पेट दुख्नु कोलोरेक्टल क्यान्सर हुन सक्छ

२०७५-१२-१९
पेट दुख्नु कोलोरेक्टल क्यान्सर हुन सक्छ

डा. सत्यदीप भट्टाचार्य, कोलोरेक्टल सर्जन, नर्भिक इन्टरनेशनल अस्पताल

पश्चिमेली जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै नेपालमा पनि कोलोरेक्टलमा समस्या हुने बिरामीको संख्या बढ्न थालेको छ । पेट दुख्नु, दिशामा रगत देखिनु कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा, मलाशय र मलद्वारमा समस्या आएका कारण हुन सक्छ । समयमा यो रोगको पहिचान हुन सकेन भने कोलोरेक्टल क्यान्सर (जसलाई ठूलो आन्द्रा, मलाशय क्यान्सर वा आन्द्राको क्यान्सर भनिन्छ) पनि हुन सक्छ । कतै तपार्ईंले पनि यस्तो समस्या लुकाएर राख्नु भएको त छैन रु प्रस्तुत छ, यो रोगको उपचारबारे १२ वर्ष संयुक्त राज्य अमेरिकामा अध्ययन र अभ्यास गरेर आएका डा। सत्यदीप भट्टाचार्यसँग पूर्णभक्त दुवालले गरेको कुराकानीको सार :

कोलोरेक्टल क्यान्सरको लक्षण के हो र?
ठूलो आन्द्रामा समस्या भयो वा क्यान्सर भयो भने झट्ट लक्षण देखिँदैन । समस्याले ठूलो रूप लिएपछि मात्र यसले लक्षण देखाउँछ, अर्थात् शुरू शुरूमा लक्षण देखिँदैन । यद्यपि एक्कासि कब्जियत भयो वा झाडा भयो भने शंका गरी चिकित्सकसँग परामर्श गर्नुपर्छ । २ महीनासम्म नियमित रूपमा दिशामा गडबडी हुनु यसको संकेत हुन सक्छ । दिसामा रगत देखिनु, दिसा गर्ने बानीमा परिवर्तन, तौल घट्नु र हरेक समयमा थाकेको महसूस हुनु ठूलो आन्द्राको क्यान्सर हुन सक्छ ।


यो के कारण हुन्छ ?
अधिकांश कोलोरेक्टल क्यान्सर जीवनयापनको गलत शैली र बढ्दो उमेरको कारण हुन्छ । थोरैलाई मात्र वंशाणुगत विकारको कारण यो रोग लाग्छ । खासगरी बढी रातो मासु खाने, शारीरिक व्यायाम नगर्ने, रेशादार आहार सेवन नगर्ने, मोटोपना भएका र धूमपान तथा मद्यपान गर्नेलाई ठूलो आन्द्राको समस्या हुन्छ । मधुमेह हुँदा पनि कोलोन ९आन्द्रा०मा समस्या हुन्छ । इन्फ्लामेटरी बाउल डिजिज अर्थात् जलन गराउने पेटसम्बन्धी रोग भएका बिरामी पनि कोलोरेक्टल क्यान्सरको जोखिम समूहमा पर्छन् ।
कोलोरेक्टल क्यान्सर गराउन सक्ने केही वंशाणुगत कारणमा पारिवारिक एडिनोमेटस पोलिपोसिस र आनुवंशिक गैर–पोलिपोसिस ठूलो आन्द्रा क्यान्सर पर्दछन् । कोलोरेक्टल क्यान्सरका ९० प्रतिशत बिरामी ४५ वर्ष पुगेका व्यक्ति छन् । यो विशेषगरी सामान्य किसिमको ट्युमरको रूपमा ९प्रायः गरेर पोलिपको रूपमा० देखिन्छ, जसले समय बित्दै जाँदा क्यान्सरको रूप लिन्छ ।

 

यो रोगको जोखिममा को को छन् र?
उमेर बढ्दै गएपछि र ४५ वर्ष भएपछि ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी रहन्छ । बजारमा पाइने तयारी खानेकुरा अत्यधिक खाने, रेसादार ९फाइबरयुक्त० खाना कम खाने र शारीरिक व्यायाम नगर्नेहरूलाई यो रोग लाग्ने सम्भावना बढी रहन्छ । धूमपान, मद्यपान गर्ने, धेरै स्याचुरेटेड बोसो र रातो मासु बढी खानेहरूलाई ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ ।

यसको निदान कसरी गरिन्छ र?
यो रोगको लक्षण नदेखिने भएकाले ४५ वर्ष उमेर पुगेका व्यक्तिले स्क्रिनिङ गराउनुपर्छ । शुरूमा आन्द्रामा सानो मासु पलाउँछ अर्थात् पोलिप देखिन्छ । यो ५–६ वर्षपछि क्यान्सरमा परिणत हुन्छ । पोलिप र शुरूको क्यान्सरले लक्षण नदेखाउने भएकाले ४५ वर्ष पुगेका हरेक व्यक्तिले कोलोनोस्कोपी गर्नुपर्छ । केही पोलिप देखिएन भने १० वर्षपछि मात्र पुनः परीक्षण गरे पुग्छ । मलद्वारबाट क्यामेरायुक्त पाइप छिराएर कोलोनोस्कोपी गरी पूरै आन्द्राको स्क्रिनिङ गरिन्छ । कोलोनोस्कोपी गर्दा पोलिप पाइयो भने बायोस्पी गरेर क्यान्सर भए÷नभएको यकिन गरिन्छ । कोलोनोस्कोपी गर्दा पोलिप देखियो भने ३–४ वर्षमा दोहो¥याएर यसको निदान गर्नुपर्छ । आफ्नो परिवारमा कसंलाई कोलोरेक्टल क्यान्सर भएको रहेछ भने युवा अवस्थाको उमेर भएपछि नै स्क्रिनिङ गर्नुपर्छ । यसबाहेक दिशा तथा रगत परीक्षण, सिटी स्क्यान, एमआरआई गरेर रोगको यकिन गरिन्छ ।

 

कोलोन क्यान्सर भयो भने उपचार कसरी गरिन्छ र?
कोलोरेक्टल क्यान्सरको उपचार शल्यक्रियाबाट गरिन्छ । यसबाहेक रेडिएशन थेरापी, केमोथेरापी र लक्षित थेरापी पनि गर्नुपर्ने हुन्छ । ठूलो आन्द्रामा मात्रै क्यान्सर भएको रहेछ भने क्यान्सर भएको भाग फालेर स्वच्छ आन्द्रालाई जोड्न सकिन्छ ।
शल्यक्रियाबाट सबै क्यान्सर हटाउन सकिन्छ वा सकिँदैन भन्ने व्यक्तिको समग्र स्वास्थ्य अवस्थामा निर्भर रहन्छ । क्यान्सर निदान भएपछि परम्परागत शल्यक्रिया, ल्याप्रोस्कोपिक शल्यक्रिया वा रोबोटिक शल्यक्रिया गर्न सकिन्छ ।

 

तपाईं कुन शल्यक्रियाबाट उपचार गर्नुहुन्छ र?
शल्यक्रिया नै गर्नुपर्ने भए ठूलो घाउ पारेर परम्परागत तवरको शल्यक्रिया पनि गर्छु । अमेरिकामा बढी ल्याप्रोस्कोपिक र रोबोटिक शल्यक्रियामा अभ्यस्त भएँ । नेपालमा रोबोट आएको छैन । यसैले ल्याप्रोस्कोपिक नै गर्छु । ल्याप्रोस्कोपिक सर्जरी गर्दा ठूलो घाउ हुँदैन । सानो सानो प्वाल पारेर दूरविनको प्रयोग गरेर गरिन्छ । यसले गर्दा बढी संक्रमण हुन पाउँदैन । अस्पतालमा कम बसे पुग्छ । नेपालमा रोबोट आयो भने रोबोटिक सर्जरी गर्ने इच्छा छ । रोबोट महँगो हुने भएकाले अहिलेको स्थितिमा यो अलि सम्भव नहुन सक्छ ।

 

नेपालमा ठूलो आन्द्राको क्यान्सरको स्थिति कस्तो छ रु?
नेपालमा पनि ठूलो आन्द्राको क्यान्सर भएकाको संख्या दिनदिनै बढ्दो छ । विकसित देशहरूमा ठूलो आन्द्राको क्यान्सर निकै कमलाई हुने पनि नेपालमा यसबारे जनचेतनाको अभावले र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो जनस्वास्थ्य समस्याको रूपमा देखापरेको छ । ठूलो आन्द्राको क्यान्सर, यसको परीक्षण, बच्ने उपाय र उपचारबारे थाहा पाउनु अति नै जरुरी छ । यसमा ध्यान दिन नसकेका कारण यसले भयावह रूप लिँदै गएको छ । नेपालभर क्यान्सर परीक्षणको सुविधा नहुनु, उपचारका लागि विषेशज्ञको कमी हुनु र यस रोगबारे अध्ययन अनुसन्धान नहुनु नै यो समस्या बढ्नुका मुख्य कारण हुन् । ठूलो आन्द्राको क्यान्सर हुनुअगावै पत्ता लगाउन सकियो भने धेरैको जीवन जोगाउन सकिन्छ ।

तपाईंको विशेषज्ञता केमा छ र?
म कोलोरेक्टल सर्जन हुँ । सामान्य सर्जनभन्दा कोलोरेक्टलमा थप तालीम लिनुका साथै अध्ययन गरेको छु । अमेरिकामा जनरल सर्जरी सकेर कोलोरेक्टरलमा ‘सुपर स्पेसलिटी’ गरेको थिएँ । प्राक्टिस पनि त्यसैमा गरेकाले कोलोरेक्टलकै विशेषज्ञ भन्न रुचाउँछु ।

कोलोरेक्टल क्यान्सर हुन नदिन के गर्ने त र?
नियमित व्यायाम गर्ने, फाइबरयुक्त खाना खाने, फलफूल, हरियो सागपात प्रशस्त सेवन गर्ने र तौल सन्तुलनमा राख्न सकेमा यो रोगबाट बच्न सकिन्छ । धूमपान तथा मद्यपान सकेसम्म गर्नै हुँदैन । स्याचुरेटेड बोसो तथा प्रोटिनयुक्त खाना पनि धेरै खानु राम्रो होइन । ४५ वर्ष पुगेपछि कोलोस्कोपि स्क्रिनिङ जाँच गर्नुपर्छ । यसले पोलिप एडिनोमा भएरनभएकोे पत्ता लाग्छ । यसबाट हुने मुख्य फाइदा क्यान्सर नै हुन लागेको अवस्था भए पनि छिट्टै उपचार गर्न सकिन्छ । आफ्नो नजीकको आफन्तको आन्द्रामा क्यान्सर भएमा वा आईबीडी रोग भएमा र फेमिलियल पोलिप रोग जस्ता समस्या भएमा ३० वर्ष हुँदा नै यसको परीक्षण गर्नुपर्छ ।
समयमै रोग पत्ता लाग्यो र समयमै उपचार गर्न सकियो भने अकालमै मृत्यु हुनबाट बच्न सकिन्छ । यसका लागि समय समयमा चेतना फैलाउने काम गर्नुपर्छ ।
दिसामा रगत देखापर्दा पायल्स भएर, मलद्वारमा घाउ भएर हो वा भित्री अंगमै घाउ भएको हो भन्ने यकिन गर्नुपर्छ । यसका लागि इन्डोस्कोपी, कोलोनोस्कोपी लगायत परीक्षण गराउन सकिन्छ । त्यसपछि मात्र कारण पत्ता लाग्छ । यसरी निदान तथा उपचार गरेमा दिसाबाट रगत देखिने समस्या समाधान हुन्छ ।

 

तपाईं कुन कुन रोगको उपचार गर्नुहुन्छ र?
म कोलोरेक्टलकै विशेषज्ञ हुँ । त्यसैले पायल्स, फिस्टुला, मलाशयमा संक्रमण, आन्द्रा तलबाट बाहिर निस्कने रोगको उपचार गर्छु । यसबाहेक कब्जियत, मलद्वारको क्यान्सर, फिसर ९मलद्वारमा हुने घाउ०, मलद्वारमा पीप जम्ने एप्सेजलगायतको उपचार गर्छु । ठूलो आन्द्रादेखि मलद्वारसम्म हुने सम्पूर्ण समस्याको उपचार गर्छु । नेपालमा कोलोरेक्टल समस्याको उपचार गर्नकै लागि म अमेरिकाबाट फर्केको हुँ ।

 

दिसामा रगत देखिने प्रमुख कारण पनि बताइदिनुहुन्छ कि र?
दिसामा धेरै कारण रगत देखा पर्न सक्छ । दिसामा रगत देखिनु अन्य रोगको लक्षण समेत हुन सक्छ । अधिकांश मानिसको बुझाइ छ– पायल्स भयो भने मात्र दिसामा रगत देखिने, मलद्धारमा मासुको डल्लो आउने गर्दछ । यद्यपि पेटभित्र सानो आन्द्रा, ठूलो आन्द्रा लगायत अंगमा समस्या आएर त्यहाँ रगत जम्मा भयो भने पनि दिसामा रगत देखिन्छ ।
पछिल्लो समय नेपालमा ठूलो आन्द्राको क्यान्सर (कोलोन क्यान्सर) का बिरामीको संख्या बढेको पाइन्छ । ठूलो आन्द्रामा संक्रमण हुँदा, अल्सर वा घाउ भएको कारण पनि रगत आएको हुन सक्छ । ठूलो आन्द्राको क्यान्सर भएका बिरामीको शुरुआती लक्षण दिसाबाट रगत आउनु पनि हो । त्यस्तै सानो आन्द्रा, ठूलो आन्द्राका नसा फुट्दा पनि दिसामा रगत देखिन्छ ।

 

 

 

 

 

 

 

No comments yet. Be the first one to comment.

© २०१७ - २०१९ भलाकुसारी | सर्वाधिकार सुरक्षित

Connect Nepal IT Solution