चिनी नभएको बिस्कुट खाँदा हुन्छ । मुला, सलगम, चिप्ले भिँडी, प्याज, बकुल्ला पनि खान हुन्छ । दाल गेडागुडी, रहर, मास, चना, मटर, भटमास, मुङ खाँदा हुन्छ । फलफूलमा सुन्तला, मेवा, अंगुर, स्याउ, केरा, नासपती खाँदा राम्रो हुन्छ । दूधको परिकार, माछा, सेतो मासु र फूल आदि खाँदा हुन्छ । तरकारीमा परबल, कुरिलो, भण्टा, हरियो लसुन, मेथी, बन्दागोभी, फूलगोभी, सिमी, मुगी, काँक्रो, भोगटे, हरियो खुर्सानी, गोलभेंडा खान हुन्छ । यसरी नै फलफूल जामुन, बयर, कागती, अमला, काफल पनि खान सकिन्छ ।

पेय पदार्थमा चिनीविनाको चिया, कफी, भेजिटेबल सुप, नरिवलको रस, निमको पातको रस आदि खान सकिन्छ । सलादमा जीरा, मसला, गेडागुडी, गोलभेंडा, मरीच र धनियाँको पात खान हुन्छ ।

मधुमेहबाट हुने आकस्मिक समस्या केके हुन्?
पहिलो तथा दोस्रो प्रकारको मधुमेह लागेका प्रायः मानिसमा रगतमा चिनीको मात्रा कम हुने समस्या पनि देखिने गर्छ । धेरैजसो अवस्था मन्द खालको हुने भएकाले यसलाई गम्भीर स्वास्थ्य समस्याका रूपमा लिइँदैन । मन्द खालको अवस्थामा आत्तिने, अप्ठ्यारो महसूस हुने, धेरै पसिना आउने, शरीर काप्ने तथा खाना बढी रुच्ने हुन्छ भने गम्भीर मधुमेह लागेका मानिसमा अलमल हुने, व्यवहार परिवर्तन हुने र मूच्र्छा पर्नेजस्ता समस्या देखिन सक्छन् ।

मधुमेहका रोगीले इन्सुलिन प्रयोग गरेरै उपचार गर्नुपर्छ त ?
दोस्रो प्रकारको मधुमेहमा शरीरभित्रको इन्सुलिनमा कमी हुन्छ । यो क्रम निरन्तर चल्छ र अन्तिम अवस्थामा शरीरभित्रको इन्सुलिन सकिन्छ । त्यति बेला बाहिरबाट इन्सुलिन इञ्जेक्शन लगाउनुपर्छ । मधुमेहको अन्तिम अवस्थामा पुगेपछि मात्र इन्सुलिन इन्जेक्शन लगाउँदा धेरै समस्या हुन्छ । इन्सुलिन प्रयोग गर्न थालेपछि पनि खानपिनमा विचार र शारीरिक व्यायाम कायम नै राख्र्नुपर्छ । यो खासै महँगो पनि छैन र यो लगाउँदा पीडा पनि हुँदैन ।

मधुमेहको जोखिम महिला, पुरुष वा उमेर अनुसार कम बढी हुन्छ ?
मधुमेह महिला तथा पुरुष दुवैलाई देखिन सक्छ । उमेर बढ्दै जाँदा मधुमेहको जोखिम बढ्दै जान्छ । तर अहिले कम उमेरमै पनि यसको संक्रमण देखिन थालेको छ ।

गर्भवती महिलालाई मधुमेह देखिनुको कारण के हो ?
गर्भवती भएको ६ देखि ७ महिनाको बीचमा विभिन्न हर्मोनल परिवर्तन हुन्छन् । त्यो बेलामा इन्सुलिनले राम्ररी काम गर्दैन । त्यसबेला मधुमेह हुने खतरा बढेर जान्छ ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution