मस्तिष्काघात भए ६ घण्टाभित्रै इन्टरभेन्शन गरिहाल्नुपर्छ

२०७६-०१-१३

मस्तिष्काघात भए ६ घण्टाभित्रै इन्टरभेन्शन गरिहाल्नुपर्छ

 
मस्तिष्काघात भए ६ घण्टाभित्रै इन्टरभेन्शन गरिहाल्नुपर्छ

सुवास फुयाँल, इन्टरभेन्शन रेडियोलोजिस्ट, ग्रान्डी इन्टरनेशनल अस्पताल

प्रत्येक वर्ष विश्वभरि करीब १ दशमलव ५ करोड मानिसलाई मस्तिष्काघात (स्ट्रोक) हुन्छ । साथै मस्तिष्काघातकै कारण प्रत्येक वर्ष ६० लाख मानिसको मृत्यु हुन्छ । यस हिसाबले विश्वमा मस्तिष्काघातका कारण प्रत्येक ६ सेकेन्डमा एकजनाको मृत्यु हुन्छ । मस्तिष्काघात भएर पक्षाघात भएका र जीवन गुमाएकाहरूको संख्या बढिरहेको छ । यो जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । विश्वमा तेस्रो नम्बरमा रहेको मस्तिष्काघात नेपालमा पनि दिनप्रतिदिन उत्तिकै डरलाग्दो किसिमले बढ्दै गएको छ ।

दिमागको नसा बन्द हुनुलाई स्ट्रोक अर्थात् मस्तिष्काघात भनिन्छ । यसलाई अहिले नेपालमै टाउको नखोलिकनै रगतको नसाबाट विशेष प्रकारको तार पठाएर नसा खोल्न सकिन्छ । यसलाई तुरुन्तै खोल्न सकियो भने पक्षाघात हुन पाउँदैन । नसा बन्द भयो भने मस्तिष्क विस्तारै मर्दै जान्छ । तर अहिले यसलाई तुरुन्तै उपचार गरे जीन्दगीभर पक्षाघात हुनबाट बचाउन सकिन्छ । टाउको नखोलिकन २–४ दिनमै घरमा जान सकिनेगरी इन्टरभेन्शन गरी उपचार गर्न सकिन्छ । अहिले डा. सुवास फुयाँल अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सबाट इन्टरभेन्शनसम्बन्धी तीनवर्षे डीएम कोर्स गरी नेपालमा आएका छन् । हाल ग्रान्डी अस्पतालमा कार्यरत फुयाँल नेपालको पहिलो डीएम न्यूरो इन्टरभेन्शन रेडियोलोजिस्ट हुन् । प्रस्तुत छ, स्ट्रोकको सेरोफेरोमा रहेर डा. फुयाँलसँग पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :

स्ट्रोक भनेको के हो ?
दिमागको नसा बन्द भएर या फुटेर मस्तिष्कमा रगत नजानु र मस्तिष्कको कार्य रोकिनु नै मस्तिष्काघात अर्थात् स्ट्रोक हुनु हो । दिमागमा प्रवाह हुने रगतको नसा बन्द भएर दिमाग मर्दै जानुलाई स्ट्रोक भनिन्छ । यसैगरी दिमागको रगतको नसा फुट्नु पनि स्ट्रोक हो ।

स्ट्रोक किन हुन्छ ?
दिमागको नसा बन्द भएर अथवा फुटेर मस्तिष्कमा रगत नगएपछि मस्तिष्काघात हुन्छ । यसो हुँदा दिमागमा अक्सिजनको मात्रामा कमी हुन्छ, अनि दिमागका कोसहरू मर्न थाल्छन् । जब दिमागका कोषहरू मर्छन्, तब दिमागले गर्ने काम ढिला हुँदै जान्छ र यसले हात खुट्टा नचल्ने, बोली रोकिने, होशमा नआउने हुन्छ । साथै समयमा उपचार भएन भने मान्छेको ज्यानसमेत जान सक्ने जोखिम आउँछ । हृदयाघातका बिरामीको समयमै उपचार भए पुरानै अवस्थामा फर्कन्छन् भने समयमा उपचारको पहुँचमा नपुग्दा मृत्यु नै हुन्छ । तर मस्तिष्काघातमा कतिपय बिरामी पहिलाको अवस्थामा नआउन पनि सक्छन् । यसको प्रमुख कारण समयमा उपचारको पहुँचमा पुग्न नसक्नु नै हो ।

स्ट्रोकको उपचार कति समयमा गर्नुपर्छ ? यसको उपचार कसरी गरिन्छ ?
स्ट्रोकको उपचार ३ देखि ६ घण्टाभित्र गर्नुपर्छ । यद्यपि २४ घण्टाभित्र अस्पतालमा आए दिमागको केही भाग बचाउन सकिन्छ । स्ट्रोकको उपचार धेरै तरीकाले गर्न सकिन्छ । तर मैले गर्ने भनेको स्ट्रोक इन्टरभेन्शन हो ।

स्ट्रोक इन्टरभेन्शन के हो ?
विगतमा र अहिले पनि टाउको खोलेर दिमागको नसा खोल्ने गरिन्छ । यसमा बढी घाउ पार्नुपर्ने हुन्छ । तर स्ट्रोक इन्टरभेन्शन गर्दा रगतको नसाबाट विशेष प्रकारको तार पठाएर बन्द भएको दिमागको नसा खोलिन्छ । मुख बांगिन थालेको र हात झमझम भएको ६ घण्टाभित्र उपचारका लागि आयो भने इन्टरभेन्शनबाट पूर्णरूपमा निको पार्न सकिन्छ । अस्पतालमा आएपछि एमआरआई र सीटी एनजीओ स्क्यान गरेर दिमागको कुन नसा बन्द भयो भनेर हेर्छौं । दिमागमा ६ घण्टासम्म रगत नपुगे पनि बाँचेको हुन्छ । यद्यपि २४ घण्टासम्ममा उपचार गरेर दिमाग मर्नबाट बचाउन सकिन्छ ।

स्ट्रोकको लक्षण के हो ?
स्ट्रोकको लक्षण बुझ्ने फास्ट (एफएएसटी) फर्मुला थाहा पाउनुपर्छ । फास्टको एफ भनेको मुख बांगिनु अर्थात् लाटो हुनु हो । ए भनेको आर्म (हात–खुट्टा) कमजोर हनु हो । एस भन्नाले स्पीच (बोली) लरबरिएको अवस्थामा पुग्नु हो । यति लक्षण देखिएमा स्ट्रोक भएको बुझ्नुपर्छ । र, टी भनेको टाइममा अस्पताल जानु हो । त्यसैले जतिसक्दो चाँडो अस्पताल पु¥याउनुपर्छ । ६ घण्टाभित्र पु¥याउन सकियो भने स्ट्रोक इन्टरभेन्शन गर्न सकिन्छ ।

स्ट्रोकका अन्य लक्षण र कारक तत्त्व के के हुन् ?
रिँगटा लागिरहनु र हिँड्न अप्ठ्यारो हुनु पनि स्ट्रोकको एक प्रकारको लक्षण हो । यो उच्च प्रविधिको माध्यमबाट पहिचान भएको लक्षण हो । उच्च रक्तचाप र मधुमेह पनि स्ट्रोक गराउन सक्ने आधार हुन् । साथै मोटोपना, नियमित व्यायाम नगर्ने बानी, उच्च कोलेस्टेरोल, धूमपान तथा मद्यपान कारक तत्त्वका रूपमा छन् । नसा बन्द हुनु स्ट्रोक हो । यसैगरी दिमागका नसा फुल्ने पनि हुन्छ । दिमागको नसा फुलेर बेलुन जस्तो बनेको हुन्छ । यो कुनै पनि बेला फुट्ने हुन सक्छ । यसलाई एनिरुज्म भनिन्छ ।

एनिरुज्म किन हुन्छ त ?
उच्च रक्तचाप भएका बिरामीमा एनिरुज्म हुन्छ । दिमागको नसा बेलुनजस्तो फुलेर विस्तारै पातलो हुँदै फुट्छ र ब्रेन ह्यामरेज हुन्छ । पहिला पहिला यसको उपचार दिमाग खोलेर क्लिप गर्नुपर्थ्यो । तर अहिले इन्टरभेन्शन गरेर उपचार गर्न सकिन्छ । एनिरुज्म विभिन्न संक्रमणका कारण पनि हुने गर्छ । संक्रमणले संक्रमित ठाउँको छेउछाउका नसा कमजोर बनाइदिन्छ र बेलुनजस्तो फुल्न थाल्छ । कसै कसैको नसाको एक भाग जन्मजात पातलो भएको हुन सक्छ, जसले गर्दा पातलो भाग फुल्दै जान्छ ।

एनिरुज्मको लक्षण के हो ?
एनिरुज्म सामान्य व्यक्तिलाई पनि भइरहेको हुन सक्छ । सामान्यतया यसको लक्षण थाहा हुँदैन । एनिरुज्म फुटिसकेपछि मात्र धेरैले चाल पाउँछ । एनिरुज्म हुँदा टाउको धेरै नै दुख्छ । बिरामी बेहोश पनि हुन सक्छ । सीटी एनजीओ गरेर हेर्दा फुटेको भाग देखिन्छ ।

एनिरुज्म नफुटेको अवस्थामा के हुन्छ ?
छेउछाउको अंगहरूलाई धक्का दिन थाल्छ । धक्का दिएपछि वरपरको नसालाई असर गर्छ । धक्का दिन थालेपछि मास इफेक्ट हुन्छ । आँखाको नसालाई धक्का दियो भने आँखाले देख्न छाड्छ । एनिरुज्म भएको यत्तिकै थाहा हुँदैन । टाउको दुखेको बेला एमआरआई सीटी स्क्यान गर्दा यो देखिन्छ । यस्तो देखिएलगत्तै इन्टरभेन्शन गरेर अप्रेसन गरेमा मतिष्काघात हुन पाउँदैन । एनिरुज्म छ कि छैन भनेर समय समयमा एमआरआई गरेर हेर्नुपर्छ । खासगरी उच्च रक्तचाप भएकाले एनिरुज्म छ कि छैन भनेर हेर्नैपर्छ ।

एनिरुज्म र स्ट्रोकका लक्षण देखिएपछि के गर्ने ?
एनिरुज्म देखिएपछि रगतको नसाबाट विशेष प्रकारको तार घुसाएर इन्टरभेन्शन गर्नुपर्छ । स्ट्रोक भएको छ भने सकेसम्म छिटोभन्दा छिटो अस्पताल पु¥याउनुपर्छ । ६ घण्टाभित्रको समयावधिमा अस्पताल पु¥याउन सकियो, औषधि चलाउन सकियो र स्ट्रोक इन्टरभेन्शन गर्न सकियो भने प्रायःजसो बिरामीलाई पूर्णरूपमा निको हुन्छ । नेपालमा पछिल्लो समय यसको उपचार सम्भव भएको हो । त्यसकारण धेरै मानिसलाई ज्ञान नभएर, विषय विज्ञ÷विशेषज्ञको कमी, भौगालिक विकटताका कारण, स्ट्रोकको उपचार केन्द्र सीमित र शहर केन्द्रित मात्र भएका कारण अस्पताल पुग्ने समय नै अत्यन्त ढिलो हुने गरेको छ । स्ट्रोकको उपचारमा ढिला भयो भने जीवनभर पक्षाघात भएर बस्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा एयर एम्बुलेन्सबाट काठमाडौं आउन ६ घण्टा लाग्दैन । अस्पतालका चिकित्सकहरूले पनि स्ट्रोक भएको बिरामीलाई तत्काल इन्टरभेन्सन सुविधा भएको ठाउँमा रिफर गर्नुपर्छ ।

पछिल्लो समय स्ट्रोकका बिरामी बढेको हो ?
पक्कै पनि हो । यतिबेला रोगको पहिचान र उपचार विधि सहज भएर पनि रोगको पहिचान धेरै भएको छ । अर्को, मानिसको जीवनशैली पनि परिवर्तित छ । धेरै तनाव लिने, बढी आरामदायी जिन्दगी बिताउने, शारीरिक व्यायाममा ध्यान नदिने पनि प्रवृत्ति पनि छ । यी समस्याका कारण कतिपयलाई कोलेस्टेरोल र रक्तचाप बढेर स्ट्रोकको समस्या आउने गरेको छ ।

स्ट्रोकलाई न्यूनीकरण गर्ने उपाय के छ ?
जनचेतनामूलक शिक्षाका साथै चिकित्सकमा पनि उच्चस्तरीय तालीम र शिक्षाको व्यवस्था हुनुपर्छ । साथै दक्ष जनशक्ति उत्पादनमा राज्यको ध्यान पुग्नुपर्छ । स्ट्रोक उपचार गरे निको हुन्छ र समयमा उपचार गराउनुपर्छ भन्ने मुख्य सन्देश जनतासम्म पुग्नुपर्छ । पहिला स्ट्रोक भयो भने अब मान्छेको कामै छैन भन्ने सन्देश बाहिरिएको कारण कतिपय व्यक्तिमा अहिले पनि त्यस्तो भान हुन सक्छ । तर अहिले नयाँ नयाँ प्रविधि र पद्धतिको विकासले स्ट्रोकको पनि उपचार हुन्छ र मान्छे पहिलाजस्तै स्वस्थ हुन्छ । केही समय औषधि र फिजियोथेरापी गर्दा निको हुन्छ । स्टोक उपचार हुने र रोकथाम गर्न सकिने रोग हो भन्ने सन्देश आम जनमानसमा पु¥याउनु जरुरी हुन्छ ।

यसको रोकथामका उपाय के के हुन सक्छन् ?
रक्तचाप र मधुमेह नियन्त्रण गर्नुपर्छ । नियमित व्यायाम गरी स्वस्थ खाना खाँदै मोटोपना नियन्त्रण गर्नुपर्छ । धूमपान तथा मद्यपान गर्नु हुँदैन । मुटुको भल्भ फेरेका बिरामीको रगतमा क्लट बन्ने हुन्छ । यो क्लट दिमागमा सर्न सक्छ, जसले गर्दा दिमागमा रगत जम्न थाल्छ र स्ट्रोक हुन्छ ।

दिमागको बाहेक अन्य कुन कुन रोगको उपचार गर्नुहुन्छ ?
नसासँग सम्बन्धित सबै रोगको उपचार गर्छु । रगत बग्ने नसाको भित्रभित्रै उपचार गर्छु । मुखबाट रगत आएका, पेटका नसा फुटेकालगायतको उपचार गर्छु । रगत बग्ने पैतालादेखि टाउकोसम्मको उपचार गर्छु ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution