दीर्घ दम खोकी (सीओपीडी)बाट बच्न धूलोधूँवाबाट टाढा रहनुपर्छ

२०७५-१२-१९
दीर्घ दम खोकी (सीओपीडी)बाट बच्न धूलोधूँवाबाट टाढा रहनुपर्छ

डा. नीरज बम, पल्मोनोलोजिस्ट, त्रिवि शिक्षण अस्पताल

सीओपीडी (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) नेपालमा दीर्घ दम खोकीको रोग भनेर चिनिन्छ । वास्तवमा यो रोग श्वासनलीमा हुने अवरोध हो । संसारभरको तथ्यांक हेर्दा सीओपीडी ज्यान लिने प्रमुख रोगमध्ये छैटौं नम्बरमा पर्दछ । तर विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा व्यापक सुधार गर्न सकिएन भने सन् २०२० सम्ममा यो ज्यान लिने प्रमुख रोगहरूको तेस्रो नम्बरमा आउन सक्ने चेतावनी दिएको छ । अहिले विश्वमा वार्षिक करीब ३० लाख मानिसको ज्यान सीओपीडीबाट जाने गरेको तथ्यांक छ । नेपालको यसको यकिन तथ्यांक छैन । तर त्रिवि शिक्षण अस्पतालको तथ्यांकलाई आधार मान्ने हो भने आकस्मिक कक्षबाट भर्ना हुने बिरामीमध्ये ४० प्रतिशत बिरामी सीओपीडीकै हुने गर्दछन् । यसै कारण नेपालमा सीओपीडी पुनःस्थापना केन्द्रको आवश्यकता रहेको डा. नीरज बम बताउँछन् । प्रस्तुत छ, भक्तपुरमा सीओपीडी पुनःस्थापना केन्द्र स्थापनामा समेत लागिपरेका डा. बमसँग आर्थिक अभियानका प्रमुख संवाददाता पूर्णभक्त दुवालले गरेको कुराकानीको सम्पादित अंश :

सीओपीडी कस्ता व्यक्तिलाई हुने सम्भावना हुन्छ ?
खासगरी यो रोग ३५–४० वर्षमाथिको उमेरमा हुने गर्दछ । नेपालमा शहरी प्रदूषण अत्यधिक रहेका कारण ३५ वर्षको उमेरदेखि नै यो समस्या देखिन थालेको छ । चुरोटको सेवन गर्ने गरेका व्यक्तिमा र लामो समयदेखि घरभित्र धूँवा निस्कने गरी दाउरा र गुइँठा बालेर चुल्होचौकोमा खटिनेहरूमा यो रोग देखिएका छन् । बढी धूँवामा बसेका त्यस्ता व्यक्तिलाई यो रोग बढी देखिने गरेको छ । यसमध्ये पनि उपचारमा आउने बिरामीमध्ये ८० प्रतिशतलाई सीओपीडी देखिनुको कारण धूमपान नै रहेको छ । स्पष्टसँग भन्नुपर्दा लामो समयदेखि चुरोट सेवन गर्ने पुरुष–महिला, घरभित्र दाउरा तथा गुइँठा बालेर खाना पकाउने गृहिणी र कोइला तथा सिमेन्ट कारकाखानामा काम गर्ने अर्थात् धूलोमा काम कामदारमा यो रोग बढी देखिएको छ । त्यसबाहेक सानैदेखि निमोनिया तथा छातीको संक्रमण भइरहने व्यक्ति, व्यक्तिमा पनि यो समस्या बढी देखिने गर्दछ । प्रदूषित वातावरणमा ओहोर–दोहोर गर्नेलाई पनि यो समस्या देखिएको छ ।

सीओपीडी कसरी हुन्छ त ?
फोक्सोमा दुईओटा ठूला श्वासनली गएका हुन्छन् । फोक्सोमा पुगिसकेपछि तिनीहरू ससाना नलीमा विभक्त भएका हुन्छन् । हामीले श्वास फेर्दा श्वाससँगै जाने धूलोधूँवाका कण स–साना नलीका भित्तामा टाँसिन्छन् । यो बढ्दै गएपछि ससाना नलीका भित्तामा क्रोनिक इन्फ्लामेशन हुन्छ । श्वासनलीका भित्ता सुन्निएर नली साँघुरिन थाल्छ ।

जुन श्वास जाने बाटो हो, त्यो झन् झन् साँघुरो हुँदै जान्छ । साँघुरो भएपछि श्वास फेर्न गाह्रो हुँदै जान्छ । श्वासनलीमा बारम्बार संक्रमण भएपछि श्वासनलीमा समस्या हुन्छ । त्यही बेला उत्पादन हुने विभिन्न खालका हर्मोनले थप जटिलता ल्याउन थाल्दछ । श्वासनली साँघुरो भएपछि श्वासप्रश्वासमा समस्या हुन्छ र छातीमा घ्यार्घ्यार् आउन थाल्छ ।

फोक्सोमा भएका स–साना श्वासनली धूलोबाट टालिन्छ, जसले सीओपीडी हुन्छ । यो रोग प्रदूषण र धूलोधूँवाका अतिरिक्त वंशाणुगत कारण पनि हुने गर्छ । गर्भावस्थामा धूमपान गरेमा आमा र शिशुलाई यो रोग लाग्ने जोखिम हुन्छ । बच्चाको फोक्सोको विकास राम्रोसँग नभएमा पनि यो रोग लाग्छ ।

सीओपीडीका लक्षण के के हुन् ?
विशेषगरी ३५–४० को उमेरपछि खोकी लाग्न शुरू हुन्छ । धेरै दिन अर्थात् धेरै हप्तासम्म खोकी लागिरहन्छ । छाती गह्रौं हुन्छ । उकालोमा श्वास फेर्न गाह्रो हुन्छ । पछि गएर समथरमा समेत श्वास फेर्न गाह्रो हुन्छ । त्यसपछि विस्तारै छातीमा घ्यार्घ्यार् हुन्छ । श्वास फुल्न थाल्छ । राति सुत्दा श्वास फेर्न समेत अप्ठ्यारो हुन्छ । खोक्दा पहेलो खकार आउँछ । भ¥याङको दुई–चार खुड्किलो चढ्दा पनि समस्या हुन्छ । ज्वरो आउने र जीउ पोल्ने हुन्छ ।

यसले अन्य कुन कुन समस्या ल्याउ“छ ?
सीओपीडीले अन्य अंगमा पनि असर गर्छ । रोगले बढी च्याप्यो भने डिप्रेशनमा जाने खतरा हुन्छ । मांसपेशी सुकेर जान्छ । हाडजोर्नी दुख्छ । त्यस्तै मुटुको दाँया भाग सुन्निने हुन्छ । पेटमा ग्यास्ट्रिक र अल्सर पनि हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ । सीओपीडीले फोक्सोलाई असर गर्छ नै, साथमा यसरी अन्य अंगमा पनि असर गरिरहेको हुन्छ ।

सीओपीडीबाट कसरी जोगिने त ?
धूमपान अर्थात् चुरोट सेवन गर्दै नगर्ने, धूवाँधूलोमा नबस्ने । दाउरा–गुइँठा बाल्ने घरमा धूँवा जाने भेन्टिलेशन बनाउने र धूँवारहित चुल्हो निर्माण गर्ने । बाहिर धूलोमा हिँड्दा क्लिनिकल मास्कको प्रयोग गर्ने । घर वरिपरि रूख–बिरुवा रोप्ने, हरियाली कायम गर्ने । सरकारलाई धूँवा निस्कने र प्रदूषण गर्ने उद्योग बस्तीभन्दा पर राख्न लगाउन पहल गर्नुपर्छ । चैत–वैशाखमा आगो लगाउने प्रवृत्ति रोक्नुपर्छ । डम्पिङ साइटको उचित व्यवस्थापन गर्नुपर्छ । लगातार खोकी लाग्यो, छाती घ्यार्घ्यार् भयो, श्वास फुलेजस्तो भयो भने तत्काल चिकित्सकको परामर्शमा उपचार थाल्ने ।

सीओपीडीको उपचार कसरी गरिन्छ ?
सीओपीडीलाई नियन्त्रण मात्र गर्न सकिन्छ । सीओपीडी भएका बिरामीका लागि नेपालमा स्तरीय उपचार सेवा छ । सबै खालका प्रविधि र औषधि नेपालमा आइसकेका छन् । निको नहुने तर नियन्त्रण गर्न सकिने भएकोले सीओपीडी भएकालाई ब्रोन्को डाइल्याटल टाइपको औषधि दिने गरिन्छ । यसले जीवन बाँच्न सजिलो बनाइदिन्छ ।

शुरूमा अस्पतालमा रगत परीक्षण गरिन्छ । त्यसपछि एक्सरे र स्पाइरोमेट्रो माध्यमबाट रोगको निदान गरिन्छ । कहिलेकाहीँ छातीको सीटी स्क्यान गर्नुपर्ने हुन्छ । यसमा खानेभन्दा पनि तान्ने औषधि बढी हुन्छन् । जस्तै– क्याप्सुल र मिटरडोज इन्ह्यालर लिन सकिन्छ । यो तान्ने थेरापी हो । कडा खालको दम भए अक्सिजन थेरापी गर्नुपर्छ । यस्तो बेला सीओपीडीका बिरामीका लागि घरमै अक्सिजनको व्यवस्था गर्नुपर्छ । सीओपीडीको समयमै उपचार हुन सकेन भने अक्सिजन लगाउनुपर्ने अवस्था आउँछ । अक्सिजन चाहिने अवस्था भनेको फोक्सो कमजोर हुने अवस्था हो । यस्तो बेला हरेक दिन १५–१६ घण्टा अक्सिजन लगाउनुपर्ने हुन्छ ।

सीओपीडीका बिरामीको परिवारले पल्स अक्सिमिटर घरमै राख्दा धेरै राम्रो हुन्छ । यो अक्सिमिटरले स्याचुरेशन ९० भन्दा माथि देखायो भने अक्सिजन लगाउनु पर्दैन । बिरामीलाई संक्रमण भएको भए फ्रोफाइलाइटिक एन्टिबायोटिक पनि चलाउनुपर्ने हुन्छ । यसैगरी इन्फ्लुएन्जा र निमोनियाको सुई पनि लगाउनुपर्छ । निमोनियाको सुई जीवनमा एकपटक लगाए हुन्छ । तर इन्फ्लुएन्जाको सुई वर्षमा एकपटक लगाउनुपर्छ ।

त्यस्तै सीओपीडीका बिरामीलाई पल्मोनरी रिहावलेटेशन थेरापी पनि गर्नुपर्ने हुन्छ, जसले छातीको व्यायाम हुन्छ । सीओपीडीका बिरामीले प्रोटिनयुक्त खाना खानुपर्छ ।

ब्रोंकिएल आज्मा र सीओपीडीबीच के फरक छ ?
ब्रोंकिएल आज्मा अर्थात् दम खोकी र सीओपीडीका लक्षण उस्तै देखिन्छन् । तर केही फरक हुन्छ ।
१. ब्रोंकिएल आज्मा हुनुको कारक तत्त्व धूलोधूँवा तथा चिसोको एलर्जी प्रमुख हो भने सीओपीडीमा धूमपान प्रमुख कारक हो ।
२. ब्रोंकिएल आज्मा सानै उमेरदेखिका मानिसमा देखिन थाल्छ भने सीओपीडी प्राय ३५–४० वर्षमाथिका मानिसमा शुरू हुन्छ ।
३. ब्रोंकिएल आज्माबाट प्रायः महिला प्रभावित भएको पाइन्छ । साथै वंशाणुगत रूपमा देखिन्छ भने सीओपीडी प्रायः धूमपान गर्ने पुरुषमा बढी मात्रामा देखिन्छ ।
४. ब्रोंकिएल आज्माको दम खोकीको मात्रा मौसम अनुसार परिवर्तन हुने गर्दछ । प्रायः चिसो मौसममा मानिस बढी प्रभावित हुन्छन् । कहिलेकाँही वा कुनै निश्चित मौसममा यसको लक्षण नै हराउन पनि सक्छ । तर सीओपीडीका बिरामीमा प्रायः सबै मौसममा खोकी र स्याँ स्याँ आउने गर्छ ।

नेपालमा बढ्दो वायु प्रदूषणले दमका बिरामी दिनानुदिन बढ्दै गएका छन् । हिजोआज अस्पतालमा सानै उमेरका बालबालिका पनि लामो समयसम्मको रुघा, खोकी, श्वासप्रश्वासमा कठिनाइ जस्ता समस्या लिएर आउने गरेका छन् । यस्तो हुनुको कारण ब्रोंकिएल आज्मा हो । ब्रोंकिएल आज्माको समयमै निदान, रोकथाम र उपचार भएन भने यसले छातीमा निमोनिया, क्षयरोग जस्ता संक्रमण गराउन र बिरामीको ज्यान समेत लिन सक्छ ।

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution